News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका अदालतहरूमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सङ्ख्या सम्बन्धविच्छेदको छ ।
- नेपाली समाजमा पारिवारिक विखण्डन र दाम्पत्य सम्बन्धमा गम्भीर असर परेको छ ।
- दम्पतीहरूबीचको आत्मीयता गुम्दै जाँदा वैवाहिक संस्थाहरूको भावनात्मक आधार कमजोर बन्दै गएको छ ।
प्रख्यात भारतीय लेखिका अरुन्धती रोयले आफ्नो उपन्यास ‘द गड अफ स्मल थिंग्स’ मा पूर्वाग्रहहरूले कसरी मानिसका अन्तर्मनका भावनाहरूलाई निषेध गर्दै आएका छन् भन्ने मार्मिक सन्देश दिएकी छन् । यो सन् १९९७ को विश्वप्रसिद्ध बुकर पुरस्कार विजेता उपन्यास हो ।
‘प्रेमका नियमहरू’ लाई व्याख्या गर्दै उनले भनेकी छन्– समाजका जातीय, धार्मिक र वर्गीय अवधारणाहरूले शताब्दीयौँदेखि मानिसलाई आफ्नो आत्मिक अनुभूतिका आधारमा स्वतन्त्रतापूर्वक प्रेमी वा जीवनसाथी छनोट गर्ने अधिकार समेत दिएका छैनन् ।
कुन जात, धर्म र वर्गका मानिसले कोसँग प्रेम गर्न पाउने वा नपाउने भन्ने कुरामा पनि सिमाना कोरिदिएका छन् । अन्तर्जातीय एवं धार्मिक तथा असमान प्रतिष्ठाका सम्बन्धहरूलाई समाजले स्वीकार्दैन ।
उल्टो आफ्ना परम्परागत मान्यता र नियमहरूद्वारा बन्देज लगाउँछ । फलस्वरूप सम्बन्धहरू आत्मीय हुन सक्दैनन्, फगत सम्झौता मात्रै हुन्छन्, जहाँ मानिसहरू त जोडिन्छन् तर मनहरू जोडिँदैनन् ।
हुन त ‘द गड अफ स्मल थिंग्स’ तत्कालीन दक्षिण भारतीय सामाजिक पृष्ठभूमिमा लेखिएको हो । तापनि, यसमा चित्रण गरिएका परिबन्धहरू पूरै भारत वर्षकै बिडम्बना हुन् । यसमा कठोर परम्परागत मान्यताहरूको कोपभाजनमा परेर समाजको ठूलो हिस्सा कसरी अभिशप्त जीवन बाँच्न विवश हुन्छ भन्ने कारुणिक यथार्थ प्रस्तुत गरिएको छ ।
यसैको आलोकमा हामीले नेपाली समाजलाई हेर्यौं भने हाम्रा सामाजिक चित्रहरू पनि त्यति फरक देखिँदैनन् । तत्कालीन समयमा हाम्रो चेतनाको स्तर पनि लेखिकाले देखेको भूगोलकै सेरोफेरोमा थियो । र, आज पनि त्यसमा त्यति धेरै परिवर्तन आउन सकेको छैन।
उक्त पुस्तक प्रकाशित भएको तीन दशक बितिसकेको छ । यस बीचमा विश्वमा धेरै राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनहरू आइसकेका छन् । तर दुःखद् कुरा, आज पनि सामाजिक मान्यताहरू भने समयानुकूल बदलिएका छैनन् । प्रेमका धेरै स्वतःस्फूर्त आकांक्षाहरू अहिले पनि पूरा हुन पाउँदैनन् । कठोर सामाजिक नियमकै परिधिभित्र खुम्चिन बाध्य हुन्छन् ।
