+
लियोनल मेसी :

सेमिफाइनलमा दुई असिस्ट गरेका मेसी गोल्डेन बुट होडमा शीर्ष स्थानमा

२०८३ असार  ३२ गते ३:२३ २०८३ असार ३२ गते ३:२३

फ्रान्सका किलियन एमबाप्पेलाई असिस्ट संख्यामा पछि लियोनल मेसी पार्दै सर्वाधिक गोलकर्ताको सुचीमा अगाडि बढेका हुन् । 

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्जेन्टिनाका कप्तान लियोनल मेसीले इंग्ल्यान्डविरुद्ध दुई असिस्ट गर्दै फिफा विश्वकप २०२६ को गोल्डेन बुट होडमा शीर्ष स्थान हासिल गरेका छन् ।
  • सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा प्रवेश गरेको छ ।
  • मेसीले हालसम्म विश्वकपमा सर्वाधिक ३३ खेल खेल्दै २१ गोल र ११ असिस्टको नयाँ कीर्तिमान कायम गरेका छन् ।

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी फिफा विश्वकप २०२६ अन्तर्गत सेमिफाइनलमा इंग्ल्यान्ड विरुद्ध दुई असिस्ट गर्दै गोल्डेन बुट होडमा शीर्ष स्थानमा उक्लेका छन् ।

अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार विहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्ड विरुद्ध २-१ को पुनरागमन जित हात पार्दा मेसीले दुवै गोलमा असिस्ट गरेका थिए ।

अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनल पुर्‍याउँदै उपाधि रक्षा अभियानमा कायम राख्दै महत्वपुर्ण भुमिका खेलेका मेसी व्यक्तिगत अवार्डतर्फ पनि मुख्य दाबेदार बनेका छन् ।

इंग्ल्यान्ड विरुद्ध गोल गर्न असफल रहेपनि मेसीले दुई असिस्ट गरेपछि फ्रान्सका किलियन एमबाप्पेलाई असिस्ट संख्यामा पछि पार्दै सर्वाधिक गोलकर्ताको सुचीमा अगाडि बढेका हुन् ।

मेसी र एमबाप्पेले ७ खेल खेल्दै समान ८ गोल गरेका छन्  । तर मेसीको असिस्ट ४ पुग्दा एमबाप्पेको असिस्ट ३ छ ।

एमबाप्पेको कप्तानीमा रहेको फ्रान्स सेमिफाइनलमा स्पेनसँग पराजित हुँदै विश्वकपबाट बाहिरिसकेको छ । अब एमबाप्पेको फ्रान्सले तेस्रो स्थानको लागि इंग्ल्यान्डसँग खेल्नेछ । एक खेल खेल्न बाँकी रहेकोले एमबाप्पेको पनि गोल्डेन बुटको सम्भावना भने बाँकी नै छ ।

एमबाप्पे बाहेक मेसीलाई चुनौती दिने अन्य खेलाडीहरु मेसीको छेउछाउ छैनन् ।

यस्तै ७ गोल गर्दै तेस्रो स्थानमा रहेका नर्वेका एर्लिङ हालान्ड पनि विश्वकपबाट बाहिरिसकेका छन् । सर्वाधिक गोल गर्ने सूचीमा इंग्ल्यान्डका दुई खेलाडी थिए । कप्तान ह्यारी केन र जुड बेलिङघमले समान ६ गोल गरेका थिए । तर सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि दुवैको गोल्डेन बुट दाबेदारी समाप्त भएको छ । यस्तै ५ गवल गरेका फ्रान्सका उसमान डेम्बेले पनि यो होडबाट बाहिरिसकेका छन् ।

फाइनल पुगेको स्पेनका मिकेल ओजाबायाल ५ गोलका साथ सर्वाधिक गोल गर्नेमा सातौं स्थानमा छ । अब फाइनलमा ५ गोल गरेमात्र ओजाबायालले मेसीलाई भेट्नेछन् । अन्यथा मेसी सर्वाधिक गोलकर्ता बन्ने सम्भावना बडी छ । यदि मेसीलाई अन्य खेलाडीले पछि पार्न नसकेमा मेसीले फिफा विश्वकपमा पहिलो पटक सर्वाधिक गोलकर्ताको रुपमा गोल्डेन बुट अवार्ड जित्नेछन् ।

सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेका मेसीले दुई पटक गोल्डेन बल अवार्ड भने जितिसके । सन् २०१४ मा अर्जेन्टिनालाई फाइनल पुर्‍याउँदा उत्कृष्ट खेलाडी बन्दै मेसीले पहिलो पटक गोल्डेन बल अवार्ड जितेका थिए भने सन् २०२२ मा अर्जेन्टिनाले उपाधि जित्दा मेसीले दोस्रो पटक उक्त अवार्ड जिते । मेसी दुई पटक गोल्डेन बल अवार्ड जित्ने पहिलो र एक मात्र खेलाडी हुन् ।

यस विश्वकपमा अर्जेन्टिनालाई फाइनल पुर्‍याएपछि मेसी फेरी गोल्डेन बलको दाबेदारमा पनि अघि आएका छन् । अर्जेन्टिनालाई ६४ वर्षपछि लगातार दोस्रो पटक उपाधि जिताउने लक्ष्यमा मेसी छन् ।

३९ वर्षको उमेरमा पनि उस्तै जोश र लयका साथ खेलिरहेका मेसीले यस विश्वकपमा नयाँ नयाँ कीर्तिमान बनाउने क्रम जारी राखेका छन् । उनले विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने र नकबउट चरणमा लगातार ६ खेलमा गोल गर्ने कीर्तिमान पनि बनाए ।

यस्तै मेसीले यसै विश्वकपमा सर्वाधिक खेल खेल्ने, सर्वाधिक गोल गर्ने, सर्वाधिक असिस्ट गर्ने लगायत दर्जनौँ कीर्तिमान बनाएका छन् । उनले विश्वकपमा सर्वाधिक ३३ खेल खेलेका छन् भने सर्वाधिक २१ गोल गरेका छन् । यस्तै विश्वकपमा मेसीले नै सर्वाधिक ११ असिस्ट गरेका छन् ।

 

गोल्डेन बुट फिफा विश्वकप २०२६ लियोनल मेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय