News Summary
Generated by OK AI. Editorially reviewed.- अर्जेन्टिनाका खेलाडीहरूले इंग्ल्यान्डविरुद्धको खेलपछि फकल्याण्ड टापुको समर्थनमा ब्यानर प्रदर्शन गरेपछि फिफाले छानबिन सुरु गरेको छ ।
- बेलायती प्रधानमन्त्रीको कार्यालयले उक्त घटनालाई गम्भीर रूपमा लिँदै फिफालाई कारबाहीका लागि माग गरेको छ ।
- फिफाले राजनीतिक सन्देश प्रदर्शन गरेको आरोपमा अर्जेन्टिनी फुटबल संघलाई जरिवाना वा खेलाडीलाई प्रतिबन्ध लगाउन सक्ने सम्भावना रहेको छ ।
१ साउन, काठमाडौं । इंग्ल्यान्ड विरुद्धको विश्वकप सेमिफाइनल खेलपछि अर्जेन्टिनाका खेलाडीहरूले आफ्नो देशले दाबी गर्दै आएको फकल्याण्ड टापुको समर्थनमा ब्यानर प्रदर्शन गरेपछि कारबाही गर्नुपर्ने आवाज उठेको छ ।
साविक विश्व विजेता अर्जेन्टिनाले एट्लान्टामा भएको खेलमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डमाथि २–१ को जित निकाल्दै फाइनलमा पुगेको थियो । तर, खेल सकिएपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमा उत्सव मनाउने क्रममा ‘फकल्यान्ड अर्जेन्टिनाको हो’ लेखिएको ब्यानर देखाएका थिए ।
दक्षिण–पश्चिम एटलान्टिक महासागरमा अवस्थित बेलायती विदेशी भूमि फकल्यान्ड टापु बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि सार्वभौमिकताको विवादमा रहेको छ ।
बेलायती प्रधानमन्त्रीको कार्यालयले फिफालाई यो विषयमा छानबिन गर्न माग गरेको छ । ‘विश्वकप हाम्रो नहोला । तर फकल्याण्ड टापु पक्कै पनि हाम्रै हो । फल्कल्याण्ड्सप्रतिको हाम्रो प्रतिबद्धता कहिल्यै डगमगाउने छैन,’ प्रधानमन्त्रीका आधिकारिक प्रवक्ताले भने ।
घटनाको विषयमा फिफाले अनुसन्धान सुरु गरेको छ । ‘फिफाको स्वतन्त्र अनुशासन समितिले हाल म्याच रिपोर्टहरूको मूल्याङ्कन गरिरहेको छ र फिफा अनुशासन संहिताको आधारमा सम्भावित थप कदमहरू चाल्नुअघि सम्बन्धित परिस्थितिहरूमाथि विचार गरिरहेको छ’ फिफाका प्रवक्ताले भने ।
प्रदर्शन गर्न निषेध गर्ने अनुशासन उल्लङ्घन गरेको आरोपमा फिफाले अर्जेन्टिनाका खेलाडी र त्यहाँको फुटबल संघमाथि कारबाही गर्न सक्छ । फिफाले राजनीतिक सन्देश प्रदर्शन गरेबापत सामान्यतया ५ हजारदेखि २० हजार अमेरिकी डलरसम्म जरिवाना गर्ने गर्दछ ।
खेलाडी वा समर्थकहरूले नियम उल्लंघन गर्दा फिफाले प्रतियोगिता सकिएको केही हप्तापछि मात्र अनुशासनिक कदम चाल्ने गर्छ । त्यसैले आगामी केही दिनमै ठूलो निर्णय आउने सम्भावना कमै छ ।
यद्यपि यो घटना विश्वकप जस्तो ठूलो मञ्च र दुई दाबेदार देशहरूबीचको खेलकै क्रममा भएकाले फिफाले यसलाई अझ गम्भीर रूपमा लिन सक्छ । तर अर्जेन्टिनाले फाइनल खेल्न नपाउने जस्तो कुनै सम्भावना भने छैन ।
बेलायतको लिबरल डेमोक्र्याट दलका नेता एड डेभीले भने उक्त ब्यानर बोक्ने अर्जेन्टिनी खेलाडीहरूलाई आइतबार स्पेनविरुद्ध हुने फाइनल खेल खेल्न प्रतिबन्ध लगाउन फिफा अध्यक्ष गियानी इन्फान्टिनोलाई खुला पत्रमार्फत माग गरेका छन् ।
यसअघि सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि अर्जेन्टिनाका खेलाडीहरूले यस्तै ब्यानर प्रदर्शन गर्दा फिफाले अर्जेन्टिनी फुटबल संघलाई २० हजार पाउण्ड जरिवाना तिराएको थियो । त्यसबेला फिफाले यस कार्यलाई राजनीतिक गतिविधि र अनुशासनहीनताको नियम उल्लङ्घन भएको बताएको थियो ।
यसअघि पनि यस्तै राजनीतिक सन्देश लेखिएको ब्यानर प्रदर्शन गर्ने खेलाडीलाई फिफाले प्रतिबन्ध लगाएको इतिहास छ । सन् २०१२ को ओलम्पिक खेलकुदमा कास्य पदक जितेपछि दक्षिण कोरियाका मिडफिल्डर पार्क जोङ–वूले कोरियाली भाषामा ‘डोक्दो हाम्रो भूमि हो’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।
जापानले समेत दाबी गर्ने गरेको यस टापुको विषयमा राजनीतिक सन्देश फैलाएको आरोपमा फिफाले पार्कलाई दुई खेलको प्रतिबन्ध लगाएको थियो । जसका कारण उनले दुईवटा विश्वकप छनोट खेल गुमाउनुपरेको थियो ।
–बीबीसीबाट
प्रतिक्रिया 4