+
+
Shares

अमेरिकी उपविदेशमन्त्री सारा आज नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै छिन् ।
  • नेपाल बसाइका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
  • नेपालमा वालेन्द्र शाह प्रधानमन्त्री भएपछि नेपाल भ्रमण गर्ने उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन् ।

१६ जेठ, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै छिन् ।

नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि नेपाल भ्रमण गर्न लागेकी उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन् ।

नेपालस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा भाग लिन उनी काठमाडौँ आउन लागेकी हुन् ।

नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले गत जेठ ६ गते सगरमाथाको सफल आरोहण गरेका थिए ।

उनकै सम्मानमा दूतावासले ‘सेभेन समिट ट्रेक्स’सँगको सहकार्यमा उक्त समिट आयोजना गर्न लागेको हो। नेपाल बसाइका क्रममा उपविदेशमन्त्री रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकी विदेश मन्त्रालयको मर्यादाक्रममा उपविदेशमन्त्री (अन्डर सेक्रेटरी अफ स्टेट) को पद असिस्टेन्ट सेक्रेटरी भन्दा माथि र डेपुटी सेक्रेटरी भन्दा तल रहन्छ । हाल अमेरिकी विदेश मन्त्रालयमा छ जना उपमन्त्रीहरू कार्यरत छन् ।

रोजर्सको यो भ्रमण हुनुअघि गत वैशाख महिनामा अन्य दुई वरिष्ठ अमेरिकी अधिकारीहरूले पनि छुट्टाछुट्टै रूपमा नेपालको भ्रमण गरेका थिए ।

जसअनुसार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री समिर पाल कपुर वैशाख ७ गते तीन दिने भ्रमणका लागि काठमाडौँ आएका थिए ।

त्यस क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग वार्ता गर्दै द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने र नेपालको लगानीको वातावरणमा सुधार गर्ने विषयमा छलफल गरेका थिए ।

सहायक विदेश मन्त्री कपुरले आफ्नो नेपाल भ्रमण टुङ्ग्याएको एक हप्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले पनि काठमाडौँको भ्रमण गरेका थिए ।

गोरले परराष्ट्र मन्त्री खनाल र अर्थमन्त्री वाग्लेसँग भेट गरी व्यापारिक वातावरणमा सुधार, वैदेशिक लगानी आकर्षण, आर्थिक सम्बन्ध विस्तार र आपसी समृद्धिको प्रवर्द्धनका विषयमा विस्तृत छलफल गरेका थिए ।

वैशाखमा नेपाल आएका कपुर र गोर दुवै अधिकारीले प्रधानमन्त्री वालेन्द्र शाहसँग भने भेट्ने अवसर पाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?