+
+
Shares

नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको चालक संस्कार आवश्यक छ : मदनकृष्ण श्रेष्ठ

सडक अनुशासन र ट्राफिक व्यवस्थापनका विषयमा बोल्दै श्रेष्ठले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको ‘चालक संस्कार’ आवश्यक रहेको औँल्याए।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताएका छन्।
  • श्रेष्ठले प्रहरीको जागिर निकै चुनौतीपूर्ण र अपजसी भएको भन्दै प्रहरीको उपस्थितिले मात्र नागरिकले सुरक्षित महसुस गर्ने बताए।
  • उनले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको चालक संस्कार र ट्राफिक अनुशासनको आवश्यकता रहेकोमा जोड दिए।

८ साउन, काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताएका छन् ।

शुक्रबार मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रहरीको भूमिका र सडक अनुशासनका विविध पक्षमा आफ्नो धारणा राखेका हुन्।

प्रहरीको कार्यप्रकृतिबारे चर्चा गर्दै श्रेष्ठले यसलाई निकै ‘अपजसी’ र कठिन जागिरका रूपमा चित्रण गरे।

‘प्रहरीको जागिर निकै चुनौतीपूर्ण र अपजसी हुन्छ। बिहानदेखि ट्राफिक व्यवस्थापन गर्नुपर्छ, आवश्यक पर्दा कडाइ पनि गर्नुपर्छ, फेरि प्रहरी सबैको मित्र भन्ने भावनासहित मुस्कुराएर सेवा पनि गर्नुपर्छ। यो साँच्चै कठिन जिम्मेवारी हो,’ श्रेष्ठले कार्यक्रममा भने ।

आफ्नै देशमा प्रहरीको उपस्थितिले मात्रै नागरिकले सुरक्षित महसुस गर्ने उनको तर्क छ। २०३२ सालमा भारतको लखनउ भ्रमण गर्दा स्थानीयबाट ठगिनुपरेको व्यक्तिगत अनुभव सुनाउँदै उनले थपे, ‘प्रहरी भएकै कारण हामी आफ्नै देशमा सुरक्षित महसुस गर्छौं। विदेश जाँदा ठगी र विभिन्न समस्याको सामना गर्नुपर्छ। धेरै वर्षअघि लखनउ जाँदा रिक्सा चालकदेखि पसलसम्म धेरै ठाउँमा म ठगिएको थिएँ। त्यसले आफ्नै देशमा प्रहरीको उपस्थितिको महत्त्व अझ बढी महसुस गरायो।’

सडक अनुशासन र ट्राफिक व्यवस्थापनका विषयमा बोल्दै श्रेष्ठले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको ‘चालक संस्कार’ आवश्यक रहेको औँल्याए।

विदेशमा चालकहरूले अरूलाई प्राथमिकता दिने संस्कार रहेको उल्लेख गर्दै उनले नेपालमा पनि लेन अनुशासन, गतिको पालना र बत्ती (लाइट) को सही प्रयोगबारे थप शिक्षा दिनुपर्नेमा जोड दिए। प्रहरीले चालेका सकारात्मक कदमहरूलाई जनताले पूर्ण रूपमा साथ दिएको उनको ठम्याइ छ।

‘ट्राफिक व्यवस्थापनका सन्दर्भमा ‘पहिले तिमी’ भन्ने संस्कार विकास गर्न आवश्यक छ। विदेशमा सवारी चालकले बत्ती बालेर अर्को सवारीलाई पहिले जान संकेत गर्छन्, तर हाम्रोमा प्रायः आफू पहिले जान खोज्ने प्रवृत्ति देखिन्छ,’ सडक संस्कारबारे प्रस्ट्याउँदै उनले थपे, ‘यस्तो ट्राफिक संस्कार विस्तारै सिकाउँदै लैजानुपर्छ। सही लेनको प्रयोग, गतिअनुसार सवारी चलाउने नियम र ट्राफिक अनुशासनबारे पनि निरन्तर जनचेतना आवश्यक छ।’

प्रहरीले प्रभावकारी रूपमा सम्झाउँदा धेरै नागरिकले नियम पालना गरेका उदाहरण दिँदै उनले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने र अनावश्यक हर्न बजाउने प्रवृत्ति घटेको स्मरण गराए। ट्राफिक सुधारका लागि प्रहरीसँगै नागरिकको सचेतना र सहकार्य पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ।

यस्ता सुधारका कार्यहरूमा जनचेतना फैलाउन कलाकारहरूको पनि महत्त्वपूर्ण भूमिका रहने भन्दै वरिष्ठ कलाकार श्रेष्ठले आगामी दिनमा पनि चेतनामूलक कार्यहरूमा आफ्नो सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?