News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राज्यका प्रमुख अङ्गहरूको गतिविधि सन्तोषजनक नरहेको भन्दै वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरे ।
- ‘अहिले देशको राजनीतिक वृत्तको सूक्ष्म अवलोकन गर्ने हो भने नेपालको राजनीति ठिक ढङ्गले अगाडि बढिरहेको छैन,’ उनले भने ।
- ‘संविधान संशोधन हुनसक्छ तर यसको समावेशी र समानुपातिक चरित्रलाई अझ सुदृढ बनाइनुपर्छ,’ सिटौलाले भने ।
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।
जनकपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस कार्यकर्ताहरू पुन: जागरुक हुनुपर्ने बताए ।
नेता सिटौलाले मुलुकको राजनीतिक वृत्त अहिले सही ढङ्गले अगाडि नबढेको टिप्पणी पनि गरे ।
सिटौलाले राज्य सञ्चालनका प्रमुख अङ्गहरू—न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र संसद् लगायतका गतिविधिहरू सन्तोषजनक नरहेको आंल्याए ।
पार्टीको इतिहास स्मरण गर्दै नेता सिटौलाले वि.सं. २००७ सालको क्रान्तिमा तराई क्षेत्र, विशेष गरी विराटनगर, जनकपुर र वीरगन्जले खेलेको नेतृत्वदायी भूमिकाको चर्चा पनि उनले गरे ।
‘अहिले देशको राजनीतिक वृत्तको सूक्ष्म अवलोकन गर्ने हो भने नेपालको राजनीति ठिक ढङ्गले अगाडि बढिरहेको छैन । त्यसैले संविधान र लोकतन्त्र जोगाउन कांग्रेस कार्यकर्ताहरूले पुन: एकीकृत भएर नयाँ मार्गचित्र (रोडम्याप) निर्माण गर्नुपर्ने आवश्यकता छ । २००७ सालको क्रान्ति नेपालको आधुनिक युगको प्रादुर्भाव हो,’ उनले भने ।
तराइकै क्रान्तिको बलमा नेपालमा प्रजातन्त्रको उदय भएको र जनताले ‘रैती’ बाट ‘नागरिक’ को पहिचान पाएको उनको भनाइ छ ।
‘तत्कालीन नेतृत्वले आफ्नो स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि गरेको त्याग नै आज हाम्रो प्रेरणाको स्रोत हो । संविधान संशोधन हुनसक्छ तर यसको समावेशी र समानुपातिक चरित्रलाई अझ सुदृढ बनाइनुपर्छ,’ सिटौलाले भने ।
संविधानको रक्षा र संशोधनका विषयमा बोल्दै नेता सिटौलाले संविधानको मूल चरित्र र समानुपातिक समावेशी सिद्धान्तलाई कुनैपनि हालतमा कमजोर पार्न नहुनेमा जोड दिए ।
जनताको अधिकार, आर्थिक समृद्धि र पहिचानका लागि शहीद तथा अग्रजहरूले देखाएको बाटोमा विचलित नभई अगाडि बढ्नु नै उनीहरूप्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै सिटौलाले कार्यकर्ताहरूलाई कर्तव्यबोधका साथ जिम्मेवारी वहन गर्न आह्वान समेत गरे ।
प्रतिक्रिया 4