+
+
Shares

सहकारीलाई मनपरी कार्यक्षेत्र विस्तार गर्न दिइनु गलत : जाँचबुझ आयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १३:०६

१४ जेठ, काठमाडौं । सहकारी क्षेत्रको समस्यामा सरकारी संयन्त्रकै ठूलो कमजोरी पहिचान भएको छ । सरकारी संयन्त्रले नै मनपरी कार्याक्षेत्र विस्तारको स्वीकृति दिँदा सहकारी क्षेत्रमा समस्या आएको ठहर गरिएको हो ।

जेनजी आन्दोलनपछि गठन भएको चुनावी सरकारले गठन गरेको सहकारी क्षेत्रको बेथिति जाँचबुझ आयोग २०८२ ले सहकारी क्षेत्रको समस्यामा प्रमुख जिम्मेबार सरकारी संयन्त्र रहेको औंल्याएको छ ।

आयोगको प्रतिवेदन अनुसार बहुनियामक निकाय, नियमन र सुपरीवेक्षणको अभाव, कानुनी अस्पष्टता, मनपरी कार्यक्षेत्रको स्वीकृति, गैरजिम्मेबार राष्ट्र सेवक लगायतका कारणले सहकारी क्षेत्र संकटमा परेको हो । त्यसका साथै सरकारी संयन्त्रले बैंकभन्दा ठूला सहकारी हुँदा समेत सञ्चालकलाई आफखुरी बचतकर्ताको परिचालन गर्न दिएकाले पनि सहकारी संकट गम्भीर भएको प्रतिवेदनले औंल्याएको छ ।

सहकारी ऐन २०४८ को दफा १२ (३) मा सहकारी संस्थाको विनियममा संस्था वा संघको नाम, ठेगाना, कार्यक्षेत्र, उद्देश्य, सञ्चालन विधि तथा तोकिए बमोजिम हुने व्यवस्थाको अत्याधिक दुरुपयोग भएको आयोगको ठहर छ ।

‘एउटा प्रारम्भिक सहकारी संस्थाको कार्यक्षेत्र नेपालभर राखी विनियम स्वीकृत गर्ने तथा कुनै एक ठाउँमा मुख्य कार्यालय स्थापना गरी अन्य विभिन्न ठाउँमा ती संस्थाको सम्पर्क कार्यालय वा शाखा कार्यालय वा सेवाकेन्द्र खोल्न स्वीकृति दिने कार्य सहकारी विभागवाट भएको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘कानुनको छिद्र प्रयोग गरेर सहकारी मूल्य मान्यता विपरीत दुरूपयोग गर्ने सहकारी सञ्चालकको चाहनामा कतैबाट अवरोध भएको देखिँदैन ।’

वाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन कायम गराउन, प्रविधिमैत्री तथा जनमुखी बैंकिङ सेवा उपलब्ध गराउन मर्जरमा लगेको अवस्थामा सहकारी सञ्चालकले कानुनको दुरुपयोग गरी बैंकभन्दा पनि ठूलो कार्यक्षेत्र र पूँजी भएका सहकारी संस्था बनाई सञ्चालनमा ल्याएको प्रतिवेदनमा औंल्याइएको छ ।

‘बैंकभन्दा ठूला सहकारी संस्थाबाट नाम मात्रको सदस्य बनाई बचत संकलन गर्ने र सञ्चालक समितिका पदाधिकारीले आफूखुसी आफ्ना निजी कम्पनीमा लगानी गर्ने, आर्थिक अनुशासन पालना नगर्ने, कार्यालय सञ्चालनमा मितव्ययिता नअपनाउँदा सर्वसाधारण बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्था सिर्जना हुन गएको आयोगको ठहर छ ।

सहकारी क्षेत्रमा यस्तो अवस्था आउनुमा सहकारी संस्था समुदायमा आधारित भई सञ्चालन गर्नुपर्नेमा प्रारम्भिक सहकारी संस्थालाई कुनै आधार विना कार्यक्षेत्र मनपरी विस्तार गरी जथाभावी शाखा कार्यालय वा सम्पर्क कार्यालय / सेवाकेन्द्र खोल्न स्विकृति दिनु नै प्रमुख कारकको रहेको आयोगको ठहर छ ।

साथै आयोगले बचत तथा ऋण सहकारीले ऋण प्रवाहमा अनुसरण गर्नुपर्ने क्षेत्रगत सीमा तोकिनुलाई पनि समस्याको रुपमा ठहर गरेको छ । ‘सहकारीले आफ्नो सदस्यभन्दा बाहिर गएर अन्य व्यक्ति वा संस्थालाई कर्जा दिनु क्रस ल्यान्डिङ हो, बचत तथा ऋण सहकारी संस्थामा क्रस ल्यान्डिङको दुरुपयोग भएको छ’ आयोगको ठहर छ ।

सहकारीमा तरलता व्यवस्थापन सम्बन्धी न्यूनतम मापदण्डको व्यवस्था पर्याप्त नगरिँदा पनि समस्या बढेको आयोगको प्रतिवेदनमा उल्लेख छ । नेपाल सरकारले बैंकिङ क्षेत्रमा प्रतिखाता ५ लाखसम्मको बचत बीमाको व्यवस्था गरेको छ तर सहकारी क्षेत्रमा बचत सुरक्षाको कुनै बीमा प्रणालीको व्यवस्था नगरिँदा समस्या जटिल भएको आयोगले औंल्याएको छ ।

‘अस्वाभाविक उच्च ब्याजदर’ र ‘असम्भव प्रतिफल’ दिने सहकारी संस्थाहरूलाई रोक्न प्रारम्भिक चेतावनी तथा कारबाही गर्ने संयन्त्र नभएकाले अनियमितता बढेको आयोगको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?