+
+
Shares

कानुनविपरीत ८० वर्ष हाराहारीका श्रेष्ठलाई वायुसेवा निगम कार्यकारी अध्यक्ष नियुक्त

२०४९ सालमा तत्कालीन सरकारले ‘कुडाकर्कट सफाइ अभियान’ नाममा व्यापक कर्मचारी कटौती गर्दा वायुसेवा निगमबाट श्रेष्ठको पनि जागिर गएको थियो । त्यसबेला उनी निगमको कर्पोरेट डाइरेक्टर थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते २२:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले नेपाल वायुसेवा निगमको अध्यक्ष तथा महाप्रबन्धकमा ८० वर्षका महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ।
  • कार्यविधिअनुसार कार्यकारी प्रमुखको उमेर ६५ वर्ष ननाघेको हुनुपर्ने भए पनि सरकारले त्यसविपरीत श्रेष्ठलाई जिम्मेवारी दिएको छ।
  • यसअघि सर्वोच्च अदालतले श्रेष्ठसहितका सञ्चालकहरूको नियुक्ति बदर गरेको थियो भने अहिले मन्त्रिपरिषद्ले उनलाई पुनः कार्यकारी जिम्मेवारी तोकेको छ।

३० असार, काठमाडौं । सरकारले कानुनविपरीत ८० वर्ष हाराहारीका महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगमको अध्यक्ष तथा महाप्रबन्धक नियुक्त गरेको छ ।

२०४९ सालमा तत्कालीन सरकारले ‘कुडाकर्कट सफाइ अभियान’ नाममा व्यापक कर्मचारी कटौती गर्दा वायुसेवा निगमबाट श्रेष्ठको पनि जागिर गएको थियो । त्यसबेला उनी निगमको कर्पोरेट डाइरेक्टर थिए ।

निगमबाट अवकाश पाएको ३४ वर्षपछि ८ दशकको उमेरमा श्रेष्ठलाई युवाहरूको सरकारले निगमको जिम्मेवारी थमाइदिएको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार पर्यटन मन्त्रालयको प्रस्तावमा श्रेष्ठलाई निगमको कार्यकारी भूमिका दिइएको हो ।

निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा श्रेष्ठको नियुक्ति सरकारको कार्यविधि विपरीत समेत देखिएको छ । पर्यटन मन्त्रालय सम्बद्ध ‘सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ अनुसार कुनै निकायको कार्यकारी प्रमुख नियुक्त हुने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ ।

नेपाल वायुसेवा निगम ऐनमा कार्यकारी प्रमुखको उमेरका बारेमा केही उल्लेख नभएकाले कार्यविधिमा उल्लेख व्यवस्था नै लागु हुने एक कानुन व्यवसायीले बताए ।

तर, कार्यविधि विपरीत हुने गरी श्रेष्ठलाई कार्यकारी निर्देशकको जिम्मा दिइएको हो ।

यसअघि सर्वोच्च अदालतले नियुक्ति खारेज गरेका पाँचजना सञ्चालकमा श्रेष्ठ पनि परेका थिए । पर्यटन मन्त्रालयका अनुसार ३१ वैशाखमा निगममा ५ जना सञ्चालक समिति सदस्य नियुक्त गरिएको थियो । उक्त नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएको थियो । ती ५ जनामा श्रेष्ठ पनि बदरमा परेका थिए ।

सरकारले छनोट समितिको सिफारिसको योग्यता क्रमका आधारमा नभई आफूखुसी छानेर नियुक्ति दिएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

पहिलो नम्बरमा सिफारिस भएका उपेन्द्रबहादुर कार्कीले दिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले नियुक्ति बदर गरेको थियो । तर, योग्यता क्रममा रहेका पाँच जनालाई सरकारले हालै सञ्चालक नियुक्त गरेको र सञ्चालकमध्येबाट श्रेष्ठलाई कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी दिइएको पर्यटन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले बताए ।

‘वायुसेवा निगम ऐनमा सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्तिको उमेरका विषयमा उल्लेख छैन, त्यही अनुसार उहाँहरू सञ्चालक नियुक्त हुनुभयो तर अहिले निगममा महाप्रबन्धकको पद खालि भएकाले सञ्चालकमध्येबाट उहाँलाई कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद्बाट भएको हो,’ प्रवक्ता आचार्यले भने ।

को हुन् श्रेष्ठ ?

मुलुकको नागरिक उड्डयन क्षेत्रमा श्रेष्ठको ५ दशक लामो अनुभव छ । वायुसेवा निगममा दुई दशकभन्दा बढी काम गरिसकेका उनी २०४९ सालमा सरकारले हटाउँदा १०औं तहका कर्पोरेट डाइरेक्टर थिए ।

अहिले वायुसेवा निगमको नियमित सेवामा उनी अवकाश पाएपछि प्रवेश गरेका कर्मचारी मात्रै कार्यरत छन् । किनभने, निगममा ३० वर्ष सेवा गरिसकेपछि वा ५८ वर्ष उमेर पुगेका कर्मचारी नियमित अवकाशमा जान्छन् । तर, श्रेष्ठले निगमबाट अवकाश पाएको नै ३४ वर्ष पुगिसकेको छ ।

त्यसपछि उनी परामर्शदाताका रूपमा सक्रिय थिए । उनले सन् २००० मा ‘नेप्लिज एभिएसन एन्ड टुरिज्म’ शीर्षकको किताब लेखेका थिए । केही समयअघि सम्म पनि उनले नेपाल नागरिक उड्डयन प्राधिकरणको क्षमता विकास कार्यक्रममा परामर्शदाताका रूपमा काम गरेका थिए ।

उनले निगमलाई अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक ठूला जहाज (बोइङ) खरिद गर्न प्रतिवेदन तयार गरेका थिए । उनी बोइङ खरिद योजनामा सहभागी थिए । यो कम्तीमा साढे चार दशकअघिको कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?