News Summary
Generated by OK AI. Editorially reviewed.- हिरासत मुक्त भए पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि जेनजी आन्दोलन प्रकरणमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
- पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनीहरूलाई मुलुकी फौजदारी संहिता बमोजिम कारबाही गर्न सिफारिश गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
- राष्ट्रिय मानव अधिकार आयोगले पनि ओली र लेखकलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गर्दै कानून बमोजिम कारबाही गर्न सिफारिश गरेको छ ।
१४ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक हिरासत मुक्त भए पनि अनुसन्धान भने जारी नै छ ।
ओली–लेखक हिरासत मुक्त भएपछि अनुसन्धान सकियो भन्ने बुझाइ गलत रहेको र अहिले पनि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले यो प्रकरणको अनुसन्धान जारी रहेको बताएका छन् ।
‘हिरासतबाट छुट्ने बित्तिकै अनुसन्धान नै सकियो भन्ने खालको बुझाइ होला । तर त्यस्तो होइन । प्रहरीले अनुसन्धानका लागि गर्नुपर्ने कामहरू निरन्तर गरिरहेको छ । उहाँहरूमाथिको अनुसन्धान जारी छ,’ प्रवक्ता भट्टराईले भने ।
आम बुझाइ जस्तै यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खड्काले संसद्मा यो सवाल उठाएकी थिइन् । जेनजी आन्दोलनका घाइते र शहीदको रगतलाई सरकारले बिर्सेको हो ? भनेर उनले प्रश्न गरेकी थिइन् । जेनजी आन्दोलनमा गोली चलाउनेलाई कहिले जेलमा देख्न पाइन्छ ? भन्दै उनले संसद्मा प्रश्न गरेकी थिइन् ।
प्रहरीले भने अनुसन्धान निरन्तर गर्दै प्रमाण संकलनका कामहरू भइरहेको बताएको छ । १३ दिनको हिरासत बसाइपछि अदालतको आदेशअनुसार ओली–लेखक २६ चैतमा रिहा भएका थिए । त्यस यताका दिनहरूमा प्रहरीले क्लोज सर्किट क्यामेरा (सीसी क्यामेरा)का फुटेजहरूबाट प्रमाण संकलनको काम गरिरहेको बताएको छ ।
उच्च स्रोतका अनुसार अनुसन्धान चाँडो सक्न प्रहरीलाई दबाबसमेत रहेकाले अहिले परिसरले काम गरिरहेको छ ।
अहिले प्रहरीले लास जाँच मुचुल्का तथा शव परीक्षण लगायतका सम्बन्धित कागजात अध्ययन गर्ने सीसीटीभी फुटेज संकलन एवं विश्लेषण गर्ने काम भइरहेको बताएको छ । त्यस्तै, सम्बन्धित व्यक्ति तथा प्रत्यक्षदर्शीसँग बुझ्ने काम भइरहेको एसपी भट्टराई बताउँछन् ।
प्रमाण संकलनको काम भइरहेको र मुद्दा दर्ता भएको अवस्थामा मुद्दा भने बलियो हुनेमा अनुसन्धान अधिकारीहरू नै शंका गर्छन् । ‘हाम्रोतर्फको काम त गरिरहेका छौं । भोलि मुद्दा नै दर्ता भएको अवस्थामा पनि कति बलियो हुन्छ भन्ने भने शंका छ,’ ती अनुन्धान अधिकारीले भने ।
आयोगको प्रतिवेदनपछि कसरी बढ्छ अनुसन्धान ?
ओली–लेखकमाथि अहिले अनुसन्धान हुनुको मुख्य कारण पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको आयोगको प्रतिवेदन हो । कार्की आयोगले १३ चैतमा सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
उक्त प्रतिवेदनमा ओली–लेखकलाई कारबाही सिफारिस गरिएको थियो । जेनजी आन्दोलन हुँदा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए । आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु भएको भन्दै उनीहरूलाई जिम्मेवार बनाउनुपर्ने आयोगको प्रतिवेदनमा उल्लेख थियो ।
जसअनुसार ओली र लेखकलाई मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरिएको थियो । मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ कसुर छ ।
२३ भदौको जेनजी आन्दोलनमा बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नभएको, हेलचेक्र्याइँ गरेको जस्ता आरोप उनीहरूमाथि छ ।
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले गरेपछि १४ चैत बिहानै भक्तपुरस्थित आफ्नै निवासबाट ओली र लेखक पक्राउ परेका थिए । २३ चैतको सर्वोच्च अदालतको आदेशअनुसार ओली-लेखक २६ चैतमा हाजिरी जमानीमा छुटेका थिए ।
कार्की आयोगको सिफारिसअनुसार अनुसन्धान भइरहेको समयमा हिजो बुधबार मात्रै मानव अधिकार आयोगले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ ।
मानव अधिकार आयोगको प्रतिवेदनमा पनि ओली–लेखक मानव अधिकार उल्लंघनकर्ता भएको भन्दै कानुन बनाएर कारबाही गर्न सिफारिस गरिएको छ । आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै ओली–लेखकमाथिको अनुसन्धान अब कसरी अघि बढ्छ भन्ने चासो बढेको छ ।
तर, प्रहरीले भने अहिले मानव अधिकार आयोगको प्रतिवेदनअनुसार अनुसन्धान नहुने बताएको छ । ‘मानव अधिकार आयोगको प्रतिवेदन के गर्ने भन्ने सरकारले क्षेत्राधिकार भयो । सोझै हामीले कारबाही गर्ने विषय भएन । सरकारले निर्णय गरेर आएको बखत सोहीअनुसार हुन्छ । अहिले भने त्यो प्रतिवेदनलाई आधार मानेर हाम्रो अनुसन्धान अघि बढ्दैन,’ एक अनुसन्धान अधिकृतले भने ।
तामेलीको फाइल जगाएर अनुसन्धान
यो घटनामा जेनजी आन्दोलन लगत्तै प्रहरीमा उजुरी परे पनि त्यसलाई तत्कालै अनुसन्धानमा लगिएको थिएन । त्यतिबेला तत्कालै ओली–लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न भन्दै प्रहरीलाई तत्कालीन अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आदेश दिएका थिए ।
तर, प्रहरीले भने तत्काल पक्राउ गर्ने आधार नभएको, पक्राउ गर्दा अर्को सुरक्षा चुनौती थपिन सक्ने भन्दै पक्राउ गरेन । र, त्यो फाइल नै तामेलीमा राखिएको थियो । भदौ २३ को जेनजी आन्दोलनको हत्याबारे ९ वटा निवेदन परिसर काठमाडौंमा परेका थिए । ती निवेदन सरकारी वकिल कार्यालयको निर्णयअनुसार २७ असोजमा तामेलीमा राखिएको थियो ।
निर्वाचनबाट नयाँ सरकार गठन भएपछि भने त्यो तामेलीको फाइल जगाएर प्रहरीले ओली–लेखकमाथि अनुसन्धान अघि बढाएको छ । तामेलीमा राखिएको ९ वटा निवेदनमध्ये अहिले एउटा निवेदन तामेली जगाएर अनुसन्धान अघि बढाइएको हो ।
प्रतिक्रिया 4