News Summary
Generated by OK AI. Editorially reviewed.- दिल्ली हाई कोर्टले जलवायु अभियन्ता सोनम वाङचुकको स्वास्थ्य अवस्थाको दैनिक जाँच गर्न र आवश्यक उपचार गराउन केन्द्र सरकारलाई निर्देश दिएको छ।
- मुख्य न्यायाधीश देवेन्द्रकुमार उपाध्याय र जस्टिस तेजस करियाको इजलासले हरेक नागरिकको ज्यान मूल्यवान् रहेको भन्दै सरकारलाई यस्तो निर्देशन दिएको हो।
- अधिवक्ता राकेश कुमार सैनीको जनहित याचिकामा सुनुवाइ गर्दै अदालतले सोलिसिटर जनरल तुषार मेहताको प्रतिबद्धतापछि मुद्दाको टुङ्गो लगाएको छ।
दिल्ली हाई कोर्टले बिहीबार केन्द्र सरकारलाई जलवायु अभियन्ता सोनम वाङचुकको स्वास्थ्य हरेक दिन डाक्टरहरूबाट जाँच गराउन निर्देशन दिएको छ ।
वाङचुकको बिग्रँदो स्वास्थ्यलाई ध्यानमा राखेर आवश्यक उपचार गराउन पनि अदालतले सरकारलाई भनेको छ।
हाई कोर्टका मुख्य न्यायाधीश देवेन्द्रकुमार उपाध्याय र जस्टिस तेजस करियाको इजलासले यो निर्देशन दिएको हो।
वाङचुकको तत्काल उपचारको माग गर्दै दर्ता भएको जनहित याचिकामाथि सुनुवाइ गर्दै इजलासले यस्तो बताएको हो।
सुनुवाइका क्रममा अदालतले भन्यो, ‘हरेक नागरिकको ज्यान मूल्यवान् छ र त्यसलाई जोगाउन सरकारले हरसम्भव प्रयास गर्नुपर्छ।’
केन्द्र सरकारका तर्फबाट उपस्थित सोलिसिटर जनरल तुषार मेहताले अदालतलाई आश्वस्त पारेका छन्। उनले सरकारी डाक्टर र मेडिकल विशेषज्ञहरूले वाङचुकको स्वास्थ्य निरन्तर जाँच गरिरहेको बताए।
डाक्टरहरूको रिपोर्टका आधारमा आवश्यक परेको खण्डमा उचित उपचार गरिने प्रतिबद्धता उनले जनाए।
यसपछि अदालतले भन्यो, ‘हामी सोलिसिटर जनरलको अडानको प्रशंसा गर्छौँ र वाङचुकको स्वास्थ्य हरेक दिन डाक्टरहरूद्वारा जाँच गर्न तथा आवश्यक उपचार उपलब्ध गराउन निर्देशन दिन्छौँ।’
यो निर्देशनसँगै अदालतले अधिवक्ता राकेश कुमार सैनीले दर्ता गरेको जनहित याचिकाको टुङ्गो लगाएको छ।
सैनीले वाङचुकलाई तत्काल अस्पताल लैजान र आवश्यक उपचार गराउन केन्द्र तथा दिल्ली सरकारलाई निर्देशन दिन माग गरेका थिए।
उनले आवश्यक परेमा वाङचुकलाई जबरजस्ती खाना खुवाउन र उनको ज्यान तथा स्वास्थ्यको सुरक्षा सुनिश्चित गर्न पनि माग गरेका थिए।
वाङचुकले जुन २८ देखि भोक हड्ताल सुरु गरेका हुन्। उनको स्वास्थ्य अवस्थालाई लिएर सिनियर जनरल फिजिसियन डाक्टर सतीश लाम्बाले १९औँ दिनको हेल्थ बुलेटिन जारी गरेका छन्।
अनशनको १९औँ दिनसम्म वाङचुकको तौल ९ किलोग्रामभन्दा बढी घटिसकेको डाक्टरले बताएका छन् । यद्यपि, उनको शरीरमा पानीको मात्रा भने अहिले सामान्य रहेको छ।
प्रतिक्रिया 4