+
+
Shares

भावुकता र ठट्यौली मिसिएको शिवशंकरको ‘पलेँटी’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रसिद्ध गीतकार शिवशंकर थापाको उपस्थितिमा काठमाडौंको कालिकास्थानस्थित नेपालयको 'आर’शालामा साङ्गीतिक कार्यक्रम 'पलेँटी’ सम्पन्न भएको छ ।
  • कार्यक्रममा गायक दीप श्रेष्ठद्वारा सङ्गीतबद्ध ‘तिमी आकाशको जून भयौ’ लगायतका प्रसिद्ध गीतहरू नयाँ पुस्ताका कलाकारहरूले प्रस्तुत गरेका थिए ।
  • गीतकार थापाले आफ्ना रचनाहरूको रचना–गर्भ तथा व्यक्तिगत अनुभूतिहरू दर्शकमाझ प्रस्तुत गर्नुभएको थियो ।

काठमाडौं । शुक्रबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रसिद्ध गीतकार शिवशंकर थापाको ‘पलेँटी’ सम्पन्न भएको छ ।

‘पलेँटी’ २१ वर्ष पहिले सुरु भएको साङ्गीतिक कार्यक्रम हो । यो कार्यक्रम हरेक महिनाको अन्तिम शुक्रबार सुरु हुने गर्छ । कार्यक्रमले नेपाली आधुनिक संगीत विधाका गीतकार संगीतकार र गायकलाई समानान्तर रूपमा प्रस्तुत गर्दै आएको छ ।

थापासँगै ‘पलेँटी’ मा प्रस्तुति दिने गीतकारको संख्या एक दर्जन पुगेको छ । संगीतकार आभासले सञ्चालन गरेको कार्यक्रमलाई तीन खण्डमा विभाजन गरेर प्रस्तुत गरिएको थियो । पहिलो खण्डमा नयाँ र पुराना गीत गरी पाँचवटा संगीतकारको प्रस्तुति गरिएको थियो । जसमा संगीतकार सुवर्ण लिम्बु, प्रकाश गुरुङ, आभास र बलराम समालका धुनहरू समावेश थिए ।

कार्यक्रममा गीत संगीतका साथसाथै गीतकार थापाको गीति रचनाको रचना-गर्भ र व्यक्तिगत अनुभूतिको खुलासा मूल आकर्षणमा रहेको थियो ।

कार्यक्रमको सुरुवात पवन गोलेको स्वरमा प्रसिद्ध बनेको सुवर्ण लिम्बुद्वारा संगीतबद्ध गीत ‘हावासँगै बगुँ भन्छ’ बाट भएको थियो । त्यसपछि संगीतकार प्रकाश गुरुङद्वारा धुन भरिएका ‘मेरो रहर बिउँझिएर’ र ’केही ल्याउन सकिनँ’ बोलका गीतहरू प्रस्तुत भएका थिए ।

सांगीतिक प्रस्तुतिसँगै गीतकारले आफ्नो अतीतको थैलीलाई बिस्तारै खोल्दै गएका थिए । संगीतकार गुरुङसँग भोटेबाहलस्थित डेरामा भेटेको रसिलो युवा उमेरको सम्झना सुन्दा दर्शक दीर्घामा हाँसोको लहर फैलिएको थियो ।

चौंथो प्रस्तुतिमा नयाँ गीत ’म त अक्षरको मान्छे हुँ’ बोलको गीत रहेको थियो । यस क्रममा गीतका संगीतकार आभासले रचनाकार शिवशंकर थापासँग आफूले तीन दशक पहिले संगत गरेको सम्झना गरेका थिए ।

यस गीतका सन्दर्भमा रचनाकार शिवशंकर थापा भन्दै थिए– ‘मेरा गीतका विषयवस्तुमा मान्छे र तिनका कथाहरू हुने गर्छन्, म मान्छेलाई अक्षरका रुपमा पढ्न खोज्छु, यो गीत त्यसकै परिणाम हो ।’

पाँचौं प्रस्तुतिमा थापा निकै भावुक देखिन्थे । संगीतकार बलराम समालले धुन भरेको ‘कति साह्रो फाटेछु म’ बोलको गीत आफ्नी श्रीमतीको अवसानपछिको एक्लोपनबाट अभिप्रेरित भएको सन्दर्भ कोट्याउँदा थापाका गह रसिला देखिन्थे ।

