+
+
Shares

लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन, ट्रमा सेन्टर बनाउने मुख्यमन्त्रीको घोषणा

प्रादेशिक अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले जनताको स्वास्थ्यसँग कसैले पनि खेलवाड गर्न नहुने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १८:३२

१४ जेठ, काठमाडाैं। लामो विवादपछि लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार एक कार्यक्रमका बीच अस्पतालको उद्घाटन गरेका हुन् ।

प्रादेशिक अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले जनताको स्वास्थ्यसँग कसैले पनि खेलवाड गर्न नहुने बताए । उनले लम्कीचुहा प्रादेशिक अस्पताललाई अब ट्रमा सेन्टर स्थापना गर्ने बाटो खुलेको बताए ।

‘५० शैयाभन्दा कमका अस्पतालमा ट्रमा सेन्टर सञ्चालन गर्न कठिन हुन्छ । त्यसैले प्रादेशिक अस्पतालको संरचना आवश्यक परेको हो,’ उनले भने ।

मुख्यमन्त्री शाहले लम्कीचुहा अस्पताल प्रक्रियागत रूपमा नै प्रादेशिक भएको दाबी गर्दै सो निर्णयविरुद्ध लम्कीचुहा नगरपालिका सर्वोच्च अदालत पुगेको र सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको प्रसंग पनि सम्झिए । ‘अदालतको निर्णयपछि पनि स्थानीय तहबाट सहकार्यको वातावरण बनाइनुपर्थ्यो, त्यो भएन,’ उनले भने ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ देखि प्रदेश मातहत रहेका अस्पतालहरूको स्तरोन्नति र क्षमता अभिवृद्धि गर्ने नीति अवलम्बन गर्दै बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, डडेलधुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रदेशस्तरीय अस्पतालका रूपमा विकास गर्ने लक्ष्य लिएको उनले बताए ।

सोही नीतिअनुसार चालु आव २०८२/८३ मा ती अस्पतालको स्तरोन्नति प्रक्रिया अघि बढाइएको बताउँदै पहिलो चरणमा डडेलधुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरिएको बताए । त्यसका लागि बजेटको पनि व्यवस्था गरेको र संघीय सरकारबाट प्रदेश सरकारमार्फत सञ्चालन गर्न स्वीकृति प्रदान गरेको मुख्यमन्त्री शाहले स्मरण गरे ।

तर, प्रदेश सरकारले पटकपटक पत्राचार गर्दा लम्कीचुहा नगरपालिकाले असहयोग गरेका कारण ढिलाइ भएको पनि दाबी गरे । यस विषयमा लम्की चुहा नगरपालिका र प्रदेश सरकार आमनेसामने पनि देखिएका थिए ।

उद्घाटनपछि मुख्यमन्त्री शाहले कैलालीको टीकापुर र सेती तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई थप स्तरोन्नति गरि १०० शैयाको अस्पताल बनाउने पनि बताए ।

यस्तै प्रादेशिक अस्पतालहरूमा डायलासिस सेवाको विस्तार गरिने र त्यो सेवा लम्कीचुहा प्रादेशिक अस्पतालमा पनि यसैवर्षबाट सुरु हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?