+
+
Shares

कोशी प्रदेश खेलकुद : अध्यादेश ल्याएर पुर्‍याइयो कांग्रेस-एमालेको भाग

ऐन संशोधन गर्दै सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीचको भागबन्डाका आधारमा बोर्डका पदाधिकारी र सदस्य नियुक्त गरिएको हो ।

हरि अधिकारी हरि अधिकारी
२०८३ जेठ १४ गते १६:०४

१४ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरी ८ महिनादेखि नेतृत्वविहीन रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गरेको छ ।

ऐन संशोधन गर्दै सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीचको भागबन्डाका आधारमा बोर्डका पदाधिकारी र सदस्य नियुक्त गरिएको हो ।

तत्कालीन सदस्यसचिव पर्शुराम बस्नेतको पदावधि सकिएपछि बोर्ड नेतृत्वविहीन बन्दा प्रदेशका खेलकुद गतिविधि सुस्त थियो ।

बुधबार राति सामाजिक विकास मन्त्री रामप्रसाद महतोले बोर्डमा दुई उपाध्यक्ष र सदस्यसचिवसहित ११ जना सदस्य नियुक्त गरे । नियुक्ति गर्दा एक जना उपाध्यक्ष र सदस्यसहित सचिव एमालेबाट ५ सदस्य नियुक्त भए । कांग्रेसबाट उपाध्यक्षसहित ६ जनाले नियुक्ति पाए ।

दुई दलबीच भागबण्डाका लागि ३० वैशाखमा प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश–२०८१ जारी गरिएको थियो । ऐनमा उपाध्यक्ष र सदस्यसचिवसहित सदस्यको संख्या १५ जना रहने व्यवस्था थियो । अध्यादेशमार्फत संशोधन गरी एक जना उपाध्यक्ष थपिएको थियो । सदस्यको संख्या २५ पुर्‍याइएको थियो ।

बोर्डको सदस्यसचिवमा एमाले कोटामा इनरुवाका विप्लव घोष नियुक्त भएका छन् । महिला उपाध्यक्षमा एमाले नेतृ विराटनगरकी सन्तोषी श्रेष्ठ नियुक्त भइन् ।

पुरुष उपाध्यक्ष भने नेपाली कांग्रेसको भागमा परेको छ । कांग्रेस कोटामा पूर्वखेलाडी वसन्त अर्याल उपाध्यक्ष नियुक्त भएका छन् ।

बोर्डको सदस्यमा विराटनगरकी बीना बस्नेत, केशव भट्टराई र किशोरविक्रम साह, टीकाराम पुरी, दुर्गा कठायत र बालजित राई नियुक्त भएका छन् । पदाधिकारी तथा सदस्यहरूको कार्यकाल ४ वर्षको हुनेछ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?