+
+
Shares

गोविन्द केसीलाई तोसिमाको सन्देश- अनशन तोडेर प्रधानमन्त्रीसँग छलफल गर्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले डा. गोविन्द केसीलाई आमरण अनशन तोडेर प्रधानमन्त्रीसँग सिधै छलफल गर्न आग्रह गरेकी छन्।
  • डा. कार्कीले डा. केसीका जायज मागहरू सम्बोधन गर्न प्रधानमन्त्री र शिक्षामन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिइन्।
  • उनले सुदूरपश्चिमको गेटामा चिकित्सा विश्वविद्यालय स्थापना र अस्पताल सञ्चालनको विषयमा डा. केसीको विरोध नरहेको स्पष्ट पारिन्।

८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा नेतृ डा. तोसिमा कार्कीले चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीलाई आमरण अनशन तोडेर प्रधानमन्त्रीसँग सिधै छलफल गर्न आग्रह गरेकी छन्।

डा. कार्कीले सामाजिक सञ्जालमा एक अपिल सार्वजनिक गर्दै वर्तमान सरकार जनताको सेवक भएकाले विगतका सरकारलाई जस्तो ज्यानको बाजी राखेर खबरदारी गरिरहनु नपर्ने बताएकी हुन्। उनले डा. केसीका जायज मागहरू तत्काल सम्बोधन गर्न आफूले शिक्षामन्त्री र प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराइसकेको समेत जानकारी दिएकी छन्।

‘सर, तपाईं जस्तो निष्ठावान् सत्याग्रही मानिसले आफ्नो ज्यानको बाजी राखेर यो सरकारलाई खबरदारी गर्न आमरण अनसन बस्नै पर्दैन, यो सरकार तपाईंकै हो,’ कार्कीले डा. केसीलाई सन्देश दिँदै लेखेकी छन्, ‘तपाईं सिधै आएर प्रधानमन्त्रीसँग छलफल गर्न सक्नुहुन्छ, सिधै शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई सुझाव दिन सक्नुहुन्छ।’

विगतका सरकारहरूले शरीर गलेपछि, आन्दोलन चर्किएपछि र जनदबाब बढेपछि मात्र माग सम्बोधन गर्ने गरेको स्मरण गर्दै उनले अहिलेको सरकारले त्यो अवस्था कुर्न नहुने भन्दै तत्काल माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

‘गेटा विश्वविद्यालयको विरोध गरेको भन्ने भ्रम हो’

सांसद कार्कीले सुदूरपश्चिमको गेटास्थित सहिद दशरथ चन्द विश्वविद्यालयको विषयलाई लिएर डा. केसीको बदनाम गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएकी छन्। डा. केसीले विश्वविद्यालयको विरोध नगरेको स्पष्ट पार्दै उनले विगतका उपलब्धिहरूलाई तोडमोड गरेर सत्याग्रहीको त्यागमाथि अपमान नगर्न आग्रह गरेकी छन्।

‘डा. केसीले पटक–पटक भनिरहनुभएको छ– मैले गेटामा दशरथ चन्द विश्वविद्यालयको विरोध गरेको होइन। सुदूरपश्चिमको गेटामा ३०० शय्याको अस्पताल चाहियो, एमबीबीएस चाँडै सुरु गर्नुपर्‍यो भन्ने नै म हुँ,’ कार्कीले प्रस्ट्याएकी छन्। सुदूरपश्चिममा तत्कालै विशिष्ट सेवासहितको अस्पताल र चिकित्सा शिक्षा सुरु गर्न विगतका सरकारलाई बाध्य पार्ने काम डा. केसीकै सत्याग्रहले सम्भव भएको उनले स्मरण गराएकी छन्।

६०० शय्याका लागि संरचना बनिसक्दा पनि विगतका सरकारहरूको अलमलले ३०० शय्याको अस्पतालसमेत सञ्चालन हुन नसकेको र डा. केसीले त्यही ढिलासुस्ती अब नहोस् भन्न खोजेको कार्कीको भनाइ छ।

आफूले पनि अघिल्लो कार्यकालमा गेटामा तत्काल अस्पताल सुरु गर्नुपर्ने र विधेयक टुङ्गो लगाउन संसद्‌मा आवाज उठाएको बताउँदै उनले गेटालाई देशकै एकमात्र डेडिकेटेड चिकित्सा विश्वविद्यालयको रूपमा अघि बढाइनु स्वागतयोग्य उपलब्धि भएको उल्लेख गरेकी छन्।

अन्त्यमा उनले नेपाली जनताको हित केन्द्रित अभियान तथा चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि डा. केसीको अभियानमा आफ्नो सधैँ साथ र समर्थन रहेको र रहिरहने प्रतिबद्धतासमेत जनाएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?