+
+
Shares

भीमनारायण गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते ७:२१

१४ जेठ, धनकुटा ।  शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणमा बिहीबारदेखि सेमिफाइनल सुरु हुँदैछन् ।

बिहीबार हुने पहिलो सेमिफाइनलको खेलमा सिराहाको सलहेश फुटबल क्लब र आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानबीच प्रतिस्पर्धा हुनेछ ।

खेल धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ बजेपछि हुनेछ । सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सलहेश सेमिफाइनलमा पुगेको हो ।

यस्तै भारतको जर्जियन फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै आयोजक शहीद भमिनारायण स्मृति प्रतिष्ठान अन्तिम चारमा पुग्न सफल भएको हो ।

शुक्रबार हुने दोस्रो सेमिफाइनलमा विर्तामोड युनाइटेड क्लब झापा र बेलबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ । गाईघाट फुटबल क्लब उदयपुरलाई ३–१ गोल अन्तरले हराउँदै विर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा पुगेको हो । यस्तै सातदोबाटो युथ क्लब ललितपुरलाई १–० गोल अन्तरले हराउँदै बेलबारी फुटबल क्लब अन्तिम चारमा पुगेको हो ।

दुवै सेमिफाइनलका विजेताबीच आगामी शनिबार फाइनल खेल हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ सहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् ।

यस्तै हरेक खेलमा प्लेयर अफ द म्याच हुनेले नगद ६ हजार रुपैयाँ र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा विधागत तर्फ उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

विं.स. २०५५ सालदेखि सुरु भएको प्रतियोगिता केही वर्षको स्थगनपछि ०६३ देखि नियमित सञ्चालन हुँदै आएको छ । तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको अभियोगमा ०३५ मा मृत्युदण्ड दिइएका शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ । श्रेष्ठलाई सरकारले ०७४ सालमा सहिद घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?