+
+
Shares

सीमामा ड्रोन र फेस रिकोनाइज सहित निगरानी गर्दैछौं : गृहमन्त्री गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउन बोर्डर आउट पोस्ट (बिओपी)मा पूर्वाधार निर्माण सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।
  • सीमावर्ती नाकामा कार्यरत प्रहरी जीर्ण भवन र चुहिने छानामुनि बसेर काम गर्न बाध्य रहेको भन्दै मन्त्री गुरुङले समस्या समाधानका लागि बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो ।
  • सीमा सुरक्षा तथा अपराध नियन्त्रणका लागि ड्रोनबाट निगरानी गर्ने र नाकाहरूमा फेस रिकोग्निसनसहितको सीसीटिभी प्रणाली जडान गरिने उहाँले बताउनुभयो ।

८ साउन, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउन बोर्डर आउट पोस्ट (बिओपी)मा पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले अधिकांश सीमावर्ती नाकामा प्रहरी जस्तापाताले छाएका टहरा, जीर्ण भवन र चुहिने छानामुनि बसेर रातभर ड्युटी गर्न बाध्य रहेको उल्लेख गरे ।

साथै, पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा रहेको उनको भनाइ छ । सीमा सुरक्षा तथा सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणको लागि ड्रोनमार्फत निगरानी तथा सीमा नाकामा फेस रिकोग्निसनसहितको सीसीटिभी प्रणाली जडान गरिने बताए ।

‘धेरै जस्तो सीमावर्ती नाकाहरूमा प्रहरी बस्नको लागि टहरा, जस्ता, भत्किनै लागेको बिल्डिङ, चुहिने छाना छ । अनि प्रहरीले रातभरी ड्युटि गर्नुपर्ने अवस्था छ । यस्तो समस्या प्रहरीले भोगिरहेका छन् । ती समस्याहरू समाधान गर्नको लागि हामीले बल्ल बजेट पाएका छौं,’ उनले भने, ‘अस्तिसम्म हामीले पुरानै बजेटले काम गरिरहेका थियौं । विनियोजित बजेट कार्यान्वयन गर्ने चरणमा अहिले हामी पुगेका छौँ । त्यसकारण सीमा क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउनको लागि बोर्डर आउट पोस्ट (बिओपी)हरूमा पूर्वाधार निर्माण गर्ने योजनाहरू यसमा छ ।’

सरकारले चालु आर्थिक वर्षको बजेट विनियोजन गरेर कार्यान्वयनको चरणमा गइसकेको समेत उनले बताए । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको सुरक्षा सुनिश्चित गर्न सकिए उनीहरूले नागरिकको सुरक्षा अझ प्रभावकारी रूपमा गर्न सक्ने विश्वास व्यक्त उनले गरे ।

‘सीमा सुरक्षामा खटिएको जनशक्तिको सुरक्षाको जिम्मेवारी पनि मैमाथि परेको हुनाले उहाँहरूको सुरक्षा गर्न सकियो भने उहाँहरूले पनि नागरिकको सुरक्षा अझै प्रभावकारि तरिकाले गर्नसक्नुहुन्छ भन्ने मलाई लाग्छ । सीमा अवलोकनको क्रममा हामीले धेरै ठाउँहरूमा ओपन बोर्डरको कारण सीमावार अपराधिक क्रियाकलाप भइरहेको देख्यौं,’ उनले भने, ‘यता छेक्दा उता भाग्ने उता छेक्दा यता भाग्ने अवस्था छ । त्यसको लागि समेत उपलब्ध स्रोत र साधनको सदुपयोग गरेर काम गर्नको लागि निर्देशन दिएको छु । यस्ता क्षेत्रमा ड्रोनमार्फत निगरानी गर्न बजेट विनियोजन गरेका छौं, सीमा नाकामा सीसीटिभीको जडान गरेर फेस रिकोनाइज गर्नेगरी प्रविधिमार्फत सीमाको निगरानी गर्ने कार्यमा लागिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?