News Summary
Generated by OK AI. Editorially reviewed.- क्लाउडफ्लेयरले वेबसाइटहरूमा आउने नक्कली एआई रोबोटहरू पत्ता लगाउन 'प्रिकर्सर' नामक नयाँ सुरक्षा प्रणाली सार्वजनिक गरेको छ ।
- यो प्रविधिले प्रयोगकर्ताको माउस चलाउने गति, टाइप गर्ने शैली र स्क्रोल गर्ने तरिकाको विश्लेषण गर्दै मान्छे वा रोबोट छुट्याउँछ ।
- कम्पनीका सिटिओ डेन नेखटले भनेका छन्, 'रोबोटहरूले माउस चलाउँदा एकदमै सिधा, चिल्लो र आवश्यकता भन्दा बढी सटिक तरिकाले चलाउँछन्, जसले गर्दा तिनीहरू झट्टै चिनिन्छन् ।'
३१ असार, काठमाडौं । क्लाउडफ्लेयर कम्पनीले वेबसाइटहरूमा आउने नक्कली सफ्टवेयर वा एआई रोबोटहरूलाई डिटेक्ट गर्न ‘प्रिकर्सर’ ल्याएको छ । यो सिस्टम हाल क्लाउडफ्लेयरका सबै ग्राहकका लागि भन्दा पनि ‘इन्टरप्राइज बट म्यानेजमेन्ट’ प्ल्यानमा रहेका ग्राहकहरूका लागि मात्र उपलब्ध छ ।
यसको मुख्य उद्देश्य हामीले वेबसाइट खोल्दा आउने पजल (क्याप्चा) घटाउनु रहेको छ । त्यो भनेको यसअघि आउने फोटोहरू छान्ने वा कोड राख्ने खेल ‘क्याप्चा’ कम देखिने गरी वेबसाइट चलाउन सकिनेछ ।
लगइन गर्दा वा केही किन्ने/चलाउने बेला ‘रोबोट हो कि होइन’ भनेर चेक गर्ने पुराना तरिकाहरू भन्दा यो फरक छ । प्रिकर्सरले प्रयोगकर्ताको वेबसाइटमा भइरहेको गतिविधिमाथि लगातार निगरानी गर्छ । प्रयोगकर्ता साँच्चैको मान्छे हो कि कुनै रोबोट हो भनेर थाहा पाउन यसले भूमिका खेल्छ ।
यसले मान्छेलाई कसरी चिन्छ ?
यसले प्रयोगकर्ताको चलाउने शैलीलाई हेर्छ । वेबसाइट चलाउँदा गरिने विभिन्न क्रियाकलापहरूलाई हेरेर मान्छे पहिचान गर्छ ।
जस्तै – माउस चलाउने तरिका, पेज तल-माथि सार्ने गति (स्क्रोल गर्ने तरिका), टाइप गर्ने स्पीड, कपि-पेस्ट गर्ने शैली, स्क्रिनमा पेज खुला छ कि छैन भन्ने कुरा, र बक्सहरूमा क्लिक गर्दा किबोर्ड कसरी चलिरहेको छ भन्नेजस्ता कुरा यसले नोट गर्छ ।
यसरी सबै ‘प्याटर्न एनालाइसिस’ गर्दैगर्दा क्लाउडफ्लेयरले भने प्रयोगकर्ताको कुनै पनि डाटा रेकर्ड नगर्ने दाबी गरेको छ । कम्पनीका अनुसार, के टाइप भयो, म्यासेज वा पासवर्ड के छ भन्नेजस्ता अक्षरहरू रेकर्ड गर्दैन ।
यसले त प्रयोगकर्ताको टाइप गर्ने गति र तरिकालाई मात्र हेर्छ । यसअघिको क्याप्चाले लगइन गर्ने बेला मात्रै रोबोट भए/नभएको चेक गर्थ्यो भने यसले वेबसाइट चलाउन्जेलको सबै व्यवहारलाई हेरेर मूल्यांकन गर्छ ।
यसरी नयाँ तरिकाको प्रविधि ल्याउनुमा कम्पनीले अचेल एआई रोबोटहरु चलाख हुँदै गएकाले नयाँ विकल्प आवश्यक रहेको बताएको छ । तिनीहरूले सक्कली ब्राउजर प्रयोग गर्न सक्छन् र कहिलेकाहीँ त साधारण क्याप्चा पजललाई समेत झुक्याइदिन्छन् । त्यसैले प्रिकर्सर यस्तै रोबोटहरूलाई रोक्न बनाइएको कम्पनीले जनाएको छ ।
क्लाउडफ्लेयरको भनाइ अनुसार कुनै पनि रोबोटले लगातार लामो समय मान्छेको जस्तै नाटक गर्न सक्दैन । किनभने मान्छेले माउस चलाउँदा एकदमै सिधा वा नापेर चलाउँदैन ।
‘हामी कहिले अलमलिन्छौँ, बटन भन्दा अलि पर माउस पुर्याउँछौँ, दिशा बदल्छौँ र हाम्रो स्पीड पनि एकनासको हुँदैन,’ कम्पनीका सिटिओ डेन नेखटले भनेका छन्, ‘तर रोबोटहरूले माउस चलाउँदा भने एकदमै सिधा, चिल्लो र आवश्यकता भन्दा बढी सटिक तरिकाले चलाउँछन्, जसले गर्दा तिनीहरू झट्टै चिनिन्छन् ।’
योग्य वेबसाइट सञ्चालकहरूले आफ्नो क्लाउडफ्लेयर ड्यासबोर्डमा गएर यसलाई सजिलै अन गर्न सक्छन् । यो सक्रिय हुनासाथ, वेबसाइटका पेजहरू खुल्ने क्रममा त्यसमा एउटा सानो कोड स्वतः थपिन्छ, जसका लागि वेबसाइट सञ्चालकले छुट्टै केही गर्नुपर्दैन ।
यो कोडले प्रयोगकर्ताका सबै गतिविधिका संकेतहरू केलाउँछ र क्लाउडफ्लेयरको मुख्य सर्भरमा पठाउनु अघि थोरै समयका लागि सेभ गरेर राख्छ । यसकै आधारमा क्लाउडफ्लेयरले सेक्युरिटी रेटिङ तय गर्ने र सुरक्षा सम्बन्धी निर्णयहरू गर्छ ।
प्रतिक्रिया 4