News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा पहिलो पटक ललितपुरमा मल्टिपल स्क्लेरोसिस सोसाइटी नेपाल र अल्का अस्पतालको संयुक्त प्रयासमा विश्व मल्टिपल स्क्लेरोसिस दिवस मनाइएको छ ।
- विशेषज्ञका अनुसार नेपालमा यो रोग २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरूमा र पुरुषको तुलनामा महिलाहरूमा बढी देखिएको छ ।
- मल्टिपल स्क्लेरोसिस पूर्ण रूपमा निको नहुने भए पनि समयमै उपचार गरेमा शरीरलाई अपाङ्गता हुनबाट जोगाउन सकिने डा. चन्द्रले बताए ।
१६ जेठ, काठमाडौं । शरीरभित्र रहेको एन्टिबडीले शरीरलाई नै नचिनेर नसाको झिल्ली बिगार्ने रोगलाई ‘मल्टिपल स्क्लेरोसिस’ भनिन्छ । नेपालमा आज पहिलो पटक विश्व मल्टिपल स्क्लेरोसिस (एमएस) दिवस मनाइएको छ ।
ललितपुरमा मल्टिपल स्क्लेरोसिस सोसाइटी नेपाल र अल्का अस्पतालको संयुक्त प्रयासमा दिवस मनाइएको हो । यो दिवस संसारभर मे ३० मा मनाउने गरिन्छ । विश्वभर ८ करोड (८० मिलियन) भन्दा बढी मानिस यस रोगबाट प्रभावित रहेको अनुमान छ । नेपालमा बिरामीको यकिन तथ्याङ्क छैन ।
विशेषज्ञकाअनुसार नेपालमा रोग २० देखि ४० वर्षका उमेर समूहमा बढी देखिएको छ । पुरुषको तुलनामा महिलाहरू यसबाट बढी प्रभावित हुने गरेको पाइएको छ । उमेरको हिसावले यो ८ वर्षका बालकदेखि ८० वर्षका वृद्धसम्मलाई हुनसक्ने क्लिनिकल तथ्यांकहरू पाइन्छ ।
यसै अवसरमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अल्का अस्पतालका नसा रोग विशेषज्ञ डा. अविनाश चन्द्रले ‘मल्टिपल स्क्लेरोसिस’ भएका व्यक्तिको नसाका विभिन्न स्थानमा घाउ देखापर्ने बताए ।
रोगले विशेषगरी मस्तिष्क र मेरुदण्ड (स्पाइनल कर्ड) मा असर पुर्याउँने डा चन्द्रले बताए । यो रोग रोगप्रतिरोधात्मक क्षमता कम भएका र वंशाणुगत कारणले हुने गरेको पाइएको छ ।
यो के कारणले हुन्छ भन्ने यकिन साथ भन्न नसकिए पनि विभिन्न अध्ययनले भिटामिन डी को कमी हुँदा र धेरै पटक भाइरल संक्रमण भएका व्यक्तिहरूमा मल्टिपल स्क्लेरोसिसको समस्या देखिने देखिने गरेको छ । साथै धेरै चिसो स्थानमा बसोबास गर्नेहरूमा पनि मल्टिपल स्क्लेरोसिस हुने गरेको पाइन्छ ।
शरीरको प्रतिरोधात्मक प्रणालीले आफ्नै नसालाई बाहिरी शत्रु ठानेर आक्रमण गर्ने भएकाले मल्टिपल स्क्लेरोसिसलाई ‘अटोइम्युन’ रोग मानिन्छ । डा. चन्द्रकाअनुसार नसालाई एक विद्युतीय तारको रूपमा बुझ्ने हो भने, जसको बाहिरी सुरक्षा कवच (माइलिन सिथ) खुइलिँदा मस्तिष्कबाट प्रवाह हुने सूचनामा अवरोध पैदा हुन्छ ।
यसका मुख्य लक्षणहरूमा एउटै वस्तु दुईवटा देखिनु (डबल भिजन), रिँगटा लाग्नु, शरीर सन्तुलनमा समस्या हुनु, अत्यधिक थकाइ लाग्नु र शरीरमा विद्युतीय झट्का लागे जस्तो महशुस हुनु रहेको ड़ा चन्द्रले बताए ।
तातो पानीले नुहाउँदा वा गर्मीमा यी लक्षणहरू थप बढ्ने गरेको पाइएको छ । यो रोगका लक्षणहरू अन्य रोगहरूको सामान्य लक्षण र समस्याहरू सँग मिल्ने भएकाले नेपालमा यसको उपचार गलत हुने, उपचार पुर्व गलत डाइग्नोसिस हुने जोखिम रहेको डा चन्द्रले जानकारी दिए ।
‘कतिपय अवस्थामा बिरामीले महसुस गर्ने अत्यधिक थकाइलाई अन्य साधारण कारण मानिँदा वास्तविक रोग छुट्न सक्छ । तसर्थ, शङ्कास्पद लक्षण देखिएमा स्वास्थ्यकर्मीसँग यो मल्टिपल स्क्लेरोसिस त होइन भनी परामर्श लिनु आवश्यक रहेको उहाँको सुझाव छ,’ उनले भने ।
हालसम्म मल्टिपल स्क्लेरोसिसलाई पूर्ण रूपमा निको पार्ने औषधि पत्ता नलागे तापनि रोगको वृद्धि रोक्न र यसबाट हुने क्षति न्युनिकरण गर्न प्रभावकारी औषधिहरू उपलब्ध छन् ।
एमआरआई र नसाको पानी जाँच (सीएसएफ) जस्ता परीक्षणहरू महँगा हुने भएकाले यसको पहिचान र उपचार खर्चिलो मानिन्छ । यद्यपि नेपाल सरकार र मल्टिपल स्क्लेरोसिस सोसाइटीको पैरवीको कारण हाल क्यान्सर उपचारमा प्रयोग हुने ‘रितुक्सिम्याब’ जस्ता औषधिहरूलाई एमएसका बिरामीका लागि पनि सहुलियत र सहज उपलब्धताको व्यवस्था मिलाइएको डा. चन्द्रले जानकारी दिए ।
यो रोगलाई उपचार गरेर निर्मूल गर्न नसके पनि नियन्त्रणमा राख्न सकिन्छ । त्यसैले यो रोगको लक्षण देखापर्ने बित्तिकै चिकित्सकको सम्पर्कमा गएर उपचार सुरु गरिहाल्न डा चन्द्रले अनुरोध गरे ।
समयमा नै उपचार भय शरीर अपांगता हुनबाट जोगाउने वा रोक्न सकिने डा चन्द्रको तर्क छ । रोगले च्याप्दै जाँदा सास फेर्न समस्या, नसामा समस्या, मुटुको नसामा समस्या एकसाथ आउन सक्ने र त्यो विकशित भएर मल्टिपल स्क्लेरोसिस भएमा बिरामीको मृत्युसमेत हुनसक्छ ।
समयमै रोगको पहिचान गरी उपचार सुरु गरेमा अपाङ्गता हुनबाट जोगिन सकिने भएकाले सचेतना नै यसको प्रमुख रोकथाम रहेको चिकित्सकको ठहर छ ।
प्रतिक्रिया 4