News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद्ले एक रुपैयाँको सिक्कामा नेपालको नक्सा हटाएर मुस्ताङको घार गुम्बा राख्ने नेपाल राष्ट्र बैंकको प्रस्तावलाई परिमार्जन गर्न भन्दै फिर्ता पठाइदिएको छ।
- सरकारले नयाँ डिजाइनमा नेपालको नक्सा पनि समावेश गरेर पुनः प्रस्ताव ल्याउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
- राष्ट्र बैंकले टकमरी खर्च घटाउन र तौल कम गर्न एक रुपैयाँको सिक्का सेतो धातुमा बनाउने तथा १० रुपैयाँको सिक्कामा भूर्ति देवल राख्ने प्रस्ताव गरेको थियो।
४ साउन, काठमाडौं । एक रुपैयाँको सिक्कामा नेपालको नक्सा हटाएर मुस्ताङको घार गुम्बाको तस्वीर राख्ने गरी नेपाल राष्ट्र बैंकले स्वीकृतिका लागि पठाएको डिजाइनलाई मन्त्रिपरिषद्ले फिर्ता गरिदिएको छ ।
नेपाल राष्ट्र बैंकले एक रुपैयाँको सिक्कामा नेपालको सबैभन्दा पुरानो गुम्बा मुस्ताङको घार गुम्बा राख्ने गरी नेपाल राष्ट्र बैंकको नोट तथा सिक्का डिजाइन समितिले नयाँ डिजाइन तयार पारेको थियो ।
पद्मसम्भवले स्थापना गरेको १४ सय वर्ष पुरानो घार गुम्बा नेपालको सबैभन्दा पुरानो गुम्बा मानिन्छ ।
डिजाइन समितिले तयार पारेको डिजाइन राष्ट्र बैंकको सञ्चालक समितिले स्वीकृत गरी मन्त्रिपरिषद्मा पठाएको थियो ।
नेपाल राष्ट्र बैंक ऐनमा कुनै पनि नोट वा सिक्काको डिजाइन स्वीकृत गर्दा वा डिजाइन परिवर्तन गर्दा त्यसलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराउनुपर्ने व्यवस्था छ ।
बैंकले १ रुपैयाँ र १० रुपैयाँको सिक्काको डिजाइन मात्रै होइन, टकमरी गर्ने धातु र वजन पनि परिमार्जन गर्न नेपाल राष्ट्र बैंकले मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । यसअघि १ रुपैयाँको सिक्कामा नेपालको नक्सा थियो । त्यसको ठाउँमा घार गुम्बाको तस्वीर राख्ने राष्ट्र बैंकको प्रस्ताव अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद् पुगेको थियो ।
तर, मन्त्रिपरिषद्ले सो डिजाइनमा नेपालको नक्सा पनि राखेर नयाँ डिजाइन सिफारिस गर्न भन्दै फिर्ता पठाइदिएको नेपाल राष्ट्र बैंक स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
‘नेपालमा धेरै प्रकारका नोट तथा सिक्काहरू प्रचलनमा छन् । ती सबैमा नेपालको नक्सा छैन । यसअघि १ रुपैयाँको सिक्कामा नेपालको नक्सा थियो । त्यसको डिजाइन परिवर्तन गर्नुपर्ने, टकमरी गर्ने धातु पनि परिवर्तन गर्नुपर्ने तथा तौल पनि परिवर्तन गर्नुपर्ने देखियो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘सबै नोट–सिक्कामा नेपालको नक्सा नै किन चाहियो र ? भनेर डिजाइन समितिले १ रुपैयाँको नोटमा घारगुम्बाको तस्वीर राखेर पठाएको थियो, तर मन्त्रिपरिषद्ले डिजाइन परिमार्जन गर्न भनेर फिर्ता पठाएको रहेछ ।’
नेपाल राष्ट्र बैंकलाई एक रुपैयाँको सिक्काको प्रस्तावित डिजाइन परिमार्जन गरेर नयाँ प्रस्ताव बनाएर ल्याउन भनिएको प्रधानमन्त्री कार्यालय स्रोतले पनि पुष्टि गर्यो ।
