News Summary
Generated by OK AI. Editorially reviewed.- राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको जनाएको छ ।
- विभागले करिब एक करोड नागरिकको विवरण नयाँ प्रणालीमा स्थानान्तरण गरेको छ भने अब राहदानी छपाइको जिम्मेवारी जर्मन कम्पनीले पाएको छ ।
- प्राविधिक चुनौती र प्रणालीमा सुस्तता आउन सक्ने भन्दै विभागले अत्यावश्यक परेका सेवाग्राहीलाई मात्र हाल आवेदन दिन अनुरोध गरेको छ ।
२९ असार,काठमाडौं । राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
विभागले सोमबार जारी गरेको सूचनाअनुसार आजबाट नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको हो।
यस क्रममा करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ।
यसअघि फ्रान्सेली कम्पनी आइडिमियाले पासपोर्ट छाप्दै आएको थियो । अब जर्मन कम्पनीले छाप्न थालेको हो ।
विभागका अनुसार यति ठूलो सूचना प्रविधि प्रणाली कार्यान्वयनपछि प्रारम्भिक चरणमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ देखिनु स्वाभाविक हुने उल्लेख गरेको छ ।
तर यस्ता समस्याको समाधानका लागि विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू चौबीसै घण्टा प्रणालीको अनुगमन, परीक्षण र सुधारमा खटिएको जनाइएको छ।
विभागले प्रारम्भिक चरणमा अत्यावश्यक आवश्यकता भएका सेवाग्राहीले मात्र राहदानीका लागि आवेदन दिन अनुरोध गरेको छ।
यसबाट नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन सहयोग पुग्ने विभागको विश्वास छ।
राहदानी विभागले नेपाली नागरिकलाई चुस्त, छरितो र विश्वसनीय सेवा प्रदान गर्न आफू सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै सेवाग्राहीको विश्वास, धैर्यता र सहयोगप्रति धन्यवाद व्यक्त गरेको छ।
प्रतिक्रिया 4