दोस्रो खण्डमा गायक तथा संगीतकार दीप श्रेष्ठको कण्ठमा प्रसिद्ध भएका गीत समावेश गरिएका थिए । दर्शक दीर्घामा उपस्थित संगीतकार तथा गायक दीप श्रेष्ठ नयाँ पुस्ताका कण्ठ शिल्पीबाट आफ्ना रचनाहरू सुन्दा मुग्ध देखिन्थे ।

यस खण्डको पहिलो प्रस्तुति ‘मेरो आँखामा भरदिन बादल छाइरह्यो’ बोलको गीत रहेको थियो । यस गीतको रचना-गर्भ उल्लेख गर्ने क्रममा गीतकार थापाले झापा विद्रोहका बन्दीलाई जेल सार्ने क्रममा भएको ‘सुखानी हत्याकाण्ड’को सम्झना गरेका थिए ।

उनले आफ्नो यो रचना २०२९ साल फागुन २१ गते इलाममा घटेको सोही घटनाबाट प्रेरित भएको सुनाउँदा दर्शक दीर्घामा सन्नाटा छाएको थियो । पञ्चायतकालमा घटेको सो घटनालाई राजनैतिक दमनको क्षणका रूपमा सम्झना गरिन्छ ।

दीप श्रेष्ठद्वारा संगीतबद्ध रचना सुनाउने क्रमको दोस्रो रचना ’तिमी आकाशको जून भयौ, म त यहाँको धुलो हुँ’ रहेको थियो । यो गीत शिवशंकर थापाको धुन भरिएको पहिलो गीति रचना थियो । यस रचनासँगै शिवशंकर थापाले आफ्नो वैयक्तिक अनुभूतिको थैलीलाई झन् झन् खुकुलो बनाउँदै लगेका थिए ।

रेडियोबाट आफ्नो नाम यही गीतमार्फत पहिलोपल्ट सुनेको सम्झना गर्दै शिव शंकर थापा भन्दै थिए, ’धरानको कुनै होटलमा चिया खाँदैगर्दा यो गीत सुनेको त्यो क्षण अहिले पनि सम्झनामा छ । त्यसबेला मलाई लागेको थियो– ’मेरी ती अमुक धनाड्य प्रेमिकाले पनि यो गीत कतै रेडियोबाट सुन्दै पो होलिन् कि ?… ओहो त्यो उमेर नै कस्तो रोमाञ्चक उमेर ?’

कार्यक्रम अगाडि बढ्ने क्रममा ’फूलको गाला भिजाएर’ र ’आयो फेरि चैते हुरी’ बोलका गीतको पालो आएको थियो । दीप श्रेष्ठले नै धुन भरेका यी गीतका मूल कण्ठ शिल्पी सोफिया र सरलामध्ये सोफिया गुरुङ श्रेष्ठ पनि दर्शक दिर्घामा उपस्थित थिइन् । आफूले विगतमा गाएका गीतलाई अभिज्ञा घिमिरेको स्वरमा सुन्दा सोफियाको मुहार मुग्ध र ओठ चलायमान देखिन्थे ।

गीतकार थापाले प्रत्येक गीतका रचना गर्भ सुनाउँदै अघि बढेको कार्यक्रममा जब लोकप्रिय गीत ‘विधुवाले सिन्दुरको रहर’ को पालो आयो दर्शकमाझ भावुकताको तरङ्ग नै फैलियो । यस क्रममा उनले एउटी छिमेकी विधुवाको सत्यकथाबाट आफ्नो गीत अभिप्रेरित भएको उल्लेख गरेका थिए ।

प्रसिद्ध गीत ‘भन्थी मेरी उनी मेरो पाइला नटेकिदिनु’ गीतको पालो आउँदा गीतकार शिवशंकर थापा आफ्नो वैयक्तिक प्रेम कथा अभिव्यक्तिको उत्कर्षमा पुगेका थिए ।

उनी भन्दै थिए– ’म जे बोल्छु सिधा बोल्छु; नढाँटी बोल्छु; ढाट्न आउँदैन; ’भन्थी मेरी उनी’ सुदूर विगतकी मनकी प्रेमिकाले व्यक्त गरेका चिठीका हरफहरू समेत हुन् । मैले तिनकै अभिव्यक्तिलाई टक्क टक्क उतारेर गीतमा राखेको हुँ । दीपले धुन भरेर गायो । गीत प्रसिद्ध भयो । म पनि प्रसिद्ध भएँ । त्यो प्रेम कथा त अब टुङ्गियो तर हाम्रो मित्रता टुङ्गिएको छैन । पारिवारिक मित्रता छ ।’

शिवशंकर थापाको अभिव्यक्ति सुनेपछि दर्शक माझबाट कसैको टिप्पणी सुनिन्छ- ‘कस्तो सुन्दर र आदर्श प्रेम ?’

