News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको इटहरीमा सोमबार राति नेपाल विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा धरान–१३ का चालक ३३ वर्षीय बिर्खबहादुर राई र प्राधिकरणका प्राविधिक कर्मचारी ४९ वर्षीय सुमन आचार्य रहेका छन् ।
- दुहबी–धरान प्रसारण लाइन मर्मतका लागि खटिएको टोली दुर्घटनामा परेको प्राधिकरणका प्रमुख हरिराम पोखरेलले जानकारी दिनुभयो ।
३० असार, विराटनगर । सुनसरीको इटहरीमा सोमबार राति नेपाल विद्युत प्राधिकरण धरानको स्कोरपिओ गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।
दुहबी- धरान ३३ केभी प्रसारण लाइनमा समस्या आएपछि मर्मतका लागि गएको बा१ञा १६५१ नम्बरको स्कोरपिओ दुर्घटनामा परेको हो ।
सोमबार राति करिब ११ बजे कोशी लोकमार्गअन्तर्गत इटहरी–२० स्थित सेउती पुल नजिकै प्राधिकरणको स्कोरपिओ गाडी दुर्घटना हुँदा धरान–१३ का ३३ वर्षीय बिर्खबहादुर राई र धरान–१६ का ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको हो । राई चालक हुन् । आचार्य प्राधिकरणका प्राविधिक कर्मचारी हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा अर्का कर्मचारी धरान–२० का ३२ वर्षीय पदम राई घाइते भएका छन् । उनको अवस्था सामान्य छ ।
प्राधिकरण धरानका प्रमुख हरिराम पोखरेलले मर्मत टोली डिउटीकै क्रममा दुर्घटनामा परेको जानकारी दिए । उनका अनुसार राति साढे ९ : ५४ बजेतिर दुहबी–धरान प्रसारण लाइनमा समस्या आएपछि पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी परिचालन गरिएको थियो । सोही गाडी दुर्घटनामा परेको हो ।
प्रतिक्रिया 4