News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी दर्ताको हल्का चार्टर विमान एन–५५५–भीजी बैंकक र ढाका हुँदै मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
- विमानस्थल प्रमुख जगन्नाथ निरौलाका अनुसार चालक दलका सदस्यमात्र रहेको सो विमान बुधबार पाकिस्तानको लाहोर प्रस्थान गर्ने तालिका रहेको छ।
- नेपाल नागरिक उड्डयन प्राधिकरणबाट चार्टर उडानको अनुमति पाएको यस विमानको नेपाल आगमनको वास्तविक उद्देश्य भने हालसम्म खुलेको छैन।
५ साउन, पाेखरा । बैंकक र ढाका हुँदै अमेरिकी दर्ताको हल्का चार्टर विमान मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमान बुधबार पाकिस्तानको लाहोरका लागि उड्ने तालिका छ । विमानमा चालक दलका सदस्यबाहेक अन्य यात्रु नरहेको विमानस्थलले जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार अमेरिकी दर्ता नम्बर एन–५५५–भीजी भएको सिरस एसआर–२२ विमान बैंककबाट ढाका हुँदै पोखरा आएको हो । चालक दलका सदस्य आज राति पोखरामै बस्ने र भोलि लाहोर प्रस्थान गर्ने उनले जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सीएएएन–एफपी ६६३/२०२६ नम्बरबाट उक्त उडानका लागि अनुमति दिएको छ । अनुमति पत्रमा यो उडान चार्टर उडान भएको उल्लेख छ ।
विमान ओएसी एभिएसन प्रालिमार्फत सञ्चालन गरिएको हो भने यसको अधिकतम उडान तौल एक हजार ५४२ किलोग्राम छ । उडानको नेतृत्व क्याप्टेन याङ कुआङ यिङ ले गरिरहेका छन् ।
सिरस एसआर–२२ एकल इन्जिन भएको हल्का विमान हो । यस्तो विमान प्रायः निजी यात्रा, व्यावसायिक चार्टर, हवाई निरीक्षण, व्यवसायिक भ्रमण तथा विशेष प्रयोजनका उडानमा प्रयोग गरिन्छ । अमेरिकी दर्ता नम्बरको सुरुआतमा रहेको ‘एन’ ले विमान अमेरिकामा दर्ता भएको जनाउँछ ।
यद्यपि, यो विमान किन पोखरा आएको हो, यहाँ किन एक रात बस्दैछ र त्यसपछि लाहोर किन जाने भएको हो भन्नेबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।
विमानले पोखरामा कुनै यात्रु झारेको वा यहाँबाट यात्रु चढाएर लैजाने कार्यक्रम पनि नभएको विमानस्थल स्रोतले जनाएको छ ।
बैंकक-ढाका-पोखरा–लाहोर मार्गमा चालक दल मात्र बोकेर सञ्चालन गरिएको यो चार्टर उडानको वास्तविक उद्देश्य अझै खुल्न सकेको छैन । सम्बन्धित अपरेटर र सरोकारवाला निकायले पनि यसबारे कुनै थप विवरण सार्वजनिक गरेका छैनन् ।
प्रतिक्रिया 4