News Summary
Generated by OK AI. Editorially reviewed.- बैतडीको डिलाशैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा दुई महिनादेखि विद्युत् आपूर्ति बन्द हुँदा प्रसूति सेवा सञ्चालन गर्न निकै समस्या भइरहेको छ।
- अनमी शान्ति पन्तले विगत दुई वर्षदेखि पर्याप्त उज्यालोको अभावमा टर्च बालेर तथा मोबाइलको फ्ल्यासको भरमा सुरक्षित प्रसूति सेवा दिँदै आएकी छिन्।
- ग्रामीण लघु जलविद्युत् आयोजना बिग्रिएपछि स्वास्थ्य संस्थामा जडान गरिएका पेरी लाइट पनि प्रयोगविहीन भएका छन् भने स्थानीय सरकारले वैकल्पिक व्यवस्था गर्न सकेको छैन।
४ साउन, बैतडी । राति करिब ११ बजे । डिलाशैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीको प्रसूति कक्ष अन्धकार छ। एउटा टर्चको मधुरो उज्यालोमा अनमी शान्ति पन्त प्रसूति सेवा दिइरहेकी छिन्।
बाहिर गाउँ निदाइरहेको छ, तर त्यो सानो कोठाबाट एउटा नयाँ जीवनलाई संसार टेकाउन प्रयासरत छिन् शान्ति । विगत दुई वर्षदेखि उनको दैनिकी यसरी नै चलिरहेको छ ।
एउटी आमा प्रसव पीडाले छट्पटाइरहेकी थिइन्। परिवारका सदस्य ढोका बाहिर चिन्तित मुद्रामा उभिएका थिए। प्रसूति कक्षभित्र भने शान्ति पन्तको ध्यान एउटा मात्रै कुरामा केन्द्रित थियो– आमा र शिशु दुवैलाई सुरक्षित राख्ने ।
केही मिनेटपछि नवजात शिशुको पहिलो रुवाइ सुनियो। त्यो आवाजले कोठा भित्रको अन्धकारलाई क्षणभरका लागि जिते जस्तो लाग्यो।
तर, यस्तो दृश्य कुनै एक रातको मात्र होइन। यही स्वास्थ्य चौकीमा कार्यरत अनमी शान्तिले विगत दुई वर्षदेखि यस्तै कठिन परिस्थितिमा सुत्केरी सेवा दिँदै आएकी छिन्।
स्वास्थ्य चौकीमा नियमित विद्युत् छैन । यसअघि दैनिक पाँच घण्टा आउने गरेको ग्रामीण लघु जलविद्युत आयोजना दुई महिनादेखि पूर्ण रूपमा ठप्प छ । जसका कारण गाउँभरि नै विद्युत् अनयमित भइरहेको छ ।

‘ग्रामीण लघु जलविद्युत् आयोजना हुँदा पनि दैनिक ५ घण्टा मात्रै आउने बिजुली अहिले अहिले पूर्ण रूपमा बन्द रहेको छ । जसका कारण स्वस्थ्य चौकीमा प्रसूति सेवा दिन निकै समस्या परेको छ,’ स्वास्थ्य अनमी शान्तिले भनिन् ।
उनका अनुसार राति कुनै पनि बेला सुत्केरी आएपछि उपचार सुरु गर्नुअघि सबैभन्दा पहिले टर्चको अवस्था हेर्नुपर्छ। ‘अपराह्नको समयमा नै बत्ती चार्ज गरेर तयारी अवस्थामा राख्नु पर्छ,’ उनी भन्छिन्।
स्वास्थ्य चौकीमा एउटा मात्रै टर्च छ। त्यो पनि चार्ज गर्न नजिकै विद्युत् नभएकाले करिब आधा घण्टा पैदल हिँडेर लैजानु पर्छ।
कति पटक टर्चको ब्याट्री कमजोर भएकै अवस्थामा प्रसूति गराउनु परेको अनुभव उनीसँग छ । ‘स्वास्थ्य संस्था भनेको चौबीसै घण्टा चल्ने ठाउँ हो, तर यहाँ रात पर्नासाथ अन्धकारमै काम गर्नुपर्छ,’ उनी भन्छिन्।
यति कठिनाइका बाबजुद पनि शान्ति पन्त आफ्नो जिम्मेवारीबाट पछि हटेकी छैनन्। ‘हामीलाई डर लाग्छ। तर सुत्केरीलाई फर्काउन त मिल्दैन नि। जस्तो अवस्था भए पनि सेवा दिनैपर्छ,’ उनी भन्छिन्।
शान्तिले सहयोगको अपेक्षा भने छोडेकी छैनन्। ‘हामी धेरै सुविधा मागिरहेका छैनौँ। राति एउटा सुरक्षित उज्यालो मात्र चाहिएको हो,’ उनले भनिन् ।

विगत दुई वर्षको अवधिमा उक्त स्वास्थ्य चौकीमा करिब ४० जनाले बच्चालाई जन्म दिएका छन् । यीमध्ये करिब २० जना महिलालाई राति टर्चको भरमा सुत्केरी गराएको अनमी शान्ति बताउँछिन् ।
स्वास्थ्य चौकीमा एक मत्रै टर्च रहेको छ । सो टर्च पनि चार्ज नटिक्ने र मोबाइलको फ्ल्यास बालेर सेवा दिनु परेको उनको गुनासो छ ।
‘लामो सुत्केरी बेथा लागेका गर्भवतीलाई घन्टौंसम्म अँध्यारो कोठामै राख्नुपर्ने अवस्था छ । पूर्ण बेथा लागेको समयमा हामीले टर्च प्रयोग गर्छाैं,’ अनमी शान्तिले भनिन् ।
प्रसूती गराउनको लागि प्रयोग गरिने पेरी लाइट स्वास्थ्य संस्थामा उपलब्ध भए पनि विद्युत् अभावमा प्रयोगमा नआएको स्वास्थ्य चौकीले जनाएको छ ।
ग्रामीण लघु जलविद्युत्को लाइन मात्रै उपलब्ध भएपछि पेरी लाइट सेवा पनि २ महिनादेखि बन्द रहेको स्वास्थ्य चौकी इन्चार्ज महेश बोहराले बताए । ‘राष्ट्रिय प्रसारण लाइन छैन, अरू वैकल्पिक व्यवस्था पनि भएन । लघुको लाइन बिग्रिएको छ,’ स्वास्य चौकी इन्चार्ज बोहराले भने ।
विद्युत् अभावमा डिलाशैनीका अन्य स्वास्थ्य संस्थाहरूमा पनि समस्या रहेको जानकारी पाएको गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले बताए ।
‘यहाँ राष्ट्रिय प्रसारण लाइन आइपुगेको छैन । स्वास्थ्य संस्थाहरूमा आवश्यक सबै व्यवस्थापन गर्न सकिएको छ, तर विद्युतको नियमित आपूर्ति हुन सकेको छैन,’ अध्यक्ष जोशीले भने ।

प्रतिक्रिया 4