१५ जेठ, काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारको पहिलो बजेट हो ।
जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तन, अर्थशास्त्र बुझेका अर्थमन्त्री, करिब दुई तिहाइ बहुमतको एकल सरकार, आम नागरिकमा रहेको तीव्र विकास र समृद्धिको चाहनाकाबीच आएको बजेटसँग धेरैका धेरै अपेक्षा छन् । यसका अपेक्षाहरू संसद्मा देखिन्थ्यो ।
संसद्को नयाँ भवन बनिसकेको छैन । यसकारण वैकल्पिक रुपमा तयार पारिएको बहुउदेश्यीय हलबाटै बजेट भाषण भयो । एउटा हलमा आगन्तुकहरूलाई राखिएको थियो । निजी क्षेत्रका प्रतिनिधि, नागरिक समाजका अगुवा र सरोकारवालाहरू टिभीमै भए पनि बजेट सुन्न संसद् भवन पुगे ।
तर विगतमा जस्तो पूर्वअर्थमन्त्रीहरू भने बजेट सुन्न संसद् गएनन् ।
सरकारले २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्यायो । चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड र पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड छुट्यायो ।

वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ छुट्याइएको घोषणा गरे । आगामी आर्थिक वर्षको बजेट चालु वर्षको संशोधित अनुमानभन्दा २५ प्रतिशत बढी हो ।
बजेट सुन्दा सुन्दै एक जना निजी क्षेत्रका प्रतिनिधिले टिप्पणी गरे, ‘आकार ठीकै मान्न सकिएला, तर स्रोतको स्पष्टता आएन ।’
अर्थमन्त्री वाग्लेका अनुसार आगामी आर्थिक वर्षमा १४ खर्ब ५ अर्ब राजस्व संकलन गर्ने र ६१ अर्ब ७४ करोड वैदेशिक अनुदान उठाउने लक्ष्य छ । २ खर्ब ४७ अर्ब वैदेशिक ऋण र ४ खर्ब १० अर्ब आन्तरिक ऋण उठाउने योजना छ । यसआधारमा ७ प्रतिशत आर्थिक बृद्धि गर्न सकिने सरकारको विश्वास छ ।
बालेन बसे, हर्क हिँडे
दिउँसो ४ बजेका लागि तय भएको बजेट भाषण निर्धारित समय भन्दा १४ मिनेट ढिलो सुरु भयो । कारण– केही मिनेट ढिलो गरी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद् भवन पुगे ।
प्रधानमन्त्री बालेनले बजेट भाषण पुरै सुने । तर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले धेरै सुनेनन् । बीचमै बाहिरिए र फेसबुकमा लेखे, ‘प्रधानमन्त्री आए । जवाफदेही बनाउने मेरो दबाब हो । त्यसैले उनैले सुनून, उनका बजेट भाषण भनेर हिँडें म चाहिँ । नीति तथा कार्यक्रम नसुनेको प्रमले बजेट सुने ।’
हर्कले भने जस्तो बालेनले नीति तथा कार्यक्रम सुन्दै नसुनेका होइनन् । तर पुरै २८ वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा बालेन बीचमै उठेर हिँडेका थिए । त्यसको १७ दिनपछि बालेन संसद्मा उपस्थित भएका हुन् ।

विपक्षी दलहरूले यही विषयमा बालेनको जवाफ खोजे, पाएनन् । नीति तथा कार्यक्रममाथिको छलफल र त्यसक्रममा उठेका प्रश्नको जवाफमा पनि प्रधानमन्त्री गएनन् ।
प्रतिनिधिसभा नियमावली अनुसार जेठ महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्दथ्यो ।
