+
+
Shares

पोखरामा अनलाइन जुवा खेलाउने भारतीय गिरोह प्रहरी फन्दामा

आठ जना पक्राउ, २० करोडभन्दा बढी कारोबार

पोखराको सेदी क्षेत्रमा सफ्टवेयर कम्पनीको आवरणमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय अनलाइन सट्टेबाजीको जालो नै भएको तथ्य कास्की प्रहरीले पत्ता लगाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखराको सेदीमा सफ्टवेयर कम्पनीको आवरणमा अनलाइन सट्टेबाजी गराउने आठ जनाको गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा दार्चुलाका एक र सात भारतीय नागरिक रहेका छन् भने उनीहरूले दैनिक तीनदेखि चार लाख भारतीय रुपैयाँ आम्दानी गर्ने गरेको खुलेको छ ।
  • प्रहरीले बरामद गरेको डिजिटल उपकरणहरूमा २० करोड रुपैयाँभन्दा बढीको शङ्कास्पद आर्थिक कारोबार देखिएपछि थप अनुसन्धान अघि बढाइएको छ ।

२६ असार, पोखरा । पोखराको सेदी क्षेत्रमा सफ्टवेयर कम्पनीको आवरणमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय अनलाइन सट्टेबाजीको जालो नै भएको तथ्य कास्की प्रहरीले पत्ता लगाएको छ ।

क्रिकेट, फुटबल र क्यासिनो खेलमा अनलाइनमार्फत सट्टेबाजी गराउँदै आएको भारतीय नेटवर्कसँग आबद्ध आठ जनालाई पक्राउ गर्दै प्रहरीले करोडौं रुपैयाँको कारोबार भएको प्रारम्भिक प्रमाण फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१८ सेदीस्थित जीवन श्रेष्ठको घरमा अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन भइरहेको गोप्य सूचनाका आधारमा शुक्रबार बिहान गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले छापा मारेको हो ।  छापाका क्रममा दार्चुलाका ३१ वर्षीय दिनेशसिंह बोहरासहित सात भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ परेका भारतीय नागरिकमध्ये ३४ वर्षीय सत्यम सिंह मुख्य सञ्चालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले घटनास्थलबाट सात थान ल्यापटप, छ थान मनिटर, ३१ थान मोबाइल, नौ थान किबोर्ड, ३४ थान भारतीय सिमकार्ड, दुई थान राउटर, एक थान यूपीएस, एक थान १२ भोल्ट ब्याट्री, १६ थान चार्जर तथा अन्य विद्युतीय उपकरण बरामद गरेको छ ।

ती सामग्री अनलाइन सट्टेबाजी सञ्चालनमा प्रयोग हुँदै आएको कास्की प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए ।

कसरी चल्थ्यो कारोबार ?

अनुसन्धानका क्रममा गिरोहले २०८२ चैत १८ गतेदेखि सात कोठाको घर भाडामा लिएर सञ्चालन थालेको खुलेको छ । टेलिग्राम र ह्वाट्सएपमार्फत ‘गुरुभाइ २४७ डट प्रो’ नामक लिंक पठाई ग्राहकलाई रकम जम्मा गराउन लगाउने, त्यसपछि दर्ता गरी क्रिकेट, फुटबल तथा क्यासिनोका खेलमा सट्टेबाजी गराउने गरिएको थियो ।

हारजितको हिसाबअनुसार जित्ने व्यक्तिलाई अनलाइनबाटै रकम भुक्तानी गर्ने गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको बयानका आधारमा गिरोहले दैनिक तीनदेखि चार लाख भारतीय रुपैयाँ आम्दानी गर्ने गरेको खुलेको छ । उनीहरूले भारतीय बैंक खाता तथा डिजिटल वालेट प्रयोग गरी सम्पूर्ण आर्थिक कारोबार अनलाइनबाट सञ्चालन गर्दै आएका थिए ।

यो केन्द्र भारतीय नेटवर्कको २७औँ शाखाका रूपमा सञ्चालन भइरहेको र त्यहाँ काम गर्ने प्रत्येक व्यक्तिले मासिक २५ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

२० करोडभन्दा बढीको कारोबार

प्रहरीले बरामद गरेको कम्प्युटरमा रहेका तीन फरक हिसाब देखिएको छ । कम्प्युटरमा एक करोड ११ लाख ९९ हजार ११८ रुपैयाँ, नौ करोड दुई लाख २२ हजार २६ रुपैयाँ र १० करोड ५५ लाख ६८ हजार ६९० रुपैयाँ बराबरको क्रेडिट कारोबार देखिएको एसपी कार्कीले बताए ।

प्रारम्भिक हिसाबमै २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको देखिएपछि यसमा संगठित अन्तर्राष्ट्रिय सञ्जालको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ ।

अनुसन्धानका क्रममा एक्सिस बैंक, आइडिएफसी बैंक, कनरा बैंक, तेलङ्गाना ग्रामीण बैंक, २४ पे, पे बजार, गुगल पे र नक्सन पेजस्ता बैंक तथा डिजिटल भुक्तानी प्रणाली प्रयोग भएको विवरणसमेत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद भएका विद्युतीय उपकरण, आर्थिक कारोबार, बैंकिङ विवरण र यसमा संलग्न अन्य व्यक्ति तथा सञ्जालबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

अन्तरदेशीय आर्थिक कारोबार र संगठित सट्टेबाजी सञ्जालसँगको सम्बन्धबारे समेत अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?