News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को फाइनल खेलमा स्लोभेनियाका स्लाभ्को भिन्चिच मुख्य रेफ्रीका रूपमा खटिने भएका छन् ।
- अमेरिकाको न्यू जर्सी रंगशालामा हुने स्पेन र अर्जेन्टिनाबिचको फाइनल खेलका लागि भिन्चिचलाई मुख्य रेफ्रीको जिम्मेवारी दिइएको हो ।
- भिन्चिचले ‘विश्वको सबैभन्दा ठूलो खेलकुद महोत्सवमा आफ्नो देश स्लोभेनियाको प्रतिनिधित्व गर्न पाउँदा मलाई निकै गर्व लागेको छ’ भनी बताएका छन् ।
१ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलको मुख्य रेफ्रीको जिम्मेवारीमा स्लोभेनियाका स्लाभ्को भिन्चिच रहने भएका छन् । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रंगशालामा हुने स्पेन र अर्जेन्टिनाबिचको फाइनल खेलको रेफ्री कमान्ड भिन्चिचले सम्हाल्ने तय भएको हो ।
स्लोभेनियाका ४६ वर्षीय भिन्चिचलाई मुख्य रेफ्रीको जिम्मेवारी दिएको फिफाका प्रमुख रेफ्री अधिकृत एवं फिफा रेफ्री कमिटीका अध्यक्ष पियरलुइजी कोलिनाले जानकारी दिए । यो नियुक्तिसँगै भिन्चिच फिफा विश्वकपको फाइनल खेलाउने इतिहासकै २३औँ रेफ्री र स्लोभेनियाका पहिलो नागरिक बनेका छन् ।
‘सबै कुरालाई शब्दमा व्यक्त गर्न निकै गाह्रो छ, तर विश्वको सबैभन्दा ठूलो खेलकुद महोत्सवमा आफ्नो देश स्लोभेनियाको प्रतिनिधित्व गर्न पाउँदा मलाई निकै गर्व लागेको छ,’ भिन्चिचले भने, ‘मेरो टोली पनि धेरै गर्व गरिरहेको छ र हामी मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछौँ ।’
भिन्चिच युरोपेली र अन्तर्राष्ट्रिय फुटबलका धेरै महत्वपूर्ण खेलहरू खेलाइसकेका अनुभवी रेफ्री हुन् । उनले युइएफए युरो २०२० मा खेलहरू खेलाएका थिए भने सन् २०२२ को युइएफए युरोपा लिग अन्तर्गत आइनट्राक्ट फ्राङ्कफर्ट र रेन्जर्स एफसीबीचको फाइनल खेलको कमाण्ड सम्हालेका थिए ।
उनले बोरुसिया डर्टमन्ड र रियल मड्रिडबीचको युईएफए च्याम्पियन्स लिगको फाइनल पनि खेलाएका थिए । साथै, युइएफए युरो २०२४ मा फ्रान्स र स्पेनबीचको सेमिफाइनल खेल पनि उनैले खेलाएका थिए ।
गत वर्ष संयुक्त राज्य अमेरिकामा आयोजना भएको फिफा क्लब विश्वकप २०२५ मा पनि उनले खेलहरू खेलाएका थिए । स्लोभेनियाली रेफ्री भिन्चिचको यो दोस्रो फिफा विश्वकप हो ।
यसअघि उनले कतारमा आयोजित फिफा विश्वकप २०२२ मा दुईवटा खेल खेलाएका थिए । यस जारी विश्वकपमा भिन्चिचले समूह चरणमा ब्राजिल र मोरक्को तथा जोर्डन र अल्जेरिया तथा राउन्ड अफ ३२ मा मेक्सिको र इक्वेडरबिचको खेल खेलाइसकेका छन् ।
आइतबारको फाइनल खेलमा टोमाज क्लान्च्निक र एन्ड्राज कोभाचिचले सहायक रेफ्रीको भूमिका निभाउनेछन् भने अधाम मखादमेह चौथो अफिसियल र मोहम्मद अल–कलाफ रिजर्भ सहायक रेफ्री तोकिएका छन् ।
जर्मनीका बास्टियन ड्यान्कर्टले भीएआरको भूमिका निभाउनेछन् भने उनलाई कोलम्बियाका निकोलस गाल्लोले सहायक र कतारका खमिस अल मार्रीले सपोर्ट भीएआरका रूपमा सहयोग गर्नेछन् ।
प्रतिक्रिया 4