+
+
Shares

‘रोल नं १’ हेरेपछि विद्यार्थी भन्छन्- हामीजस्ता विद्यार्थीले हेर्नुपर्ने फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १४:३७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शैक्षिक प्रणाली र बालमनोविज्ञानमा आधारित नेपाली फिल्म ‘रोल नं १’ गत शुक्रबारदेखि प्रदर्शनमा आई दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
  • फिल्मले विद्यमान शैक्षिक प्रणाली र मूल्याङ्कन विधिका कारण बालबालिकाले भोग्नु परेको मानसिक दबाबलाई मुख्य रूपमा उजागर गरेको छ ।
  • निर्माता विनोद पौडेलले विद्यार्थीको मनोभावना बुझ्न शिक्षक र अभिभावकले आफ्ना बालबालिकासँगै यो फिल्म हेर्नुपर्ने बताए ।

काठमाडौं । कथानक फिल्म ‘रोल नं १’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । शैक्षिक कथावस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको यो फिल्मले शिक्षा प्रणालीबाट अभिभावक र विद्यार्थी कसरी प्रभावित छन् भन्ने मर्मस्पर्शी कथा पेश गर्छ ।

निर्माता विनोद पौडेलले फिल्म हेरेका विद्यार्थी दर्शकले रुचाएको र आमविद्यार्थीले पनि हेर्नुपर्ने बताए । ‘हामीले जुन उद्देश्यले यो फिल्म निर्माण गरेको थियौँ, त्यो पूरा भयो’ पौडेल भन्छन्, ‘हेरेका विद्यार्थीले सिनेमा राम्रो लागेको र सबै विद्यार्थीले हेर्नुपर्ने बताइरहेका छन् ।’

निर्माता पौडेलले विद्यार्थीले फिल्म मन पराएकाले अब आफ्ना छोराछोरीलाई हलसम्म लिएर गएर ‘रोल नं १’ देखाउनु अभिभावकको दायित्व भएको बताए ।

विद्यार्थीको मनोभावना कसरी बुझ्ने र के पढाउने भन्ने विषय फिल्मले उठान गरेकाले शिक्षक र अभिभावकले आफ्ना विद्यार्थी र छोरोछोरीलाई यो फिल्म देखाउनु पर्नेमा निर्माता पौडेलको जोड छ ।

‘विद्यार्थी र शिक्षक तथा अभिभावक र छोराछोरी सँगै बसेर हेर्नुपर्ने सिनेमा हो यो । विद्यार्थीले मन नपराएको भए हामीले यो सिनेमा हेर्नुस् भनेर अनुरोध गर्ने थिएनौँ,’ उनले भने, ‘आफ्ना बच्चाबच्चीलाई सिनेमा हेराउन आग्रह गर्छौं ।’

बालमनोविज्ञानमा केन्द्रित रहेर बनाएको यो फिल्मले विद्यमान नेपाली शैक्षिक प्रणालीमा रहेको मूल्यांकन विधिले विद्यार्थीलाई दिने दबाबबारे प्रश्न उठाउँछ । गलत बुझाई र दबाबका कारण बालबालिकाले भोग्नु परेको मानसिक दबाबलाई सिनेमाले उजागर गरेको छ । यही कथालाई नै दर्शकले मन पराइरहेका छन् ।

यो फिल्म शुक्रबारबाट प्रदर्शनरत छ । कलाकार दर्शक भेट्न हलहल पुगिरहेका छन् । केही कलाकार मोफसल र केही कलाकार काठमाडौंकै हलमा गएर दर्शक भेटिरहेका छन् । जोन योञ्जन निर्देशित फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ छन् ।

विनोद र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । पटकथा महेश दवाडीले लेखेका हुन् । छायांकन शिवराम श्रेष्ठको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?