News Summary
Generated by OK AI. Editorially reviewed.- युवा लेखक शिवराज शाहीको पहिलो कथासङ्ग्रह \'एक मान्ठ एक देवता\' काठमाडौंमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ।
११ साउन, काठमाडौं । युवा लेखक शिवराज शाहीको कथासङ्ग्रह ‘एक मान्ठ एक देवता’ लोकार्पण भएको छ । साहित्यकार नयनराज पाण्डे, पूर्वमन्त्री एवं लेखक माधव चौलागाईं, अभिनेत्री सुरक्षा पन्त र कथाकार शाहीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन् ।
पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार नयनराज पाण्डेले नयाँ पुस्ताका लेखकका कृतिमा कर्णालीको विषयवस्तुलाई गहन ढङ्गले समेटिएको बताए । उनले अहिलेका अब्बल र दुर्बल गुणको चर्चा गर्दै लेखक शिवराजमा ‘शिवराज-क’ र ‘शिवराज ख’ दुवै भएको बताए ।
उनले भने, ‘शिवराज-क’ का कथा बेजोड छन्, ‘शिवराज-ख’ का कथा अल्लारे छन् । खासमा शाही ‘शिवराज-क’ हुन् । किताब अब्बल छ ।’
लेखक एवं पूर्वमन्त्री माधव चौलागाईंले पुस्तकमा कर्णालीका कथा र वेदनालाई समेटिएको बताए । ‘कथाले कर्णालीको समाज मात्रै होइन, जीवनका मिहिन वस्तुहरूलाई उतारेको छ । यो कर्णालीको एउटा समाजशास्त्रीय दर्पण हो’ उनले भने ।

अभिनेत्री सुरक्षा पन्तले ११ वटै कथामा सिनेमा बनाउन सकिने बताइन् । उनले भनिन्, ‘यो किताब पढेपछि हरेक मान्ठभित्र देउता हुन्छ भन्ने बुझेँ । हरेक कथामा जीवनका रिलहरू घुमेका छन् । सबै कालजयी सिनेमाजस्ता छन् ।’
लेखक शाहीले कर्णालीका आमा र दिदीबहिनीका आवाजलाई समेटेर कथा लेखेको बताए ।
जाजरकोटका शाही बाह्रखरी कथा प्रतियोगिता २०८२ र चक्रपाणी चालिसे कथा प्रतियोगिता २०८१ का विजेता समेत हुन् । ‘एक मान्ठ एक देवता’ उनको पहिलो कथासङ्ग्रह हो ।
कथाअनुसारका चित्र र थिमअनुसारको कलर फन्टमा मुद्रण गरिएको कथासङ्ग्रहलाई बुकहिलले प्रकाशन गरेको हो ।
प्रतिक्रिया 4