यस आलेखमा ती प्रताडित वर्गहरूप्रति सम्मान र समभाव राख्दै नेपाली समकालीन समाजका दाम्पत्य सम्बन्धका केही सकस र कारणहरूका बारेमा विवेचना गर्ने प्रयास गरिएको छ ।
विषय प्रवेश गर्नुपूर्व नेपालको वैवाहिक संस्कृति कस्तो रहिआएको छ भन्ने विचार गर्नु उपयुक्त हुन्छ । परापूर्वकालदेखि हाम्रो समाजमा सम्बन्धको प्रमुख माध्यम मागी विवाह नै हुने गरेको देखिन्छ । अचेल प्रेम वा आफूखुसी विवाह गर्ने प्रचलन पनि निकै बढ्दै गइरहेको छ । त्यसैगरी ‘लिभिङ टुगेदर’को अवधारणा पनि बलियो हुँदै छ । कुनैपनि गतिशील समाजमा यस्ता किसिमका परिवर्तनहरू आउनु अस्वाभाविक होइनन् । त्यसैले तीनलाई हार्दिकताका साथ ग्रहण गर्नु पर्ने हुन्छ ।
वैवाहिक सम्बन्धमा जोडिने कुरा अपवादबाहेक हरेक मानिसका लागि ज्यादै महत्त्वपूर्ण हुन्छ । तर, त्योभन्दा पनि अझ महत्त्वपूर्ण कुरा, त्यो सम्बन्धमा समाहित भइसकेपछि जीवन कति सुखद तरिकाले व्यतीत भइरहेको छ र जीवनसाथीसँगको सहयात्रा कति आत्मीयता पूर्ण छ भन्ने हुन आउँछ ।
सामान्य दृष्टिले हेर्दा सम्बन्धको त्यो अन्तर्य बुझ्न सकिँदैन । जीवनहरू चलिरहेकै हुन्छन्, मानिसहरू हाँसीखुसी नै देखिन्छन्, तर गहिरिएर अध्ययन गर्ने हो भने मात्र थाहा हुन्छ कि यस्ता सबै मुस्कानहरू वास्तविक हुँदैनन् । कतिपय त आफ्ना सम्बन्धका उल्झन र पीडाहरू लुकाउने भावहीन आवरण मात्र हुन्छन् । त्यसैले, किन हिजोआजका वैवाहिक सम्बन्धहरू यसरी कर्मकाण्डी हुँदै गइरहेका छन् र के कारणले दाम्पत्य जीवनमा दरार पैदा भइरहेको छ भन्ने विषयमा यो आलेख केन्द्रित छ ।
मानवीय सुख अनुभूतिको विषय हो । अनुभूति कहिले पनि निरपेक्ष हुन सक्दैन । समाजका सामाजिक, सांस्कृतिक र आर्थिक मूल्य-मान्यतासँग यसको अन्योन्याश्रित सम्बन्ध हुन्छ । मानिसको अनुभूति बुझ्न उसले बाँचेको समाज बुझ्नुपर्ने हुन्छ । यही सन्दर्भमा नेपालको सामाजिक संरचनालाई हेर्दा यहाँ सामान्यतया दुईवटा फरक-फरक कित्ता देखिन्छन् ।
एउटा सहरी समाज, जुन तुलनात्मक दृष्टिले आर्थिक रूपमा सबल छ र केही हदसम्म उदार एवं चेतनशील पनि छ । अर्को ग्रामीण समाज, जुन अहिले पनि सामाजिक अन्धविश्वास, विभेद र चरम आर्थिक विपन्नतासँग संघर्ष गरिरहेको छ । एकातिर समानता, स्वतन्त्रता र आत्मसम्मानका चाहनाहरू तीव्र रूपमा मुखरित हुन थालेका छन् भने अर्कोतिर दैनिक जीवनयापनकै विपुल जटिलताहरू छन् ।
यस्तो असमान परिस्थितिमा बाँचिरहेका मानिसहरूको दुःख-सुखको एउटै मानक त कदापि हुन सक्दैन । तथापि माया, प्रेम र आत्मीयताजस्ता दाम्पत्य जीवनका आधारभूत चाहना र अपेक्षाहरूमा भने त्यति भिन्नता हुँदैन ।