शिवशंकर थापाको बोल्ने शैली गम्भीर थियो । तर त्यसभित्र ठट्यौली पनि झल्कन्थ्यो । बेलाबेलामा उनले कथा भन्दैगर्दा दर्शकदीर्घामा हाँसोको फोहोरा पनि छुट्थ्यो ।

तेस्रो खण्ड तथा अन्तिम खण्डमा लोक शैलीका रचना प्रस्तुत भए । जसमा भौगोलिकता समेटिएको ’माखाको फेदीमा, जाँड छान्दा छान्दै’ र ’आज फेरि राजैज्यूको’ बोलका गीत रहेका थिए । युवराज पोर्तेल र मोनिका चुँडालले रेकर्ड गरेका दुई लोकगीतबारे आफ्नो अनुभूति पोख्दै शिवशंकर थापाले झ्याउरे भनेर प्रचलनमा रहेको शैली मगर जातिको ’झ्या बुरा’ शब्दको अपभ्रंश हुनसक्ने धारणा व्यक्त गरेका थिए ।

अन्तिम गीतका रूपमा गायक दीप श्रेष्ठ, गोविन्द कटुवाल र शिवशंकरले रेडियो नेपालमा रेकर्ड गरेको पुरानो लोकगीत ’रातो माटो सिन्दुरको साटो’ प्रस्तुत भएको थियो । कार्यक्रमको समापनसँगै प्रफुल्ल देखिएका शिवशंकर थापा भन्दै थिए– ‘हेर्नु त; म अलिक अस्वस्थ मान्छे, यो कार्यक्रमको बीटमार्ने बेलामा त २५ वर्षको उमेरमा झैँ जोश पलाएको अनुभूति पो गर्दै छु ।’

कार्यक्रमपछि मञ्चको निकट पुगेर गीतकार थापाका अन्तरङ्ग ’पासा’ गायक दीप श्रेष्ठ शिवशंकरलाई भन्दै थिए, ’गजब कार्यक्रम भयो; राम्रो बोलिस् तैँले; कलाकारहरूको प्रस्तुति पनि गजबको रह्यो । मजा आयो ।’

कार्यक्रमकै क्रममा दौंतरी दीप श्रेष्ठ बारेको प्रसङ्गमा शिवशंकरले भनेका थिए, ‘उमेरको पूर्वार्धमा तपाईँ भन्नेहरू रहने, तँ भन्नेहरू सकिंदै जाने रहेछन् । मलाई ‘तँ’ भनि बोलाउने अब दीप मात्रै छ ।’ शिवशंकरको यो ‘तँ’ सँग जोडिएको हार्दिकता दीपको प्रतिक्रिया र भावमा पनि झल्किन्थ्यो ।

अभिज्ञा घिमिरे र रूपक चौधरीको स्वरमा गुञ्जायमान यस पलेँटीमा बाद्यवादनतर्फ लिड र रिदम गिटारमा विक्रम कार्की, बेस गिटारमा कृपेश लोहनी, किबोर्डमा वैभव विक्रम परियार, बाँसुरीमा मिलन घिमिरे, रिदम सेक्सनमा मिलेश तण्डुकार र रिजेन खड्कीको सहभागिता थियो ।

आयोजकले आगामी महिनाको ‘पलेँटी’ मा पछिल्लो पुस्ताका गायक विधान श्रेष्ठको प्रस्तुति रहने र टिकट बुकिङ खुल्ला भइसकेको जानकारी गराइएका थिए । विधान शिवशंकरकै समकालिन र दीप श्रेष्ठले गाएको ‘म पत्थरको देवता होइन’ गीत रचना गर्ने विजय श्रेष्ठका छोरा हुन् । उनले विजय श्रेष्ठका सृजना लगायत गीतहरु प्रस्तुत गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?