+
+
Shares

यिनलाई कानुनले त चिन्दैन, कतै सरकारले चिन्छ कि ?

संसद्को दुई तिहाइ जनमतसहितको सरकारले शासकीय कामहरूमा कानुनले नचिनेका अनधिकृत व्यक्तिहरूलाई फिल्डमा उतार्ने गरेको छ । जसका कारण अवैधानिक रुपमा नागरिकहरूमाथि उनीहरूको हुकुम र आदेश चल्न थालेको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ असार २८ गते २०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबार राति आएको वर्षाका कारण कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सयौं नागरिकको जनजीवन प्रभावित बनेको छ।
  • उद्धार कार्यमा खटिएका जेनजी अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाले जनस्तरबाट विरोध र आलोचना सुरु भएको छ।
  • ओजस्वी थापा नामक अनधिकृत व्यक्तिले प्रहरीलाई निर्देशन दिने तथा नागरिकको टोपी फुकाल्ने जस्ता अमर्यादित कार्य गरेको भिडियो सार्वजनिक भएपछि लोकतान्त्रिक शासन प्रणालीमाथि प्रश्न उठेको छ।

२८ असार, काठमाडौं । शुक्रबार मध्यराति आएको वर्षाका कारण शनिबार बिहानीपख कीर्तिपुरस्थित राधा स्वामी सत्संगको सकुमवासी होल्डिङ सेन्टर डुबानमा पर्‍यो ।

प्रधानमन्त्री बालेन शाहले थापाथली तथा बागमती नदी किनारमा बसेका सुकुमवासी बस्ती बर्खाको समयमा डुबानमा पर्ने भएकाले उनीहरूकै हितका लागि हटाइएको बताउँदै आएका छन् । डुबानको समस्याबाट मुक्त हुन हटाएको भनिए पनि शनिबार होल्डिङ सेन्टर नै डुबानमा पर्‍यो ।

होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीका लत्ताकपडा, ओढ्ने,ओछ्याउने, खाद्यान्न, औषधि लगायतका सबै सामानहरू डुबे ।

होल्डिङ सेन्टरमा वृद्धवृद्धादेखि बालबच्चाहरू समेत भएकाले मानवीय क्षति हुनसक्ने जोखिम उच्च थियो । राति बाढी आए पनि मानवीय क्षति भने हुन पाएन ।

बाढीले सुकुमवासी बस्ती डुबानमा परेपछि बिहानैदेखि सञ्चारकर्मीदेखि जेनजी अभियन्ता, आम सर्वसाधारणसम्म होल्डिङ सेन्टरमा पुगेर रिपोर्टिङ गर्नेदेखि उद्धारको काममा जुटेका थिए ।

केही अभियन्ताहरूले भने सरकारको शैलीले सुकुमवासीले दु:ख पाएको भन्दै आवाज पनि उठाए ।

त्यसपछि प्रहरीले धरपकड तथा पक्राउ समेत गरेको थियो । प्रहरीको लछारपछारबाट जेनजी अभियन्ता माजिद अन्सारीको अनुहारमा सामान्य चोट समेत लाग्यो । जेनजी अभियन्ता माजिददेखि सरिस्मा थापा, नयन्द्र खड्का समेतलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा हाल्यो ।

यो क्रममा प्रहरीले माजिदलाई विद्यार्थी भएर पढ्, राजनीति नगर भन्दै बोलेको समेत सार्वजनिक भिडयोमा सुनिन्छ । माजिदले जवाफमा पढेको बताउँछन् ।

नियन्त्रणमा लिएका उनीहरूलाई अहिले छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । तर यो क्रममा प्रहरीले गरेको व्यवहारमाथि अहिले प्रश्न उठिरहेको छ । प्रहरीले अनावश्यक धरपकड गर्नेदेखि रुखो शैलीको व्यवहार गरेको भन्दै प्रहरीको आलोचना भएको छ ।

तर, यो भन्दा मुख्य कुरा हिजोको घटनामा अनधिकृत व्यक्तिबाटै नागरिक शासित हुनुपरेको भन्दै प्रश्न उब्जिएको छ ।

सार्वजनिक भिडियो क्लिपहरूमा ओजस्वी थापा नाम गरेका युवाले प्रहरीलाई निर्देशन दिनेदेखि नागरिकको टोपी जबर्जस्ती फुकाल्ने र सञ्चारकर्मीलाई अर्ती दिने गरेकोसम्म देखिन्छ ।

सार्वजनिक भिडियोमा उद्धारका लागि आफूले प्रहरी लिएर आएको जिकिर गरेका छन् । ‘मसँग प्रहरी पनि आउनु भएको छ । खटिनु भएको छ । सरकारले समस्या समाधान गर्नुपर्छ भनेर हामी यहाँ आएको हो,’ सार्वजनिक भिडियोमा ओजस्वीले भनेको सुनिन्छ । उनको भनाइले उनीबाटै प्रहरी त्यहाँ परिचालित र निर्देशित भएको बुझिन्छ ।