पछिल्ला केही वर्षका घटनाक्रमहरूलाई हेर्दा नेपालमा वैदेशिक रोजगारी प्रमुख चुनौतीको रूपमा देखापर्न थालेको छ । हुन त यसैबाट धेरै घरका चुल्हा बलेका छन्, धेरैले बाँच्ने आधार पनि पाएका छन् । तर, यसले दिएका चोट र पीडाहरू ज्यादै गम्भीर र दूरगामी असर पार्ने खालका छन् ।
दुर्भाग्य कस्तो सम्म छ भने कतिपय भर्खर विवाह गरेका दम्पतीहरू, जो महिना दिन पनि सँगै बिताउन पाएका हुँदैनन्, एक-अर्काप्रति आत्मीयता पनि पलाइसकेको हुँदैन, बाँच्ने बाटो खोज्दै परदेश नगई सुख पाउँदैनन् । गएपछि न लामो समयसम्म फर्केर आउन पाउँछन्, न त आफूलाई मन लागेको बेलामा धित मर्ने गरी कुरा गर्न नै पाउँछन् ।
अपरिपक्व उमेर, ओइलिँदै गएका सपना, मर्दै गरेका आशा अनि भरोसा ! वर्षौवर्ष देखिको एक्लोपनका असह्य सकसहरू थेगेर कति दिनसम्म बाँच्न सक्छ र मान्छे । बिस्तारै संयम गुमाउँदै जान्छन् । कैयौँ परिवारहरू छिन्नभिन्न हुन्छन्, कैयौँ बालबच्चा बेवारिस हुन्छन् । कतिपयले मुटु मिचेर परिस्थितिसँग सम्झौता गर्छन् र बाँचुन्जेल शंका, अविश्वास र घृणाले भरिएको सम्बन्ध झेल्छन् ।
वैदेशिक रोजगारी मात्र होइन, दाम्पत्य जीवनप्रति वितृष्णा बढाउने अरू पनि थुप्रै कारणहरू छन् । हुन त हाम्रो विपन्न समाज, जहाँ एक पेट खाएर बाँच्न पाउनु नै ठूलो कुरा हुन्छ, त्यहाँका कथा-व्यथाहरू अझै कारुणिक छन् । तुलनात्मक रूपले चेतनशील मानिएको समाज पनि अहिले लैङ्गिक सन्तुलनको अप्ठेरो संक्रमणबाट गुज्रिरहेको देखिन्छ । एकतिर नारी जागरणले तीव्र रूपमा आफ्नो पहिचान खोज्दै छ भने अर्कोतिर पितृसत्ताले त्यसलाई सहजताका साथ स्विकार्न सकेको छैन ।
यही द्वन्द्वको चेपेटामा धेरै वैवाहिक सम्बन्धहरू परेका छन् । पति-पत्नीका बीचमै आत्मसम्मानको विषय पेचिलो बन्दै गइरहेको छ । भूमिका, उत्तरदायित्व र अहंका प्रश्नहरू पनि जटिल बन्दै गइरहेका छन् । आपसी संवाद, समझदारी र मेलमिलापका तत्परताहरू हराउँदै गएका छन्, बरु मौन उपेक्षाहरू बढ्दै गएका छन् । तथापि कसैलाई बालबच्चाको भविष्यको चिन्ताले अल्झाएको छ , कसैलाई सामाजिक सुरक्षा र प्रतिष्ठाको डरले बाँधेको छ । त्यसैले सम्बन्धहरू टुट्न त सकेका छैनन्, तर मन भने छिन्नभिन्न भइसकेका छन् ।
डिजिटल क्षेत्रमा भएको चामत्कारिक विकासले समग्र विश्वको परिभाषा नै फेरिदिएको छ । मानवीय सम्बन्धका आयामहरू पनि अर्कै भएका छन् । मानिसका सम्पर्क, पहुँच र सुविधामा तीव्र विस्तार भएको छ । चेतनामा पनि उल्लेखनीय परिवर्तन आएको छ । हरेक व्यक्तिको आवश्यकता, प्राथमिकता र जीवनशैली पनि फेरिएको छ । तर , यसका केही गम्भीर नकारात्मक परिणामहरू पनि देखा परेका छन् । समाजमा ‘अति व्यक्तिवादी’ रित्रहरू बढ्दै गएका छन् ।
