News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष विश्वकपमा टोलीको संख्या ६४ पुर्याउने सम्भावनाबारे छलफल हुने संकेत गरेका छन् ।
- इन्फान्टिनोले विश्वकप सबैको पहुँचमा हुनुपर्ने र साना देशलाई पनि खेल्ने अवसर दिनुपर्ने धारणा व्यक्त गरे ।
- यद्यपि, युरोपेली तथा एसियाली फुटबल महासंघका प्रमुखहरूले यस विस्तारलाई अव्यवस्था निम्त्याउने भन्दै विरोध जनाएका छन् ।
२९ असार, काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष विश्वकपमा सहभागी टोलीको संख्या ६४ पुर्याउने सम्भावनाबारे सन् २०२६ को विश्वकपपछि छलफल हुने बताएका छन् ।
स्विस सञ्चारमाध्यमसँगको कुराकानीमा इन्फान्टिनोले विश्वकप युरोप र दक्षिण अमेरिकाका लागि मात्रै नभई सम्पूर्ण विश्वका लागि हुने भएकाले सबै देशले विश्वकप खेल्ने सपना देख्न पाउनुपर्ने बताए ।
‘विश्वकप सबैका लागि हुनुपर्छ । साना देशलाई पनि अवसर दिनुपर्छ । अवसर नपाए उनीहरूमा अझ राम्रो बन्ने प्रेरणा कम हुन्छ’ उनले भने ।
इन्फान्टिनोले ४८ टोली सहभागी भएको विश्वकप सफल भएको दाबी गर्दै विशेषगरी अफ्रिकी टोलीहरूको प्रदर्शनले प्रतियोगिता विस्तारको औचित्य पुष्टि गरेको बताए । उनले यसपटक १० मध्ये ९ अफ्रिकी टोली नकआउट चरणमा पुगेको कुरा उल्लेख गरेका थिए ।
फिफाले सन् २०१७ मा विश्वकपलाई ३२ टोलीबाट ४८ टोलीमा विस्तार गर्ने निर्णय गरेको थियो । त्यसअनुसार पहिलोपटक ४८ टोली सहभागी भएको विश्वकप सन् २०२६ मा आयोजना भइरहेको छ ।
दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) ले सन् २०२५ मै २०३० को विश्वकप ६४ टोलीको बनाउन औपचारिक प्रस्ताव राखेको थियो । तर त्यसबारे अहिलेसम्म कुनै निर्णय भएको छैन ।
यद्यपि ६४ टोलीको विश्वकपको प्रस्तावप्रति सबै पक्ष सहमत भने छैनन् । युरोपेली फुटबल महासंघ (यूईएफए) का अध्यक्ष अलेक्जेन्डर सेफेरिनले यसलाई प्रतियोगिता र छनोट दुवैका लागि खराब विचार भनेका छन् ।
एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले पनि थप विस्तारले अव्यवस्था निम्त्याउने चेतावनी दिएका छन् । उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ (कन्काकाफ) का अध्यक्ष भिक्टर मोन्टाग्लियानीले पनि यस्तो विस्तार उपयुक्त नहुने बताएका छन् ।
सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्नेछन् । प्रतियोगिताको शताब्दी वर्षका अवसरमा उद्घाटनका तीन खेल भने अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा हुनेछन् ।
यदि विश्वकप ६४ टोलीको बनाइयो भने फिफामा आबद्ध २११ सदस्य राष्ट्रमध्ये झन्डै एकतिहाइ देशले विश्वकप खेल्ने अवसर पाउनेछन् । साथै खेल संख्या र आम्दानी पनि बढ्ने भएकाले सदस्य राष्ट्रलाई वितरण हुने रकमसमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4