सञ्चारकर्मीसँग ओजस्वीको भनाभन हुँदाको तस्वीर (लोकतन्त्र टाइम्सको फेसबुकबाट लिइएको स्कृनसट)

यतिमात्रै होइन उनले सञ्चारकर्मीलाई पनि अर्ती दिएका थिए । ‘मिडियाकर्मीहरूले पनि के कुरा बुझ्नु पर्छ भने कुन कुरालाई कुन रुपमा कसरी सम्प्रेषण गर्ने भनेर बुझ्नु पर्छ,’ ओजस्वीले अर्ती दिएका थिए ।

उनले यस्तो बोलेपछि प्रहरीले सञ्चारकर्मीलाई समेत त्यहाँ रिपोर्टिङ गर्न रोक लगाएको थियो । प्रहरीले भने अहिले उद्धार गर्ने बेला भएकाले रिपोर्टिङ गर्दा उद्धारमै समस्या हुने भन्दै रोकेको दाबी गरेको छ ।

अझ यो भन्दा गम्भीर विषयले तीनै ओजस्वी थापा नाम गरेका व्यक्तिले एक व्यक्तिको क्याप नै फुकालिदिएको सार्वजनिक भिडियोमा देखिन्छ ।

‘यो पार्टीको तारो भएको टोपी फुकालेर आउनुस्’ भन्दै एक युवाले शिरमा लगाएको टोपी समेत ओजस्वीले फुकालेका थिए । यो सबै घटना हुँदा प्रहरी भने मुकदर्शक बनेको थियो ।

अझै तीनै टोपी फुकालिएका युवालाई प्रहरीले भ्यानमा हालेर लगेको थियो । ओजस्वीबाट टोपी फुकालिएका युवा नेकपा निकट नयन्द्र खड्का हुन् । उनी भूमि आयोगका पूर्वउपाध्यक्ष समेत हुन् ।

प्रहरीलाई निर्देशन दिनेदेखि व्यक्तिको शिरको टोपी फुकाल्ने ओजस्वी थापा भने कुनै सरकारी कर्मचारी, जननिर्वाचित प्रतिनिधि वा राज्यमा कुनै नियुक्ति लिएका व्यक्ति भने होइनन् ।

उनी न गृहमन्त्रीको कुनै सचिवालय टिममा नियुक्त भएका छन् न अन्य मन्त्री तथा प्रधानमन्त्री कै । तर उनको शैली भने निर्वाचित व्यक्ति तथा सरकारी हैसियत प्राप्त अधिकारीको जस्तै देखिएको छ ।

यसरी अनधिृकत व्यक्तिबाट शासित हुने अवस्था आउनुलाई सरकारले विस्तारै आफ्नो वैधानिकता आफैं गुमाउँदै गएको रुपमा बुझ्नुपर्ने कानुनका जानकारहरूको भनाइ छ । ‘अधिनायकवादमा त कानुनको सीमामा बस्नुपर्छ भने यो त लोकतन्त्र हो । कानुनले नचिनेका व्यक्तिबाट शासित हुनु भनेको लोकतन्त्रप्रति विश्वास नभएका व्यक्तिबाट शासन भएको रुपमा बुझ्नुपर्छ’ वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले अनलाइनखबरसँग भने ।

गृहमन्त्री सुधन गुरुङसँग थापा ।

हाम्रो राज्य संरचनाको इतिहास केलाउँदा पनि वैधानिक संरचना देखिन्छ । हरेक कुराको सीमा हुन्छ र ती विषयहरू कानूनले निर्दिष्ट हुन्छ । तर अहिलेको अवस्था भने फरक हुँदै गएको पञ्चायतको जस्तो देखिएको खरेल सम्झन्छन् ।

‘पञ्चायती व्यवस्थाको अन्त्यतिर सूर्यबहादुर थापाले भूमिगत गिरोह भन्ने शब्द प्रयोग गरेका थिए । त्यतिबेला कानूनले नचिनेको व्यक्तिहरू शक्तिशाली थिए । मन्त्री माग्दै त्यस्ता व्यक्तिहरू भएको ठाउँमा जाने गरिन्थ्यो’ खरेल सम्झन्छन्, ‘त्यही शब्दका कारण सूर्यबहादुर समेत पक्राउ परे । पछि यो व्यवस्था नै ढल्यो । यस्ता कदम हुँदै जानु भनको सत्ता अन्त्यको सुरुवात हो ।’

संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रधामन्त्रीका मान्छेले धम्क्याउनेदेखि कानुनले नचिनेका मान्छेहरूबाट निर्देशन हुनु लोकतान्त्रिक पद्धती नरहेको जानकारहरू बताउँछन् । सुधार गर्ने असल नियत नै भए पनि खराब प्रणाली भएकाले यसलाई राम्रो मान्न नसकिने बुझाइ छ ।

यता आफूमाथि लागेको आरोपबारे भने ओजस्वी थापा खण्डन गर्छन् । होल्डिङ सेन्टरमा पानी पस्यो भनेर राति २ बजे फोन आएपछि उद्धार गर्न राति नै आफू त्यहाँ पुगेको उनको भनाइ छ । आफ्नो टिम त्यहाँ पुगेर १२७ जनालाई सुरक्षित रुपमा अन्यत्र सारिएको उनी बताउँछन् ।

