+
+
Shares

कुखुरे खोला पुल : एक वर्षमा निर्माण सम्पन्न हुनुपर्ने, ६ वर्षमा ६० प्रतिशत मात्रै काम

एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको पुल निर्माण कार्य सम्झौता भएको करिब ६ वर्ष बितिसक्दा पनि ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । पुल समयमै निर्माण नहुँदा नागरिकले सास्ती भोग्दै आएका छन् ।

अनिल खत्री अनिल खत्री
२०८३ साउन ९ गते ८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको इस्मा गाउँपालिका-५ स्थित कुखुरे खोलामा निर्माणाधीन पक्की पुल सम्झौताको छ वर्ष बितिसक्दा पनि ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।
  • निर्माण कार्यमा भएको ढिलाइका कारण स्थानीय बासिन्दा बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्न बाध्य भएका छन् ।
  • सडक पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीलाई काम छिटो सम्पन्न गर्न पटक-पटक ताकेता गरे पनि अपेक्षित प्रगति हुन सकेको छैन ।

९ साउन, गुल्मी ।  गुल्मी जिल्लाको इस्मा गाउँपालिका-५ स्थित कुखुरे खोलामा निर्माणाधीन पक्की पुल समयमै सम्पन्न हुन नसक्दा स्थानीय नागरिकले वर्षौंदेखि सास्ती खेपिरहेका छन् । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको पुल निर्माण कार्य सम्झौता भएको करिब ६ वर्ष बितिसक्दा पनि ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

पुल निर्माणमा भएको चरम ढिलाइका कारण विशेषगरी वर्षायाममा स्थानीयवासीले ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता कायमै छ । पुल निर्माण सम्पन्न नहुँदा इस्मा गाउँपालिका –५ र ६ का बासिन्दा मात्रै होइन, दैनिक रूपमा आवतजावत गर्ने सर्वसाधारण, किसान, विद्यार्थी तथा सवारी साधनसमेत प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

खोलामा पानीको बहाव बढ्ने बर्खायाममा जोखिम अझ बढ्ने गरेको स्थानीयको गुनासो छ । सडक पूर्वाधार विकास कार्यालय तम्घास, गुल्मीमार्फत निर्माण भइरहेको पुल निर्माणको जिम्मा अत्रेय–भुसाल–बस्नेत जेभी, काठमाडौंले लिएको हो ।

कार्यालयका सब–इन्जिनियर लेनिस देवका अनुसार पुलको लम्बाइ २५ मिटर रहेको छ भने यसको निर्माण लागत भ्याटबाहेक २ करोड ४३ लाख ३७ हजार ७०६ रुपैयाँ रहेको छ ।

पुल निर्माणका लागि २०७७ साल माघ २१ गते सम्झौता गरिएको थियो। सम्झौताअनुसार २०७८ साल माघ १७ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो ।

तर निर्धारित समयमा काम पूरा हुन नसकेपछि निर्माण कम्पनीलाई पटक–पटक म्याद थप गरिएको छ । कार्यालयका अनुसार हालसम्म तीन पटक म्याद थप भइसकेको छ भने पछिल्लो पटक २०८१ साल असोज ३० गतेसम्म निर्माण सम्पन्न गर्ने गरी समय थपिएको थियो ।

त्यस अवधिसमेत बितिसक्दा पुल अझै पूर्ण रूपमा तयार हुन सकेको छैन । पुलको अहिले ढलान गर्नका लागि काम भइरहेको छ । यहि साउनको अन्तिसम्म ढलानको काम सम्पन्न हुने सब–इन्जिनियर लेनिस देवले बताए ।

निर्माण कम्पनीले पछिल्लो समय पुलको ढलानको तयारी थालेको भए पनि कामको गति अझै अपेक्षाकृत सुस्त रहेको स्थानीयको भनाइ छ ।

स्थानीयवासीका अनुसार पुल नहुँदा सबैभन्दा बढी समस्या वर्षायाममा हुने गरेको छ । खोलामा पानी बढेपछि मानिसहरू जोखिम मोलेरै खोला तर्न बाध्य हुन्छन् ।

कतिपय अवस्थामा विद्यार्थी विद्यालय जान नसक्ने, बिरामीलाई अस्पताल लैजान कठिन हुने तथा दैनिक उपभोग्य सामग्री ल्याउनसमेत समस्या हुने गरेको उनीहरूको अनुभव छ ।

इस्मा गाउँपालिका-६ का स्थानीय होमबहादुर महतले पुल समयमै नबन्दा वर्षायाममा कुखुरे खोला आउ-जाउ निकै कठिन हुने गरेको बताए । उनका अनुसार कुखुरे खोला बजार ग्रामीण क्षेत्रका नागरिकको प्रमुख व्यापारिक केन्द्र भएकाले दैनिक आवश्यक सामग्री खरिदका लागि धेरै मानिस यही बाटो प्रयोग गर्छन् ।

तर पुल नहुँदा खोला तर्नु नै सबैभन्दा ठूलो चुनौती बनेको छ । पुल बनेपछि कृषक, व्यापारी र सर्वसाधारण सबैलाई सहज हुने उनको विश्वास छ ।

कुखुरे खोलाका अर्का स्थानीय हिरा जिसीले वर्षौंदेखि पुल निर्माण कार्य कहिले अलपत्र पर्ने, कहिले अत्यन्त सुस्त गतिमा अघि बढ्ने अवस्थाले स्थानीय निराश बनेको बताए । उनका अनुसार पुल निर्माणस्थल इस्मा गाउँपालिका-५ मा रहे पनि यसको प्रत्यक्ष लाभ वडा नम्बर-६ सहित आसपासका धेरै गाउँका नागरिकले पाउने भएकाले यसको महत्व अत्यधिक छ ।

निर्माण कम्पनीले लामो समयसम्म पर्याप्त जनशक्ति र उपकरण परिचालन नगर्दा काम ढिलो भएको हो । निर्माण कार्य बीच–बीचमा रोकिँदा नागरिकले सरकार र निर्माण व्यवसायीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

उनीहरुले पटक-पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि उल्लेखनीय सुधार हुन नसकेको गुनासो गर्दै आएका छन् । सडक पूर्वाधार विकास कार्यालयले भने निर्माण कार्यलाई छिटो सम्पन्न गराउन निर्माण कम्पनीलाई निरन्तर ताकेता गर्दै आएको जनाएको छ ।

कार्यालयका अनुसार हाल पुलको ढलानको तयारी भइरहेको र बाँकी काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ । विगतका अनुभवका आधारमा स्थानीयवासी भने अझै विश्वस्त हुन सकेका छैनन् ।

पटक-पटक म्याद थपिए पनि काम पूरा नभएकाले यसपटक पनि निर्धारित समयमा पुल सम्पन्न हुन्छ भन्नेमा उनीहरू आशावादी देखिँदैनन् । पुल जतिसक्दो छिटो सम्पन्न भए मात्रै वर्षौंदेखिको सास्ती अन्त्य हुनेछ र इस्मा–५ तथा ६ का हजारौं नागरिकले सुरक्षित र सहज आवतजावतको सुविधा पाउनेछन् ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?