तर, प्रधानमन्त्री बालेनले समय नै दिएनन् । संसद्मा सांसदहरूले प्रधानमन्त्री बालेनलाई नै किटान गरेर आकस्मिक समय, शून्य समय र विशेष समयमा सोधेका कैयन प्रश्न पनि यत्तिकै छन् ।
बालेन खोजेर हर्क साम्पाङले संसद्का पछिल्ला बैठकहरूमा निरन्तर प्ले कार्ड देखाउँदै आएका छन् । शुक्रबार बालेन नै उपस्थित हुँदा भने हर्क आफैँ उठेर हिँडे ।
१७ दिनपछि संसद् गएका बालेनले अब सांसदका प्रश्नहरूको जवाफ दिनुपर्ने हर्कको माग छ । उनी फेसबुकै लेख्छन्, ‘आज खोपीको देवतालाई बाहिर निकालियो । अब बोल्न लाउनेछु ।’
बालेन र हर्क साम्पाङ दुवै गत २१ फागुनको निर्वाचनबाट प्रतिनिधिसभामा प्रवेश गरेका पात्र हुन् । दुवै २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए । बालेन काठमाडौं महानगर र हर्क धरान उपमहानगरको मेयर भए । मेयर छाडेर दुवै एकैसाथ संघीय संसद्मा आएका हुन् ।
नयाँ प्रतिनिधिसभामा यी दुई पात्र ‘आइकन पात्र’ जस्ता छन् । दुवैका आ–आफ्नै विशेषता छन् । यी दुईको लुकामारी पनि संसद्मा रोचक देखियो ।
क्यूआर कोडमा बजेट पुस्तिका
विगतका वर्षहरूमा बजेट भाषण भएको दिन संसद्मा सांसद बाहेकलाई पनि बजेटको किताब दिइन्थ्यो । पत्रकार र आगन्तुकले समेत बजेटको किताब प्राप्त गर्दथे ।
यसपटक सरकारले बजेटको किताब नभएर क्यूआर कोड दिइयो । त्यसबाट संसद् पुग्ने र नपुग्ने सबैले बजेट प्राप्त गरे ।
विगतका अर्थमन्त्रीहरू सुटकेशमा बजेट लिएर संसद् पुग्थे । रातो सुटकेशलाई बजेटको आइकनको रुपमा समेत लिइन्थ्यो । कुनै अर्थमन्त्रीले अल्लोबाट बनेको झोलामा बजेट बोकेको उदाहरण पनि छ ।
तर, यस्तो अभ्यास अर्थमन्त्री वाग्लेले यसपटक तोडे । नेपाली कागजको फाइलमा बजेट लिएर गए ।
रास्वपाले आफूलाई परम्परागत राजनीतिक दलभन्दा फरक देखाउने प्रयास गर्दै आएको छ । विगतका अर्थमन्त्रीहरूभन्दा भन्दा फरक देखिने प्रयास अर्थमन्त्री डा.वाग्लेले पनि गरे । यस अन्तर्गत नेपाली कागजको फाइलमा बजेट बोकेर नयाँ सुरुवात गरेका हुन् ।
विगतका अर्थमन्त्रीहरू अधिकांशले बजेट पढेर बाहिर आएपछि मिडियामा बोल्थे । बजेटको सार के हो प्रष्ट्याउँथे । पत्रकारले राखेका जिज्ञासा र अस्पष्टता चिर्ने प्रयास गर्दथे ।
यसपटक अर्थमन्त्री वाग्लेले यस्तो गरेनन् । बजेट कार्यान्वयनपछि के हुन्छ भनेर बजेट भाषणको अन्तिममा संसद्मै राखे । बाहिर मिडियालाई कुनै प्रतिक्रिया दिएनन् ।
बरु बजेट भाषणपछि अर्थमन्त्री वाग्लेले संसद्मै शीर्ष संवाद गरे । संवादमा स्वयं वाग्ले, प्रधानमन्त्री बालेन, रास्वपाका सभापति रवि लामिछाने र रास्वपाका प्रवक्ता मनिष झा थिए ।
झाले अर्थमन्त्रीलाई सोधे, ‘हरेक बजेटको एउटा आशय हुन्छ र मैले अर्थमन्त्रीज्यूलाई सोधेको थिएँ कि यस बजेटको मुख्य आशयहरू के हो ?’
