+
+
Shares

लगातार चार दिन बिदाले मुक्तिनाथमा दर्शनार्थी ओइरो

यसपटक बिहीबारदेखि लगातार बिदा परेकाले पनि मुक्तिनाथदर्शन गर्न आउने पर्यटकको सङ्ख्या बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगातार चार दिन सार्वजनिक बिदा परेपछि मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको अत्यधिक भीड लागेको छ ।
  • पछिल्लो तीन दिनमा २५ हजारभन्दा बढी आन्तरिक तथा भारतीय पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  • धार्मिक पर्यटकको चाप बढेसँगै मुस्ताङको लेतेदेखि मुक्तिनाथ क्षेत्रका होटलहरू पर्यटकले भरिभराउ भएका छन् ।

१६ जेठ, मुस्ताङ । हिन्दू तथा बौद्धधर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड बढेको छ । लगातार चारदिने बिदाको मौका पारेर यहाँ दर्शनार्थी खचाखच छन् ।

दर्शनार्थीको बाँक्लो उपस्थितले व्यवस्थापनमा समेत हम्मेहम्मे परेको मुक्तिनाथ विकास समितिले जनाएको छ । समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार बिहीबारदेखि शनिबार बिहानसम्म आन्तरिक तथा भारतीय दर्शनार्थीको बाक्लो उपस्थितिले व्यवस्थापनमा दबाब बढेको बताए ।

उनका अनुसार दसैँ–तिहार र चैतै दसैँबाहेक यहाँ औसतमा पाँचदेखि सात हजारसम्म धार्मिक पर्यटकले दर्शन गर्ने गरे पनि सरकारी तथा सार्वजनिक बिदा परेका कारण पछिल्लो तीन दिनयता २० हजारदेखि २५ हजारले मन्दिर दर्शन गर्ने गरेका छन् ।

‘शुक्रबारदेखि मुक्तिनाथमा ठूलो संख्यामा धार्मिक पर्यटक आइरहेका छन् । भक्तजनले परिसर खचाखच भरिएर थेग्नै नसक्ने अवस्था भएकाले व्यवस्थापनका लागि सुरक्षाकर्मीको सहयोग लिनुपरेको छ’, व्यवस्थापक भुसालले भने, ‘हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्नुपरेको व्यवस्थापन गर्न थालिएको छ । धार्मिक पर्यटकहरु एकैसाथ ठूलो सङ्ख्यामा आएकाले पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ ।’

भिरालो सतहमा अवस्थित मुक्तिनाथ मन्दिरको परिसर साँघुरो भएकाले पनि व्यवस्थापनमा असहज देखिएको हो ।

पछिल्लो समय मुक्तिनाथ मन्दिर परिसर केही फराकिलो पारिए पनि धार्मिक पर्यटकको सङ्ख्या अपेक्षाकृत वृद्धि हुँदा मन्दिर परिसरको क्षमता कम हुँदै गएको हो । समितिले दर्शन कार्यमा सहजीकरण गराउन लाइन मिलाउने, तातोपानीको व्यवस्था र लेक लाग्नबाट जोगाउन उपचारलगायतको व्यवस्था मिलाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले पछिल्लो तीन दिनयता २५ हजार बढी पर्यटक  भित्रिएको जनाएको छ । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै बुधबार पाँच हजार ५८६, बिहीबार सात हजार ८२७ र शनिबार नौ हजार ८६ जना पर्यटक घाँसाबाट मुस्ताङ प्रवेश गरेको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । प्रहरी चौकी घाँसामा सवारीसाधन र पर्यटकको अभिलेख प्रविष्ट गर्ने गरिएको छ ।

पछिल्लो सयम सरकारले हप्तामा आइतबारसमेत सार्वजनिक बिदा थप गराएका कारण मुस्ताङमा पर्यटकको उपस्थिति बढ्न थालेको हो । यसपटक बिहीबारदेखि लगातार बिदा परेकाले पनि मुक्तिनाथदर्शन गर्न आउने पर्यटकको सङ्ख्या बढेको हो । पर्यटकले जिल्लाको लेतेदेखि माथि मुक्तिनाथसम्मका होटलहरू पर्यटकले भरिभराउ छन् । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?