+

यी हुन् फिफा विश्वकप २०२६ का १० विवादित निर्णय

२०८३ असार  २९ गते १४:५९ २०८३ असार २९ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्यान्डले स्थान सुरक्षित गरेका छन् ।
  • अमेरिका, मेक्सिको र क्यानडामा जारी विश्वकपमा प्रयोग गरिएका नयाँ प्रविधिहरूका कारण केही निर्णयहरू विवादास्पद बनेका छन् ।
  • विश्वकपका मुख्य १० विवादित घटनाहरूमा मेस्सीको रातो कार्ड प्रकरण, बालोगुनको निष्कासन र भीएआरका निर्णयहरू बढी चर्चामा रहेका छन् ।

२९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा अब सेमिफाइनल र फाइनलका खेलहरू बाँकी छन् । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपको सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन र इंग्ल्यान्डले स्थान बनाएका छन् ।

पहिलोपटक ४८ देश सहभागी विश्वकपमा यसपटक विभिन्न नयाँ प्रविधि प्रयोग गरिएको थियो । केही प्रविधिले विश्वकपका खेलहरूलाई रोमाञ्चक बनाए त केही विवादित ।

यो लेखमा हालसम्म भएका १० विवादित निर्णयहरू प्रस्तुत गरेका छौं ।

१०. अर्जेन्टिनाविरुद्ध इजिप्ट – इजिप्टको गोल रद्द

इजिप्टले साविक विजेता अर्जेन्टिनाविरुद्ध २–० को अग्रता लिँदा इतिहास रच्ने संघारमा पुगेको ठानेको थियो । तर, उनीहरूको त्यो दुई गोलको अग्रता धेरै समय टिकेन । ६०औं मिनेटमा जिकोले गोल गर्दै इजिप्टलाई दुई गोलको अग्रता दिलाएको थियो ।

खेलको मुभ सुरु हुने क्रममा धेरै अघि फल भएको भन्दै भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले उनीहरूको दोस्रो गोल रद्द गरिदियो । गोल हुनुभन्दा अघिको घटनालाई हेरेर गोल रद्द गरिएकामा इजिप्ट असन्तुष्ट थियो ।

विशेष गरी अर्जेन्टिनाले विजयी गोल गर्नुभन्दा ठीक अघि आफूहरूले पेनाल्टी पाउनुपर्ने दाबी उनीहरूको थियो । इजिप्टले रेफ्रीको निर्णय अर्जेन्टिनाको पक्षमा पक्षपाती भएको आरोप लगाउँदै फिफामा औपचारिक उजुरी दर्ता पनि गर्‍यो । उक्त खेलमा इजिप्ट ३–२ ले पराजित हुन पुग्यो ।

९. इंग्ल्याण्डविरुद्ध घाना – कोन्साको फलमा पेनाल्टी नदिइनु

समूह चरणमा घानाविरुद्ध इंग्ल्याण्डको भाग्यले साथ दियो र खेल गोलरहित बराबरीमा सकियो । तर स्थिति योभन्दा पनि खराब हुन सक्थ्यो । जब खेलको ७८औं मिनेटमा इंग्ल्याण्डका एज्री कोन्साले डि–बक्स भित्र घानाका प्रिन्स अडुलाई लडाए । तब घानाले पेनाल्टीको आशा गरेको थियो । तर उनीहरूलाई पेनाल्टी दिइएन ।

कोन्साको त्यो ट्याकल असावधान र बढी जोखिमपूर्ण थियो । जसमा घानाले सजाय पाउनुपर्ने माग गरेको थियो । उक्त खेलमा इंग्ल्यान्डमाथि ऐतिहासिक जित निकाल्नबाट चुकेको थियो ।

८. ब्राजिलविरुद्ध स्कटल्यान्ड – भिनिसियस जुनियरको गोल रद्द

ब्राजिलले स्कटल्याण्डविरुद्ध पहिले नै एक गोलको अग्रता लिइसकेको थियो र भिनिसियस जुनियरले बल खोसेर गोल गरेपछि उनीहरूले आफ्नो अग्रता दोब्बर बनाएको ठानेका थिए । तर भीएआरको पुनरावलोकनपछि उनले स्कटल्याण्डका ज्याक हेन्ड्रीलाई फल गरेको ठहर गरियो ।