बाहिर पत्रकारहरूले सोध्ने प्रश्नको जवाफ शीर्ष नेताहरूबाट लिन उनले यस्तो प्रश्न अर्थमन्त्रीलाई गरेका हुन् ।
जवाफमा अर्थमन्त्री वाग्लेले तीन बुँदा भने ।
पहिलो : इकोनोमीमा बिग ब्याङ
दोस्रो : इन्फ्रास्ट्रक्चरमा बिग पुश
तेस्रो : गभर्नेन्समा बिग हिट अर्थात्, सुशासनमा बिग हिट ।
जेनजीको आन्दोलन पश्चात भएको राजनीतिक परिवर्तनपछिको सरकारले ल्याएको बजेटबारे समाजमा यही तीन कोणबाट बहस होस् भन्ने अर्थमन्त्रीको चाहनालाई प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेले पनि समर्थन जनाए ।
सोहीअनुसार प्रवक्ता झा मिडियामाझ प्रस्तुत भए ।
दुई तिहाइ बहुमतको सरकारको तर्फबाट प्रस्तुत बजेटको व्याख्या गर्दै उनले भनेका छन्, ‘फेसलेस, कन्ट्याक्टलेस भयो, घरबाटै डिजिटली कारोबार गर्न पाइयो भने, व्यक्तिगत रुपमा भेटघाट नहुँदा धेरै वटा करप्सन रिलेटेड एक्टिभिटिजहरु कन्ट्रोल गर्न सकिन्छ ।’
गोल्डस्टार जुत्ताको चर्चा
प्रधानमन्त्री बालेन गम्भीर बहस र चिन्तनका बेला पनि फरक दृश्य मार्फत नागरिकको ध्यान तानिरहेका हुन्छन् । शुक्रबार पनि यस्तै दृश्य देखियो । उनी गोल्डस्टार जुत्ता लगाएर संसद् बैठकमा गएका थिए ।
ध्यानमग्न भएर पौने दुई घण्टा बजेट घाषण सुने । त्यसक्रममा बेला बेला टेबुल ठोकेर समर्थन जनाउँथे । बजेट भाषण सकिए पछि नजिकै रहेका सांसदहरूसँग हात मिलाए ।
सांसदहरू सभाकक्षबाट निस्कन थाले । बालेन पनि निस्किए । त्यसक्रममा उनको भेट रास्वपाकी विदुषी राणासँग भयो ।
‘म बाहिर निस्कँदै थिएँ । उहाँ पनि निस्कनु भयो र नजिकै आएर ‘मैले गोल्डस्टार लगाएको छु नि’ भन्नुभयो’ राणाले सुनाइन् ।
राणालाई सुरुमा ‘होइन होला’ जस्तो लाग्यो ।
‘हो रहेछ, आफ्नो कम्पनीको जुत्ता त चिनिहालिन्छ’ उनले अनलाइनखबरसँग भनिन्, ‘प्रधानमन्त्रीले नेपालकै उत्पादन प्रयोग गर्नुभएको देखेर एकदमै खुसी लाग्यो ।’
सांसद् राणा गोल्डस्टार जुत्ता कम्पनीकी प्रमुख समेत हुन् ।
राणाका अनुसार गोल्डस्टारको उत्पादन सुरु भएको ५५ वर्ष भयो । हाल ३ हजार कर्मचारी छन् । त्यसमा पनि ७० प्रतिशत महिला छन् ।
कहिले सशस्त्र द्धन्द्ध, कहिले नाकाबन्दी, कहिले भुकम्प र कोरोना जस्ता कारणले सोचेल जस्तो विदेश निर्यात गर्न नसकिएको उनको भनाइ छ । तथापि, भारतमा भने निर्यात भइराखेको छ ।
‘यस्तो दु:ख पाएर पनि हामी नेपालमै प्रतिस्प्रर्धा गरिरहेका छौं । जसलाई प्रधानमन्त्रीले प्रयोग गर्नुभएको देख्दा खुसी नहुने कुरै भएन’ उनले सुनाइन् ।
सांसद राणाले प्रधानमन्त्रीले केही समय अगाडि डीडीसीको उत्पादन चीज खाएको पनि स्मरण गरिन् । उनले थपिन्, ‘प्रधानमन्त्रीले आन्तरिक उत्पादनलाइ प्रमोट गरिराख्नुभएको छ ।’
केही समयदेखि प्रधानमन्त्री बालेनले विराटनगरका गार्मेन्ट उद्योगहरूले उत्पादन गर्दै आएको ट्राउजर लगाएका थिए । त्यसपछि उक्त ट्राउजर ‘बालेन ट्राउजर’का युवामाझ भाइरल छ ।
यही बेला शुक्रबार संसद्बाटै प्रधानमन्त्रीले गोल्डस्टार प्रमोट गरेका हुन् ।
प्रतिक्रिया 4