+
+
Shares

१५औं महाधिवेशनपछि ‘जम्बो’ बन्दै कांग्रेस केन्द्रीय समिति, सहमहामन्त्री ११ जना

गत पुसमा आयोजित विशेष महाधिवेशनमा संशोधन गरिएको विधानअनुसार २४० सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ ।

केशव सावद केशव सावद
२०८३ जेठ १४ गते १०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट २४० सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुने गरी विधान संशोधन गरिएको छ ।
  • नयाँ विधानअनुसार महाधिवेशनबाट १७१ जना निर्वाचित हुने छन् भने सभापतिले ६१ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।
  • संशोधित विधानमा ३५ वर्ष मुनिका २१ जना युवा र विशेष प्रवेशमार्फत ७ जना केन्द्रीय सदस्य निर्वाचित हुने सुनिश्चित गरिएको छ ।

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट २४० सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुने भएको छ । गत पुसमा आयोजित विशेष महाधिवेशनमा संशोधन गरिएको विधानमा २४० सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ ।

विधानअनुसार महाधिवेशनबाट सभापतिसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरू गरी १७१ जना निर्वाचित हुने छन् । ६१ जनालाई सभापतिले केन्द्रीय सदस्यमा मनोनयन गर्ने व्यवस्था विधानमा गरिएको छ ।

विधानअनुसार सात प्रदेश सभापति र प्रतिनिधिसभा दलको नेता पदेन सदस्य हुने छन् । ‘प्रतिनिधिसभा संसदीय दलको नेता र प्रदेश कार्यसमितिको सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुनेछ,’ संशोधित विधानमा उल्लेख छ ।

यसअघि १४औं महाधिवेशनमा संशोधन गरिएको विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था थियो । महाधिवेशनबाट १३४ जना निर्वाचित भएका थिए । ३३ जना सभापतिले मनोनीत गर्न पाउने व्यवस्था विधानमा थियो ।

त्यसअघि १३औं महाधिवेशनबाट कांग्रेसले ८५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुने विधानमा व्यवस्था गरेको थियो । विधानअनुसार सभापति, महामन्त्री, कोषाध्यक्ष र समानुपातिक, समावेशी प्रतिनिधित्वसहितका ६४ जना केन्द्रीय सदस्य निर्वाचित गरिएको थियो ।

१३औं महाधिवेशनबाट संशोधन भएको विधानमा बाँकी २१ जना सभापतिले मनोनीत गर्ने व्यवस्था थियो ।

निवर्तमान सभापति सभापति शेरबहादुर देउवा पक्षको असहमतिका बाबजुद गत पुसमा सम्पन्न विशेष महाधिवेशनले १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

जसमध्ये १३ जना पदाधिकारी, ३८ महिला सदस्य र १५ युवा प्रतिनिधिहरू रहेको कांग्रेसको वेबसाइटमा उल्लेख छ । तर वेबसाइटमा उल्लेख गरिएका नाम गणना गर्दा कांग्रेसको केन्द्रीय कार्यसमिति १३१ सदस्यीय देखिन्छ ।

कांग्रेसले पछिल्लो समय सभापति गगन थापाले मनोनयन गरेका केन्द्रीय सदस्यहरूको नाम वेबसाइटमा अपडेट गरेको छैन । उनले फरकफरक मितिमा दुई पटक गरी २० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन् । मनोनीत केन्द्रीय सदस्यबाट उमेश श्रेष्ठलाई सभापति थापाले कोषाध्यक्ष बनाएका छन् ।

विशेष महाधिवेशनबाट संशोधन गरिएको विधानमा तीन जना थप गरेर ११ जना सहमहामन्त्रीको व्यवस्था गरिएको छ । जसमध्ये तीन जना सहमहामन्त्री सभापतिले मनोनीत गर्न पाउने छन् ।

कांग्रेसले ८ जना सहमहामन्त्रीहरू ‘कलस्टर’अनुसार महाधिवेशनबाट निर्वाचित हुने पुरानो व्यवस्थालाई निरन्तरता दिँदै थप तीन जनालाई सभापतिले मनोनीत गर्ने नयाँ वैधानिक व्यवस्था गरिएको हो ।

विशेष महाधिवेशनले विधान संशोधनसहित पारित गरे पनि तत्कालीन समयमा नियमित महाधिवेशनको पक्षमा उभिएको समूह सहमतिमा विधान संशोधन गर्नुपर्ने अडान राखिरहेको छ

‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यहरूमध्येबाट नाम प्रस्ताव गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदित मनोनयन गरेका एक महिलासहित तीन जना सहमहामन्त्री,’ विधानमा उल्लेख छ ।

कांग्रेसले ‘लेट्रल इन्ट्री’ (विशेष प्रवेश) मार्फत पार्टीमा प्रवेश गरेकाहरूलाई पनि केन्द्रीय कार्यसमितिमा स्थान दिने गरी विधान संशोधन गरेको छ । संशोधित विधानअनुसार अब कांग्रेसमा सात जना ‘लेट्रल इन्ट्री’ मार्फत पार्टीमा प्रवेश गरेकाहरू केन्द्रीय सदस्यमा निर्वाचित हुने छन् ।

‘विभिन्न पेसा, व्यावसाय र विषयगत क्षेत्रमा क्रियाशील रही विशेष प्रवेशको मध्यमबाट नेपाली कांग्रेसमा आवद्ध भएका महाधिवेशन प्रतिनिधिहरूमध्येबाट दुई महिलासहित सात जना सदस्य,’ विधानको धारा २१ (९) मा भनिएको छ ।

१५औं महाधिवेशनबाट कांग्रेसले युवालाई केन्द्रीय कार्यसमितिमा समेट्न युवा महाधिवेशन प्रतिनिधिहरू मात्र उम्मेदवार हुन पाउने गरी विधान संशोधन गरेको छ । संशोधित विधानअनुसार कांग्रेसमा अब ३५ वर्ष मुनिका २१ जना युवालाई केन्द्रीय कार्यसमितिमा देख्न पाइने छ ।

संशोधिन विधानले १५औं महाधिवेशनमा हरेक प्रदेशबाट कम्तीमा पनि एक जना ३५ वर्ष मुनिका महिला केन्द्रीय सदस्यमा निर्वाचित हुने सुनिश्चित गरेको छ । ‘३५ वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधिहरू मात्र उम्मेदवार हुने गरी प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना र खुला सात जना गरी २१ जना सदस्य,’ विधानको धारा २० (१०) मा लेखिएको छ ।

कांग्रेसले नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधि मात्रै उम्मेदवार हुन पाउने व्यवस्था पनि गरेको छ । जसअनुसार ६ जना १५औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुने छन् ।

‘नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधि मात्र उम्मेदवार हुने गरी तोकिए बमोजिमका क्षेत्रबाट निर्वाचित हुने ६ जना,’ विधानको धारा २० (११) मा उल्लेख गरिएको छ ।

संशोधित विधानले कांग्रेस सभापतिलाई केन्द्रीय कार्यसमितिमा ६१ जना मनोनयन गर्न पाउने अधिकार प्रत्यायोजन गरेको छ । यसअघि सभापतिले ३३ जना मनोनीत गर्न पाउने व्यवस्था विधानमा थियो ।

सभापतिले मनोनीत गर्दा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त, विभिन्न पेसा र विद्यागत प्रतिनिधित्व एवं युवा प्रतिनिधित्व र अपाङ्गता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वसमेतलाई ध्यान दिनु पर्नेछ ।

‘नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनु पर्ने व्यवस्था, समावेशी सिद्धान्त विभिन्न पेसा र विद्यागत प्रतिनिधित्व एवं युवा प्रतिनिधित्व र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ६१ जना सदस्य मनोनीत गर्नेछ,’ विधानमा उल्लेख छ ।

संशोधित विधानमा कोषाध्यक्ष मनोनीत गरिने पुरानै वैधानिक व्यवस्थालाई निरन्तरता दिइएको छ । विधानमा लेखिएको छ, ‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष एक ।’

१३औं महाधिवेशनसम्म कांग्रेसको कोषध्यक्ष पनि निर्वाचित हुनुपर्ने व्यवस्था थियो । १४औं महाधिवेशनमा विधान संशोधन गर्दा कोषाध्यक्ष निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यबाट मनोनीत गर्ने प्रावधान राखिएको थियो ।

विशेष महाधिवेशनले विधान संशोधनसहित पारित गरे पनि तत्कालीन समयमा नियमित महाधिवेशनको पक्षमा उभिएको समूह सहमतिमा विधान संशोधन गर्नुपर्ने अडान राखिरहेको छ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?