‘मुख्य सचिवले शुक्रबार अर्थ सचिवलाई फोन गरेर नयाँ डिजाइनमा नेपालको नक्सासमेत समावेश गरेर ल्याउन भन्नुभएको छ, सम्भवतः अर्थ सचिवले त्यसको जानकारी नेपाल राष्ट्र बैंकलाई पनि गराउनु भयो होला ।’
एक रुपैयाँको सिक्कामा नेपालको नक्सा राख्ने वा हटाउने कार्यको पछाडि राजनीतिक उद्देश्य नभएको प्रधानमन्त्री कार्यालय तथा नेपाल राष्ट्र बैंकका दुवैतर्फका स्रोतले दाबी गरे ।
‘नेपाल राष्ट्र बैंकले नियमित प्रक्रियाअनुरूप सिक्काको नयाँ डिजाइन स्वीकृतिका लागि पठाएको हो, खासगरी नेपालका नोट तथा सिक्कामा बुद्ध धर्मसम्बन्धी सम्पदाहरू नभएको कारणले नेपालकै पुरानो घार गुम्बाको तस्वीर राखौं भन्ने उद्देश्य हो । यसले घार गुम्बाको पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्ने अपेक्षा छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
सिक्काको डिजाइन परिमार्जनको तयारी यो सरकार बन्नुभन्दा निकै पहिलेदेखि सुरु भएको पनि स्रोतको दाबी छ । सरकारको निर्देशन वा समझदारीमा चुच्चे नक्सा नराख्नकै लागि सिक्काको डिजाइन परिवर्तन गर्न खोजिएको भन्ने कुरा गलत भएको राष्ट्र बैंक स्रोतको दाबी छ ।
‘मन्त्रिपरिषद्ले पारित नगरी डिजाइन परिवर्तन गर्न पाइँदैन, त्यसो हुँदा सरकारले भने अनुसार कसरी डिजाइन परिवर्तन गर्ने भनेर छलफल हुँदै छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
नेपालले निशान छापमा लिम्पियाधुरा सहितको चुच्चे नक्सा राख्न २०७७ सालमा संविधान संशोधन गरेको थियो । त्यसपछि छापिएका १ र २ रुपैयाँको सिक्का र १०० रुपैयाँको नोटमा चुच्चे नक्सा समावेश छन् ।
एक रुपैयाँको सिक्का अब सेतो हुने
अहिले एक रुपैयाँको सिक्का पहेँलो धातुले बनेको हुन्छ । तर, राष्ट्र बैंकले प्रस्ताव गरेको डिजाइनअनुरूपको सिक्का भने सेतो धातुबाट बनाइने स्रोतको दाबी छ ।
१ रुपैयाँको सिक्का टकमरी गर्न २ रुपैयाँभन्दा बढी खर्च हुने भएपछि खर्च कम गर्न तथा तौल पनि घटाउन सेतो धातुमा सिक्का उत्पादनको तयारी गरिएको स्रोतको दाबी छ ।
के हुन्छ सिक्का वा नोट डिजाइनको प्रक्रिया ?
नेपाल राष्ट्र बैंक नोट तथा सिक्का नियमावली २०५९ अनुसार बैंकले निष्काशन गर्ने विभिन्न दरका नोट तथा सिक्काहरूको डिजाइन तयार गरी समिति समक्ष सिफारिस पेस गर्न एउटा डिजाइन समिति हुन्छ ।
सो समितिको अध्यक्षमा गभर्नर हुन्छन् भने दुवै डेपुटी गभर्नर, नेपाल प्रज्ञा प्रतिष्ठानको भाषाविद्, पुरातत्व विभागको महानिर्देशक, वन्यजन्तु विभागको महानिर्देशक वा राजपत्रांकित प्रथम श्रेणीको अधिकारी, त्रिभुवन विश्वविद्यालयको इतिहासको प्राध्यापक र राष्ट्र बैंकले तोकेको नेपाली नोट तथा सिक्का विशेषज्ञ सदस्य हुन्छन् । राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागको प्रमुख समितिको सदस्य–सचिव हुन्छ ।