यद्यपी, त्यो फल निकै सामान्य थियो । ब्राजिलले खेल जितेकाले यसले खासै फरक त पारेन । तर त्यतिबेला स्कटल्याण्डका लागि यो ठूलो राहत बनेको थियो ।

७. कोलम्बियाविरुद्ध पोर्चुगल – कोलम्बियाको गोल अफसाइड घोषित

पोर्चुगलविरुद्ध गोल गर्दा कोलम्बियाका डाभिन्सन सान्चेज अफसाइड देखिएका थिएनन् । तर भीएआरको अत्याधुनिक प्रविधिले रेखा कोरेर हेर्दा सान्चेजको खुट्टाको औँला मात्र केही मिलिमिटरले अफसाइड पाइयो ।
कतिपयले अफसाइडको नियम स्पष्ट हुने दाबी गरे पनि भीएआरले यसलाई यति कडा रूपमा लागू गर्दा धेरैलाई निराश बनायो । उक्त खेल बराबरीमा सकिएको थियो ।

६. इक्वेडरविरुद्ध जर्मनी – जर्मनीको गोललाई मान्यता

जर्मनीले इक्वेडरविरुद्ध खेलको सुरुवातमै अग्रता लियो । तर धेरैको बुझाइमा यो गोललाई मान्यता दिनु हुँदैनथ्यो । जर्मनीका अलेक्जेन्डर पाभ्लोभिचको बुटले इक्वेडरका पेड्रो भिटेको टाउकोमा लागेपछि भिटे भुइँमा ढलेका थिए ।
पाभ्लोभिचले बल खेल्ने प्रयास त गरेका थिए । तर बलसँगै उनको बुट भिटेको अनुहारमा पनि लाग्यो र जर्मनीले खेललाई अगाडि बढाउँदै गोल ग¥यो । गोल हुनुअघि पाभ्लोभिच र भिटेबीच त्यस्तो घटना भए पनि भीएआरले गोललाई मान्यता दियो ।

५. जर्मनीविरुद्ध पाराग्वे – जर्मनीको गोल रद्द

अन्तिम ३२ को खेलमा पाराग्वेद्वारा जर्मनीको बहिर्गमन यस विश्वकपको सबैभन्दा ठूलो उलटफेरमध्ये एक थियो । तर पराजित टोली जर्मनीले आफ्नो एउटा वैध गोल रद्द गरिएको दाबी गर्‍यो । जसले उनीहरूलाई २–१ को अग्रता दिलाउने थियो ।

नथानियल ब्राउनको कर्नर प्रहारमा जोनाथन टाहले पाराग्वेका गोलकिपर ओर्लान्डो गिललाई छक्काउँदै हेडमार्फत गोल गरेका थिए । तर भीएआरको समीक्षाले कर्नर आउने क्रममा जर्मनीका वाल्डेमार एन्टोनले गोलकिपर गिललाई गलत तरिकाले समातेको ठहर गर्‍यो ।

४. पोर्चुगल विरुद्ध क्रोएसिया – क्रोएसियाको गोल अफसाइडमा रद्द

क्रोएसियाले अन्तिम ३२ को खेलमा पोर्चुगलविरुद्ध इन्जुरी समयको अन्तिम क्षणमा बराबरी गोल गर्दै आफ्नो विश्वकपको आशा जीवित राखेको ठानेको थियो । २–१ ले पछि परेको अवस्थामा जोस्को ग्वार्डिओलले नजिकको दूरीबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए । तर क्रोएसियन खेलाडीहरूको त्यो उत्सव धेरै समय टिकेन ।

फिफाको नयाँ ‘कनेक्टेड बल’ प्रविधिले यो प्रमाणित गर्‍यो कि क्रोएसियाका इगोर मन्तानोविचले बललाई छोएका थिए र त्यसपछि बल मारियो पासालिचकोमा पुगेको थियो, जो ग्वार्डिओललाई असिस्ट गर्नुअघि अफसाइड पोजिसनमा थिए ।