अरूसँग अनावश्यक तुलना गर्ने, देखासिकी गर्ने र विलासितापूर्ण जीवन पद्धति अपनाउने जस्ता उपभोक्तावादका केही नकारात्मक प्रवृत्तिहरू हाबी हुँदै गएका छन् । यसले आर्थिक दबाब र तनाव बढाएको छ । वित्तीय भार धान्न सक्नेहरूलाई त यसले खासै असर पारेको छैन तर नसक्नेहरूको भने दाम्पत्य जीवन नै धरापमा पार्दै लगेको छ ।
अर्को चिन्ता जनक कुरा के छ भने हिजोआज सामाजिक र नैतिक मूल्य-मान्यताहरू कमजोर हुँदै गएका छन् । आत्मकेन्द्रित सोच बढ्दै गएको छ । फेसबुक, इन्ट्राग्राम, टिकटक लगायतका सामाजिक सन्जालहरूको प्रभावले गर्दा धेरै मानिसहरू ‘विशेष’ देखिन चाहन्छन्, ‘ब्रान्ड’का रूपमा चिनिन चाहन्छन् ।
त्यसैले उनीहरू आफूले चाहेको कुरा हासिल गरेरै छाड्ने, बरू ठूलै मूल्य चुकाउन पनि पछि नपर्ने प्रवृत्ति देखिदैं छ । दाम्पत्य मिलनको रुचि मर्दै गएको छ, अन्तरङ्ग पलहरू हराएका छन् । सङ्गत र असङ्गतका भेदहरू मेटिँदै गएका छन् । विवाहेत्तर सम्बन्धहरू बढ्न थालेका छन् र दाम्पत्य सम्बन्ध फगत एउटा भारजस्तो हुँदै गएको छ ।
अचेल सामाजिक सञ्जालको दुर्व्यसन अनियन्त्रित हुँदै गइरहेको देखिन्छ । यसैका कारणले कतिपय वैवाहिक संस्थाका भावनात्मक आधारहरू धराशायी पनि हुँदै गएका छन् ।
हिजोआज आफ्नो जीवनसाथीसँग आत्मीय पल बिताउने, सुमधुर संवाद गर्ने र भविष्यका मीठा सपनाहरू बुन्ने असल परम्पराहरू हराउँदै गएका छन् । तिरस्कारका भावनाहरू बढ्दै जान थालेका छन् । प्रेम, सद्भाव र सम्मान अनुभूति गरिने भन्दा पनि ‘कमेन्ट’, ‘लाइक’ र ‘इमोजी’मा गनिने वस्तु भएको छ ।
कतिपय एउटै ओछ्यानमा सुतेका श्रीमान्-श्रीमतीले पनि एकअर्कालाई ‘ब्लक’ गर्ने र विभिन्न सामाजिक सञ्जालका अनेक थरीका मानिसहरूका नक्कली प्रसंशामा मुग्ध हुने विकृति पनि बढ्दै गएको छ । वास्तविक सम्बन्धहरू औपचारिकतामा मात्रै सीमित भएका छन् । मनहरू मर्दै गएका छन्, भड्किदैं गएका छन् र ती गम्भीर सामाजिक, नैतिक एवं मनोवैज्ञानिक विचलनतर्फ उन्मुख भइरहेका छन् ।
