+
+
Shares

हिरासतमा रहेका चिनियाँ छुटाउन पूर्वएसएसपीले गरे ७२ लाखको डिल

६ रोपनी जग्गामा भव्य अफिस खडा गरेर चिनियाँको अवैध धन्दा

पक्राउ परेको कलाकार तथा पूर्वएसएसपीको समूहले हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाउन भन्दै मोटो रकम डिल गरेको पाइएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ साउन ६ गते २१:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अध्यागमन विभागको हिरासतमा रहेका नौ जना चिनियाँ नागरिकलाई छुटाउन ७२ लाख रुपैयाँको मोलमोलाइ गर्ने तीन जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा सशस्त्र प्रहरी बलका पूर्वएसएसपी गोपालकुमार गुरुङ, हास्य कलाकार नारदप्रसाद खतिवडा र विक्रमबहादुर थापा रहेका छन् ।
  • उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूले पेश्कीस्वरूप नौ लाख रुपैयाँ बुझिसकेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।

६ साउन, काठमाडौं । अध्यागमन विभाग कालिकास्थानको हिरासतमा रहेका ९ जना चिनियाँ नागरिकलाई छुटाउन लागिपरेका सशस्त्र प्रहरी बलका पूर्वएसएसपीदेखि कलाकारसम्म पक्राउ परेका छन् ।

नवलपरासी पश्चिम सुनवल नगरपालिका–७ घर भएका सशस्त्र प्रहरीका पूर्वएसएसपी ५९ वर्षीय गोपालकुमार गुरुङ, हास्य कलाकार सर्लाही लालबन्दी नगरपालिका–५ घर भएका ५२ वर्षीय नारदप्रसाद खतिवडा र उदयपुर कटारी नगरपालिका–८ सिरिसे घर भएका ३८ वर्षीय विक्रमबहादुर थापा पक्राउ परेका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापालाई कालिकास्थानबाट, गुरुङलाई जावलाखेलबाट र खतिवडालाई अनामनगरबाट काठमाडौं पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये थापा बैंकिङ कसुरका फरार अभियुक्तसमेत रहेको पाइएको छ । उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा १२ लाख ५५ हजार रुपैयाँ बराबरको बैंकिङको जाहेरी दर्ता भएको छ । पक्राउ परेका तीनै जनालाई परिसर काठमाडौं पठाएर थप अनुसन्धान भइरहेको छ ।

७२ लाखको डिल

पक्राउ परेको कलाकार तथा पूर्वएसएसपीको समूहले हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाउन भन्दै मोटो रकम डिल गरेको पाइएको छ ।

छुटाउनका लागि उनीहरूले चिनियाँसँग ७२ लाखको डिल गरेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोषकुमार खड्काले बताए । ७२ लाखको डिल भए पनि उनीहरूले अहिले भने पेश्की वापत ९ लाख रुपैयाँ बुझेको पाइएको छ ।

९ लाख रुपैयाँ बुझिसकेको र बाँकी रकम चिनियाँ नागरिक छुटेपछि दिने गरी सहमति भएको थियो । तर यहीबीचमा सूचना चुहिएपछि तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो । विभागले बरामद गरेका १५ थान राहदानी पनि फिर्ता गरिदिने आश्वासन उनीहरूले चिनियाँलाई दिएका थिए ।

चोभारमा भव्य अफिस

चिनियाँ विरुद्धको अपरेसन ललितपुरको धोबीघाटबाट सुरु भएको थियो । धोबीघाटमा अवैध रूपमा चिनियाँ नागरिक होस्टलमा बस्ने गरेको सूचना अध्यागमन विभागलाई आयो ।

त्यसपछि विभागको टोलीले सूक्ष्म रूपमा रेकी गर्ने र बुझ्ने काम गरेको थियो । होस्टलमा बस्ने भनिए पनि त्यो कुनै दर्तावाल होस्टल थिएन । त्यहाँ कुनै बोर्ड पनि राखिएको थिएन । केटाकेटीसँगै एउटै घरमा बस्ने गरेका होस्टल नभएको पनि अध्यागमनले निष्कर्ष निकालेर छापा हानेको थियो ।

त्यो घरमा केटाकेटी गरी २७ जना चिनियाँ नागरिक बस्थे । उनीहरू क्रिप्टोको कारोबारमा संलग्न भएको आशंका गरियो । उनीहरूमध्ये केही पर्यटक भिसा र केही भने बिजनेस भिसामा नेपाल आएको भेटियो । भिसा भ्यालिड भएकाले उनीहरू छुटे ।

तर, यही समूहमाथि निगरानी बढाउने क्रममा यसको नेक्सस चोभारमा देखियो । चोभारमा करिब ६ रोपनी जग्गामा भव्य अफिस खडा गरेर सुरक्षागार्डसमेत राखेर काम गरेको भेटियो ।

‘सुरुमा हामीले वन्यजन्तुको आखेटोपहारको अवैध कारोबार गर्ने गरेको आशंका गरेका थियौं । पछि छापा हान्दा भने अर्कै भेटियो,’ विभागका एक अधिकारीले भने ।

अवैध रूपमा चिनियाँले भव्य अफिस खडा गरेको सूचना पाएपछि विभागको टोली चोभार पुगेको थियो । ड्रागन ब्रिज नामको अफिस सर्च गर्दा गरेर ट्रेजर्स नेपालको बोर्ड राखेर अफिस सञ्चालन गरेको पत्ता लाग्यो ।

ड्रागन ब्रिज इन्टरनेसनल नामको अफिस भने नेपाली नागरिक पवन लामा थिङको नाममा गत १० असारमा मात्रै कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता भएको भेटिएको छ । यही कम्पनीमार्फत चिनियाँले चोभारमा अफिस खडा गरी अवैध धन्दा सञ्चालन गरेको भेटिएको छ ।

भव्य सजावटमा सुरक्षागार्ड समेत राखेर अफिस सञ्चालन गरिएको थियो । जहाँ विभागको टोली पुग्दा करिब ६०/७० चिनियाँ, करिब ५० नेपाली महिला र सुरक्षागार्ड समेत थिए ।

त्यहाँ रहेकामध्ये ६० जना चिनियाँको भ्यालिड पर्यटन भिसा रहेको भेटिएपछि अध्यागमन विभागले उनीहरूलाई छाड्यो । भ्यालिड भिसा नभएका बाँकी ९ जना भने पक्राउ परे । ३० जुनमा छापा हानेर प्रहरीले ९ जनालाई समातेको थियो ।

त्यहाँबाट आयुर्वेदिक औषधि भन्दै बेच्ने गरेको पाइएको छ । तर कतै दर्ता नरहेकाले औषधिका नाममा अरू नै केही बेचेको हो कि भन्ने आशंका पनि प्रहरीको  छ । करिब १२ हजार देखि २० हजार नेपाली मूल्यमा यसरी ती सामानहरू चिनियाँले बेच्ने गरेका थिए ।

उनीहरू हिमालयन एअर लाइन्सको विमान चार्टर गरेर नेपाल आएको समेत पत्ता लागेको छ ।

अध्यागमनले हिरासतमा राखेर अनुसन्धान गरेपछि चिनियाँ नागरिक बन्दीप्रत्यक्षीकरणको रिट लिएर अदालतसमेत पुगेका थिए । जसमध्ये तीन जनालाई भने छाड्न अदालतले आदेशसमेत दिएको थियो ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?