यो समितिलाई राष्ट्र बैंकले निष्काशन गर्ने विभिन्न दरका नयाँ नोट तथा सिक्काहरूको डिजाइन छनौट गर्ने, चलनचल्तीमा रहेका नोट तथा सिक्काहरूको डिजाइनमा केही परिवर्तन गर्न आवश्यक भएमा त्यस्तो परिवर्तन गर्ने, नोट तथा सिक्कामा रहने प्राकृतिक सम्पदा, मन्दिर, देवीदेवता, पशुपन्छी आदिको चित्र चयन गर्ने, नोट तथा सिक्काको आकार र नोट लम्बाइ, चौडाइ निर्धारण गर्ने लगायत अधिकार हुन्छ ।
समितिले नयाँ डिजाइन गरेका वा डिजाइन परिवर्तन गरेपछि त्यसलाई नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा पेस गरिन्छ । सञ्चालक समितिले त्यसलाई स्वीकृत गर्यो भने अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेस गरिन्छ ।
मन्त्रिपरिषद्ले स्वीकृत नगरी कुनै पनि नयाँ वा पुरानोको डिजाइन परिवर्तन गरिएको नोट वा सिक्का प्रचलनमा ल्याउन नपाउने व्यवस्था नेपाल राष्ट्र बैंक ऐनको दफा ५२ मा छ ।
सो दफाको उपदफा ७ मा बैंकले नेपाल सरकारको स्वीकृति लिई जुनसुकै मूल्य, नाप, तौल, शुद्धता, डिजाइन र धातुको वा मिश्रण भएको धातुको सिक्का चलन चल्तीको निमित्त वा विशेष अवसरमा टक्सारमा टक्मरी गराई चलन चल्तीमा ल्याउन सक्नेछ भन्ने व्यवस्था छ ।
के छ सिक्कामा राख्न लागिएको घार गुम्बाको महत्त्व ?
घार गुम्बा मुस्ताङ जिल्लाको उपल्लो मुस्ताङमा रहेको प्राचीन गुम्बा हो । विश्वकै सबैभन्दा पुराना बौद्ध गुम्बामध्ये एक मानिने यो गुम्बा नेपालको सबैभन्दा पुरानो रहेको दाबी गरिन्छ ।

आठौं शताब्दीमा निर्मित यो गुम्बालाई लो घेकर गुम्बा पनि भनिन्छ । गुरु रिम्पोचे (पद्मसम्भव) यहाँ आउँदा स्थापना गरिएको भनिएको यो सम्पदा तिब्बतकै सबैभन्दा पुरानो मानिने साम्या गुम्बाभन्दा पनि अघि स्थापना भएको मानिन्छ ।
यसै गुम्बाको नामबाट मुस्ताङको एउटा स्थानीय तहको नाम नै ‘लो घेकर दामोदरकुन्ड गाउँपालिका’ राखिएको छ । ‘यसअघि नेपालको नोट तथा सिक्कामा पशुपतिनाथ, जानकी मन्दिरलगायतको फोटो मात्रै रहेकोमा बौद्ध धर्मको सम्मानस्वरुप पनि घार गुम्बाको फोटो राख्न जोखिएको हो,’ राष्ट्र बैंक स्रोतले बतायो ।
१० रुपैयाँको सिक्कामा दैलेखको भूर्ति देवल
नेपाल राष्ट्र बैंक स्रोतअनुसार १ रुपैयाँ मात्रै होइन, १० रुपैयाँको सिक्काको डिजाइन पनि परिवर्तनको प्रस्ताव गरिएको छ ।
१० रुपैयाँको सिक्का अहिल्यै टकमरी गरिहाल्ने योजना नभए पनि भविष्यमा टकमरी गर्नुपर्दाका लागि भनेर डिजाइन परिवर्तनको प्रस्ताव गरिएको स्रोतको दाबी छ ।

१० रुपैयाँको सिक्कामा भने दैलेखको भूर्ति देवलको चित्र राख्ने प्रस्ताव गरिएको हो ।
दैलेखको नारायण नगरपालिका ७ भूर्तिमा रहेका २२ देवललाई भूर्तिदेवल भनिन्छ । यी देवललाई विश्व सम्पदामा सूचीकरणका लागि सन् २००८ जनवरी ३० देखि ‘क’ वर्गमा राखिएको छ ।
यी देवलहरू चौधौं र पन्ध्रौं शताब्दीतिरको कर्णाली प्रदेशका खस मल्ल राज्यकालीन समयमा निर्माण गरिएका हुन् । विगतमा यहाँ २५ वटा देवल रहेका भए पनि उचित संरक्षणको अभावमा हाल २२ मात्र बाँकी छन् । सदरमुकामबाट २० मिनेटको पैदल दूरी र सवारी साधनमा १० मिनेटमा भूर्ती देवल पुग्न सकिन्छ ।
प्रतिक्रिया 4