तर कानूनले नचिनेको व्यक्ति गएर निर्देशन गरेको भन्ने अनलाइनखबरको प्रश्नमा भने उनले प्रधानमन्त्रीको कार्यालयकै समन्वयमा आफू त्यहाँ पुगेको दाबी उनले गरे ।

‘समस्या भएको जानकारी पाएपछि प्रधानमन्त्री कार्यालयकै समन्वयमा उद्धारका लागि म त्यहाँ पुगेको हुँ,’ थापाले अनलाइनखबरसँग भने । थापाले सुकुमवासी होल्डिङ सेन्टरमा पुगेका नयन्द्र खड्काको टोपी फालेका थिए । यसबारे भने उनी राजनीति गर्न खोजिएको आरोप लगाउँछन् ।

बालेन र सुधनसँग जेम्स र ओजस्वीलगायत।

‘उहाँ आउनु भयो मलाई प्रश्न गर्नुभयो । म यहाँबाट आएको पार्टीको मान्छे भन्नुभयो । मैले उद्धार गर्नु पाउनुपर्छ भन्नुभयो । पार्टीगत हिसाबले त्यहाँ गिजोल्न खोजे, मान्छे भड्काउन खोजे । सहयोग गर्ने भए राजनीतिलाई भूईंमा राखेर आउनु भनेको हुँ, त्यो टोपी फुकालेर आउनुस् भनेको हुँ,’ उनको दाबी छ, ‘म पनि पार्टीगत रुपमा त्यहाँ गएको होइन । राम्रो गर्न खोजेको हुँ नराम्रो रुपमा बुझ्न भएन ।’

यसरी अनधिकृत रुपमा नागरिकमाथि निर्देशन दिने थापा हालका गृहमन्त्री सुधन गुरुङ निकट छन् । जेनजी आन्दोलन हुँदा र त्यसपछिका दिनहरूमा पनि उनी सुधन सँगसँगै हिँड्थे । उनी द काउन्सिल अफ जेनजीमा आबद्ध पनि छन् ।

बालेन समूह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता हुँदा उनी रास्वपाको केन्द्रीय सदस्य समेत बनेका थिए । अहिले महाधिवेशमा भने उनी उम्मेदवार बनेनन् । सुशीला कार्की प्रधानमन्त्री हुँदा पनि राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म पुगेर उनी पहुँच राख्थे । तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यकक्षमा ढुकेर हरेक दिन नियमित कामकारबाहीमा हैरानी खेलाउने गरेको तत्कालीन गृहमन्त्रालय स्रोतले अनलाइनखबरलाई बताएको थियो ।

यसरी जेनजी आन्दोलनको विरासत देखाएर राज्यस्रोतबाट असीमित पहुँच लिन लागिपरेका ओजस्वी कुनै आधिकारिक जिम्मेवारीमा भने बसेको देखिएन । अहिले वास्तविक जेनजी आन्दोलनकारीमाथि आक्रमण भएको प्रसंगमा उनी समेत जोडिन पुगेका छन् ।

उनी जस्तै यसअघि प्रधानमन्त्री बालेको सचिवालयको टिमले पनि संवैधानिक निकाय अख्तियारलाई निर्देशन दिएको भन्दै प्रश्न उठेको थियो । संवैधानिक निकायलाई त्यो पनि प्रधानमन्त्रीले नभई उनको सचिवालयको टिमले निर्देशन दिनु अनधिकृत रहेको कानूनका जानकारहरू बताउँछन् ।

त्यो त यसअघि बालेनका प्रमुख राजनीतिक सल्लाहाकार कुमार बेनका दाजु सिद्धी व्यञ्जनकारले पनि खेलकुद मन्त्रालयको तर्फबाट निर्देशन दिने गरेका थिए । कतिसम्म भने राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा मन्त्रालयको तर्फबाट भएको अनुगमनमा उनै सिद्धी थिए । त्यहाँ खेलकुद मन्त्री भने थिएनन् ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिद्धीलाई प्रमुख सल्लाहारको रुपमा नियुक्त गरेका थिए । तर सल्लाहाकारले भने कर्मचारीदेखि राखेपका व्यक्तिलाई निर्देशन दिने गरेका थिए ।

यसअघि सम्पत्ति सम्बन्धी विवाद भएपछि ९ वैशाखमा सुधन गुरुङले राजीनामा दिएपछि उनका प्रमुख स्वकीय सचिव जेम्स कार्कीले पनि मन्त्रालयमा बसेर काम गर्दै आएका थिए ।

मनोहरा बस्तीको सुकुमवासी बस्ती हटाउन त्यतिबेला कार्की आफैं पुगेका थिए । अघिल्लो दिन भत्काउने क्रममा प्रहरीमा आक्रमण भएपछि भोलिपल्ट उनी आफैं पुगेका थिए । कार्कीले माननीय, सचिवलगायतको कोअर्डिनेसन र निर्देशनमा काम भएको बताएका थिए ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?