माथि उल्लेख गरिएको विषयहरू केवल भावनात्मक कथनहरू मात्र होइनन् । यसका गाम्भीर्यलाई हाम्रो सर्वोच्च अदालतको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनको तथ्यांकले पनि पुष्टि गरेको छ । उक्त प्रतिवेदनको पृष्ठ ८६ मा सम्बन्धविच्छेदको लगत प्रस्तुत गरिएको छ । प्रतिवेदन अनुसार नेपालका सबै अदालतहरूमा उक्त आर्थिक वर्षभित्र दर्ता भएका सबै किसिमका मुद्दाहरूमध्ये सबैभन्दा बढी सङ्ख्या सम्बन्धविच्छेदको छ । कुल ४ हजार ७३९ मुद्दा दर्ता भएकोमा ३३ हजार ५० फर्स्योट पनि भइसकेका छन् । यी तथ्यांक मात्र होइन्, हाम्रा समाजका ऐना हुन् । दाम्पत्य सम्बन्ध विघटनका डरलाग्दा अवस्थाका तस्वीर हुन् ।
दाम्पत्य सम्बन्ध हरेक मानिसको जीवनको अत्यन्त महत्त्वपूर्ण विषय हो । यसमा जोडिन जति सजिलो हुन्छ, जोगाइराख्न उत्तिकै कठिन । अहिले देखिएका निराशा झट्ट हेर्दा दम्पतीहरूकै कारणले सिर्जना भएका जस्ता देखिन्छ । तर त्यो पूर्णरूपमा सत्य होइन् ।
देश र समाजको पनि यसमा कम जिम्मेवारी हुँदैनन् । उद्देश्यमूलक एवं समयानुकूल आर्थिक, सामाजिक र प्रविधि नीतिहरूको माध्यमले समतामूलक राज्य निर्माण गर्ने प्रमुख दायित्व देशकै हो । राष्ट्रले वास्तविक कल्याणकारी राज्य स्थापना गर्न सके मात्रै नागरिक जीवन सुखद हुने हो । तथापि हाम्रा आफ्ना सबन्धका माधुर्य जोगाइ राख्ने सर्वोपरि दायित्व हाम्रो आफ्नै हो । सुखमय दाम्पत्य जीवन यापन गर्ने कि यातनामय सम्बन्धमा छटपटिएर बाँच्ने वा अलग-अलग बाटो रोज्ने– त्यो हाम्रै छनौट हो । हाम्रै अधिकार हो । हाम्रै जिम्मेवारी पनि हो ।
कुनैपनि दम्पतीका लागि सफल दाम्पत्य जति महत्त्वपूर्ण हुन्छ, त्यति नै महत्त्व उनीहरूसँग जोडिएका अरू जीवनहरूका लागि पनि हुन्छ । सम्बन्धहरू तोडिएको भन्दा जोडिएको कयौं गुणा राम्रो हुन्छ । यसलाई जोगाइराख्न दुवै जनामा संयम, विवेक र चेतना हुनुपर्छ । त्यसैले अधिकारको मात्रै कुरा गरेर हुँदैन, सम्बन्धका जिम्मेवारी र सीमाहरूको पनि हेक्का राख्नुपर्छ । जीवनका सत्यहरूको अनुसरण र सम्बन्धप्रतिको निष्ठाले मात्रै दाम्पत्यमा आएको अँध्यारोलाई मेट्न सक्छ ।
त्यसैले हामी ‘भर्चुअल’ दुनियाँको ‘चकाचौँध’बाट बाहिर आउनुपर्छ । आफ्नै चुल्होचौकोमा बसेर जीवन्त संवाद गर्नुपर्छ । पारस्परिक सम्मान, मेलमिलाप र स्वअनुशासनको मर्मलाई आत्मसात गर्नुपर्छ । करुणा, क्षमा र आत्मस्वीकृतिले धेरै समस्याहरूको निकास दिन्छ ।
विश्वप्रसिद्ध साहित्यकार अर्नेस्ट हेमिङ्ग्वेले आफ्नो प्रसिद्ध उपन्यास ‘अ फेरवेल टु आर्म्स’को एउटा प्रसङ्गमा भनेका छन्, ‘संसारले धेरैलाई भाँचिदिन्छ, तर धेरै मानिस त्यही भाँचिएको ठाउँबाट झन् बलियो भएर निस्किन्छन् ।’
मलाई लाग्छ, उनले सही भनेका छन् । तर, त्यसका लागि चैतन्य दृष्टि, विवेक र आत्मालोचना गर्ने क्षमता, चाहना र तत्परता भने हुनैपर्छ ।
प्रतिक्रिया 4