News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको पाख्रीबास नगरपालिकाले सम्झौता बमोजिम गुणस्तरीय बिरुवा समयमै उपलब्ध नगराएको भन्दै १४ लाख रुपैयाँको फलफूल बिरुवा आपूर्ति गर्ने ठेक्का रद्ध गरेको छ ।
- प्रमुख प्रशासकीय अधिकृत सुनिल पौडेलले पटक–पटक ताकेता गर्दा पनि आपूर्तिकर्ताले सम्झौता अनुसार काम नगरेकाले सम्झौता रद्ध गर्नुपरेको जानकारी दिए।
- आपूर्तिकर्ता हरिओम हाइटेक कृषि नर्सरी फार्मले भने नगरपालिकाले बिरुवा वितरणमा ढिलाइ गर्दा बिरुवा ओइलाएको दाबी गर्दै आफूले भुक्तानी पाउनुपर्ने माग राखेको छ ।
धनकुटा, १ साउन । धनकुटाको पाख्रीबास नगरपालिकाले सम्झौता अनुसार गुणस्तरीय फलफूलका बिरुवा समयमै उपलब्ध नभएको भन्दै किसानलाई वितरण गर्ने करिब १४ लाख रुपैयाँको बिरुवा आपूर्ति ठेक्का रद्ध गरेको छ ।
संघीय सरकारको ७५ लाख रुपैयाँ विशेष अनुदानअन्तर्गत १० वटै वडामा बगैंचा विस्तार कार्यक्रम सञ्चालन गरिएको थियो । नगरपालिकाले रौतहटमा रहेको हरिओम हाइटेक कृषि नर्सरी फार्मसँग ३८ हजार बिरुवा आपूर्ति गर्ने सम्झौता गरेको भए पनि आवश्यक गुणस्तर र परिमाणका बिरुवा समयमै नआएपछि सम्झौता रद्ध गरिएको जनाएको छ ।
आपूर्तिकर्तालाई पटक–पटक मौखिक तथा लिखित रुपमा ताकेता गरिए पनि सम्झौताअनुसार काम नभएकाले कार्यक्रम रद्ध गर्नुपरेको पाख्रिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल पौडेलले जानकारी दिए । यसअघि ल्याइएका बिरुवासमेत तीन दिनभित्र कार्यालय परिसरबाट फिर्ता लैजान कम्पनीलाई निर्देशन दिइएको उनको भनाइ छ ।
नगरपालिकाले २८ लाख रुपैयाँको बोलपत्र प्रक्रियाबाट करसहित १४ लाख रुपैयाँमा आँप, लिची, केरा, अम्बा र मेवाका बिरुवा खरिद गर्ने सम्झौता गरेको थियो । नगरपालिकाकी कृषि शाखा प्रमुख इन्द्रमाया तामाङले सम्झौताका सर्त पूरा नभएकाले गुणस्तरहीन बिरुवाको भुक्तानी नगर्ने निर्णय गरिएको बताइन् ।
यता, हरिओम हाइटेक कृषि नर्सरी फार्मले भने मापदण्डअनुसारका स्वस्थ बिरुवा आपूर्ति गरिसकेको दाबी गर्दै नगरपालिकाले समयमै वितरण नगर्दा बिरुवा ओइलिएको र त्यसको जिम्मेवारी आफूलाई दिन नमिल्ने जनाएको छ ।
हरिओम हाइटेक कृषि नर्सरी फार्म रौतहटका सञ्चालक हरिओम बानियाँले सम्झौतामा भए अनुसारको बिरुवा नगरपालिकालाई उपलब्ध गराइसकेकाले सबै भुक्तानी दिनुपर्ने माग गरेका छन् ।
उनले नगरपालिकाले बिरुवा समयमा वितरण नगर्दा ओइलाएर मर्न थालेको र बिरुवा मर्नुमा आफ्नो गल्ती नभएको भन्दै बिरुवाको भुक्तानी दाबी गरेका हुन् । बानियाले नगरपालिकाको कृषि शाखाको गल्तीका कारण आफूले ठूलो नोक्सानी बेहोर्नु परेको गुनासो गरे ।
फलफूलका बिरुवाका लागि एक हजार एक सय किसानले आवेदन दिएका थिए । विशेष अनुदानअन्तर्गत प्लास्टिक टनेल र पोखरी निर्माण कार्यक्रम सम्पन्न भइसकेका छन् भने एभोकाडो, कागती, सुन्तला र जुनारका बिरुवा वितरण कार्यक्रम सञ्चालन भइसकेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
प्रतिक्रिया 4