+
+
Shares

दोब्बर बढ्यो महँगी

जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते २१:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकका अनुसार जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ ।
  • गत वर्ष जेठको तुलनामा यस वर्ष महँगी झन्डै दोब्बरले बढेको प्रतिवेदनले देखाएको छ ।
  • कोशी प्रदेशमा सर्वाधिक ५.७५ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ४.६१ प्रतिशत मुद्रास्फीति देखिएको छ ।

२९ असार, काठमाडौं । अघिल्लो वर्षको तुलनामा यस वर्ष जेठमा महँगी झन्डै दोब्बर बढेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति २.७२ प्रतिशतमात्र थियो ।

यद्यपि, आव २०८२/८३ को ११ महिनाको औसत मुद्रास्फीति भने २.८९ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष सोही अवधिमा औसत मुद्रास्फीति ४.२४ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको तुलनामा गैरखाद्य तथा सेवा समूहको महँगी बढी देखिएको छ । राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत रहँदा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.३७ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्ष यी समूहको मुद्रास्फीति क्रमश: ०.५४ र ३.९४ प्रतिशतमात्र थियो ।

भान्सा र यातायातमा उच्च मूल्यवृद्धि

जेठमा उपभोक्ताको भान्सामा प्रयोग हुने फलफूल र घितेलको मूल्यमा भारी वृद्धि भएको छ । तथ्यांक अनुसार फलफूल उपसमूहको मूल्य १७.४० प्रतिशत र घिउ तथा तेलको मूल्य १५.१० प्रतिशतले बढेको छ ।

त्यसैगरी माछामासुको मूल्य ५.२६ र तरकारीको ४.१४ प्रतिशतले बढेको छ । यद्यपि, दाल तथा गेडागुडीको मूल्य भने ०.९३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

गैरखाद्यतर्फ विविध वस्तु तथा सेवाको मूल्य १६.६८ प्रतिशत र यातायात मूल्य १५.३१ प्रतिशत बढेको छ । मदिराजन्य पेय पदार्थमा ७.२०, शिक्षा ५.५४ र कपडा तथा जुत्ताचप्पलमा ५.५३ प्रतिशत मूल्यवृद्धि भएको छ ।

कोशी प्रदेशमा सर्वाधिक

जेठमा ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा महँगी बढी देखिएको छ । ग्रामीण क्षेत्रको मूल्य सूचकांक ४.७८ प्रतिशतले बढ्दा सहरी क्षेत्रको ५.३८ प्रतिशत बढेको छ ।

प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी महँगी कोशी प्रदेशमा ५.७५ प्रतिशत देखिएको छ भने सबैभन्दा कम सुदूरपश्चिममा ४.६१ प्रतिशत छ ।

त्यसैगरी मधेस र लुम्बिनीमा समान ५.६२ प्रतिशत, गण्डकी ५.०५, कर्णाली ४.८९ र बागमतीमा ४.७९ प्रतिशत मुद्रास्फीति छ ।

भौगोलिक क्षेत्रका आधारमा तराईमा सर्वाधिक ५.७४ प्रतिशत महँगी रहँदा पहाडमा ५.०७, काठमाडौं उपत्यका ४.९८ र हिमालमा ३.७१ प्रतिशत महँगी छ ।

थोक मुद्रास्फीतिमा उछाल

उपभोक्ता मुद्रास्फीतिसँगै थोक मुद्रास्फीतिमा पनि उच्च वृद्धि भएको छ । अघिल्लो वर्ष जेठमा १.५६ प्रतिशतमात्र रहेको थोक मुद्रास्फीति यस वर्ष जेठ आइपुग्दा ८.४७ प्रतिशत पुगेको छ ।

यस अवधिमा उपभोग्य वस्तुको थोक मूल्य १ प्रतिशतले घटे (ऋणात्मक) पनि मध्यवर्ती वस्तुको १४.६४ प्रतिशत र पूँजीगत वस्तुको ४.७८ प्रतिशत बढेको छ । निर्माण सामग्रीको थोक मूल्य पनि ३.०९ प्रतिशत महँगिएको छ ।

राष्ट्र बैंकको तथ्यांकले नेपालको तुलनामा भारतमा महँगी दर कम रहेको देखाएको छ । जेठमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत रहँदा सन् २०२६ मे महिनामा भारतको यस्तो मुद्रास्फीति ३.९३ प्रतिशतमात्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?