News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरी निधन भएका गणेश नेपालीप्रति गहिरो दुःख व्यक्त गरेको छ।
- महानगरले मृतकका परिवारलाई रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ।
- घटनाको निष्पक्ष छानबिनका लागि गठन हुने सरकारी समितिमा पूर्ण सहयोग गर्ने महानगरपालिकाले प्रतिबद्धता जनाएको छ।
२६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ ।
महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर बस्ने नेपालीको उपचारका क्रममा भएको दुखद् निधनले महानगर स्तब्ध भएको उल्लेख छ ।
विज्ञप्तिमा महानगरपालिकाले घटनाको निष्पक्ष छानबिन गर्न गृह मन्त्रालयले गठन गर्ने छानबिन समितिको तथ्यगत अनुसन्धानमा महानगरपालिकाले पूर्ण रूपमा सहयोग गर्ने उल्लेख छ ।
छानबिन समितिबाट प्राप्त सुझावका आधारमा महानगरले आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदमहरू चाल्ने प्रतिबद्धता महानगरले जनाएको छ ।
यस्ता दुखद् घटना भविष्यमा दोहोरिन नदिन नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गरी असल अभ्यास कार्यान्वयनमा लैजान महानगर तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा कार्यपालिकाको बैठकबाट निर्णय गरिने महानगरले जनाएको छ ।
महानगरपालिकाले यस संवेदनशील अवस्थामा संयमित रहन र धैर्य धारण गर्न सबै नागरिक तथा सरोकारवालाहरूमा हार्दिक अपिल समेत गरेको छ ।
प्रतिक्रिया 4