+

१८औं संस्करणको शहीद भीमनारायण गोल्डकप आजदेखि

२०८३ जेठ  १० गते ६:३९ २०८३ जेठ १० गते ६:३९
१८औं संस्करणको शहीद भीमनारायण गोल्डकप आजदेखि

१० जेठ, धनकुटा। शहीद भीमनारायण गोल्डकपको १८ औं संस्करणको प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । धनकुटास्थित तल्लो टुँडिखेलमा दिउँसो ३ बजेदेखि खेल सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल सलहेश फुटबल क्लब सिराहा र राष्ट्रिय जागृति क्लब सुनसरी बीच हुँदैछ ।

जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सलहेश फुटबल क्लब सिराहा र राष्ट्रिय जागृति क्लब सुनसरी सहित आठ टिमको सहभागिता रहने भएको छ । जसमा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान, गाईघाट युनाइटेड क्लब उदयपुर, विर्तामोड युनाइटेड क्लब झापा, बेलबारी फुटबल क्लब मोरङ र सातदोबाटो युथ क्लब ललितपुर तथा भारतको जर्जियन फुटबल क्लब रहेका छन् ।

गत वर्ष विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र पाएका थिए भने यस वर्षबाट विजेता टिमले ६ लाख रुपैयाँ र उपविजेता टिमले ३ लाख रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्ने भएका छन् ।

हरेक खेलमा प्लेयर अफ द म्याच हुनेले नगद ६ हजार रुपैयाँ र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा विधागत तर्फ उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता विभिन्न दस वटा उपसमिति समेत गठन गरिएको प्रतियोगिताका संयोजक शम्भु प्रधानले जानकारी दिए । जसमा आर्थिक, प्रचारप्रसार, खेलमैदान व्यवस्थापन, मञ्च, सुरक्षा, स्वयम्सेवक तथा प्राथमिक उपचार व्यवस्थापन उपसमिति गठन गरिएको संयोजक प्रधानले बताए ।

प्रतियोगिताको मुख्य सहयोगी धनकुटा नगरपालिकासहित जिल्लास्थित सबै स्थानीय तह, प्रायोजक एक्सट्रीम इनर्जी ड्रिंक, सहप्रायोजक श्रीकृष्ण फर्निचर एण्ड ल्फोरिङ्ग सप्लायर्स धनकुटा, एन पेनाङ्ग फुटबल क्लब मलेसिया, जीवन विकास लघुवित्त वित्तिय संस्था मोरङ, सुनौलो जीवन सुधार केन्द्र धनकुटा, सल्भ नेपाल धनकुटा र नेपाल टेलिकम धनकुटा रहेको जनाइएको छ । प्रतियोगिताका खेल हेर्न नि:शुल्क व्यवस्था गरिएको छ ।

गत वर्ष १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि नमोबुद्ध फुटबल क्लब सप्तरीले हात पारेको थियो, भने गाईघाट फुटबल क्लब उदयपुर उपविजेता बनेको थियो ।

प्रतियोगिता सम्पन्न गर्न ४५ लाख रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितामा एउटा टिममा १८ जना खेलाडी तथा एक प्रशिक्षक र एक व्यवस्थापक गरि २० जना जना रहने तथा एउटा टिममा ४ जना विदेशी खेलाडी रहन पाउने तथा ३ जना मैदान हुनुपर्ने आयोजकले जनाएको छ । भारतीय खेलाडीलाई भने स्थानीय खेलाडी सरह मान्यता दिइने भएको छ ।

प्रतियोगिता अन्तरगत सोमबार गाईघाट युनाइटेड क्लब उदयपुरर र विर्तामोड युनाइटेड क्लब झापा, मंगलबार आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान र भारतको जर्जियन फुटबल क्लब, बुधबार बेलबारी फुटबल क्लब मोरङ र सातदोबाटो युथ क्लब ललितपुरबीच प्रतिष्पर्धा हुने भएको छ । विहीबार र शुक्रबार सेमिफाइनल र शनिबार फाइनल खेल हुने आयोजकले जनाएको छ ।

वि.स. २०५५ सालदेखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि ०६३ देखि नियमित सञ्चालन हुँदै आएको छ । २०५५ सालमा तत्कालीन धनकुटा नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले वडाबाट बजेट विनियोजन गरेपछि प्रतियोगिता सुरु भएको थियो ।

पहिलो वर्ष तत्कालीन कोशी अञ्चलका र दोस्रो वर्ष तत्कालीन पुर्वाञ्चल विकास क्षेत्रका टिमले सहभागिता जनाएका थिए । तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको अभियोगमा ०३५ मा मृत्युदण्ड दिइएका शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ । श्रेष्ठलाई सरकारले ०७४ सालमा शहीद घोषणा गरेको थियो ।

भीमनारायण गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय