News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षामन्त्री सस्मित पोखरेलले अनसनरत डा. गोविन्द केसीका मागहरूबारे अनौपचारिक छलफल सुरु भएको जानकारी गराउनुभएको छ ।
- मन्त्री पोखरेलले विगतमा डा. केसीको अभियानमा आफू पनि सहभागी रहेको स्मरण गर्दै चिकित्सा शिक्षा सुधारमा उहाँको भूमिकाको प्रशंसा गर्नुभयो ।
- चिकित्सा शिक्षा आयोग र मेडिकल कलेजहरूको नियमन लगायतका महत्वपूर्ण विषयमा मन्त्रालयले लिनुपर्ने निर्णयबारे चौतर्फी चासो बढेको छ ।
८ साउन, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अनसनरत डा. गोविन्द केसीका मागबारे छलफल सुरु गरेको बताएका छन् ।
मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले भने, ‘गोविन्द केसीसँग अनौपचारिक छलफल सुरु भएको छ । उहाँको माग के हो कुरा भइ रहेको छ । ध्यानाकर्षण भएको छ ।’
विगतमा आफू डा. केसीको अभियानमा जोडिएको स्मरण पनि उनले गरे ।
‘म उहाको अभियानमा जोडिएर काम गरेको हुँ । चिकित्सा शिक्षा सुधारमा उहालाई जति धन्यवाद दिए पनि पुग्दैन,’ मन्त्री पोखरेलले भने ।
८ वर्षअघि सामाजिक सञ्जालमा एउटा वाक्य निकै चर्चित बनेको थियो ।
त्यो हो– डा. केसी जति लड्छन्, जो–जोसँग लड्छन्, म सधैं उनको साथमा हुन्छु ।
त्यसबेला यो लेख्ने व्यक्ति शिक्षामन्त्री पोखरेल थिए ।
पोखरेल पनि डा. केसीका मागप्रति सहानुभूति राख्ने नेतामध्ये पर्छन् ।
अहिले डा. केसीले उठाएका मागमध्ये धेरै शिक्षा मन्त्रालयसँग प्रत्यक्ष सम्बन्धित छन् ।
चिकित्सा शिक्षा आयोगलाई स्वतन्त्र र प्रभावकारी बनाउने, चिकित्सा शिक्षा ऐनको पूर्ण कार्यान्वयन गर्ने, निजी मेडिकल कलेजहरूको मनपरी रोक्ने लगायतका मागमा अन्तिम निर्णय गर्ने जिम्मेवारी अहिले उनै पोखरेलको मन्त्रालयमाथि छ ।
त्यसैले सामाजिक सञ्जालमा अहिले प्रश्न उब्जिएको छ– त्यसबेला ‘जहिल्यै साथमा’ भन्ने मन्त्री आज केसीको मागसँगै छन् कि मन्त्रालयको निर्णयसँग ?
प्रतिक्रिया 4