मन्तानोविचको स्पर्शको प्रमाण फेला परेकाले पासालिचको अफसाइडका कारण गोल रद्द हुनु वैध त थियो । तर बल पोर्चुगलका डिफेन्डरलाई लाग्दै त्यहाँ पुगेकाले गोल कायम हुनुपर्ने तर्क कतिपयको थियो ।

नियम अनुसार डिफेन्डरले जानीजानी बल छोएको हुनुपर्छ । तर रेफ्रीले त्यो जानीजानी नगरिएको निर्णय गरे । जसका कारण पासालिच अफसाइड नै ठहरिए र क्रोएसियाको सपना चकनाचुर भयो ।

३. फ्रान्स विरुद्ध सेनेगल – एमबाप्पेलाई पेनाल्टी नदिइनु

जब फ्रान्स सेनेगलविरुद्ध गोलको खोजीमा थियो । साडियो मानेले स्लाइड गर्दै किलियन एमबाप्पेलाई लडाएपछि उनीहरूले पेनाल्टीको माग गरे । रेफ्रीले यसमा कुनै चासो देखाएनन् र फ्रान्सलाई कर्नर दिँदै पेनाल्टी अस्वीकार गरे । तर भीएआरले तुरुन्तै रेफ्रीलाई पुनरावलोकन गर्न सुझाव दियो ।

रिप्लेमा मानेले बललाई कतै पनि नछोएको स्पष्ट देखियो । तर दर्शकहरूलाई अचम्ममा पार्दै रेफ्रीले आफ्नो पुरानै निर्णय कायम राखे र पेनाल्टी दिएनन् । उल्टै, उनले एमबाप्पे आफैंले कन्ट्याक्ट सुरु गरेको दाबी गरे र फ्रान्सको घाउमा नुन छर्कँदै त्यो कर्नरलाई गोल किकमा परिणत गरिदिए ।

२. अमेरिकाविरुद्ध बोस्निया र हर्जगोभिना – बालोगुनलाई रातो कार्ड

यो घटना यति विवादास्पद बन्यो कि यसमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत जोडिन पुगे । जसले गर्दा यो विषय अझ बढी चर्चामा आयो । अमेरिकाका स्ट्राइकरफोलारिन बालोगुनको बुट बोस्नियाका तारिक मुहरेमोभिकको पिँधुलामा परेपछि भीएआरमार्फत उनलाई रातो कार्ड देखाइयो ।

बालोगुनको त्यस्तो कुनै खराब नियत देखिँदैनथ्यो, तर भीएआरले रेफ्रीलाई क्लोज–अप र स्लो–मोसन रिप्लेहरू देखायो । जसले गर्दा घटना अझ गम्भीर देखियो । फलस्वरूप बालोगुनले मैदान छाड्नुपर्‍यो । यद्यपी अमेरिकाको अर्को खेलका लागि उनको प्रतिबन्ध पछि फिफाद्वारा खारेज गरियो ।

१. अर्जेन्टिनाविरुद्ध अल्जेरिया – मेस्सी रातो कार्डबाट जोगिए

लियोनेल मेसीको अहिलेसम्मकै उत्कृष्ट विश्वकप अभियानमध्ये एकको सुरुवात अल्जेरियाविरुद्ध ह्याट्रिकका साथ निकै बलियो भयो । तर अर्जेन्टिनाका विपक्षीहरूले मेसीलाई खेलमै रातो कार्ड दिइनुपर्ने दाबी गरेका थिए ।

मेसीले पहिलो हाफमा ऐसा मान्डीलाई फल गरेका थिए, जहाँ उनको बुट विपक्षी खेलाडीको पिँडुलामा लागेको थियो । नियमको अक्षरशः पालना गर्ने हो भने यो फल गर्ने खेलाडी जतिसुकै ठूलो लेजेन्ड भए पनि कार्ड पाउन योग्य देखिन्थ्यो । तर भीएआरबाट रेफ्रीलाई उक्त घटनाको पुनरावलोकन गर्ने कुनै सुझाव आएन र रेफ्रीले यसलाई सामान्य फ्री–किक मात्र दिने आफ्नो निर्णयलाई कायमै राखे ।

-द एथ्लेटिकबाट

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय