News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा गणितीय विज्ञानको अनुसन्धान, नवप्रवर्तन तथा अन्तरविषयक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले गणितीय विज्ञान अनुसन्धान केन्द्र स्थापना गरिएको छ ।
- केन्द्रले कृत्रिम बुद्धिमत्ता, डाटा विज्ञान र गणितीय मोडलिङमार्फत वैज्ञानिक विकास, शैक्षिक उत्कृष्टता तथा व्यावहारिक प्रविधि हस्तान्तरणमा विशेष जोड दिने लक्ष्य लिएको छ ।
- अध्यक्ष डा. जीवन काफ्लेले अन्तरविषयक अनुसन्धानमार्फत राष्ट्रिय विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै ज्ञानमा आधारित अर्थतन्त्र निर्माणका लागि लगानी आवश्यक रहेको बताउनुभयो ।
११ साउन, काठमाडौं । नेपालमा गणितीय विज्ञानको अनुसन्धान, नवप्रवर्तन तथा अन्तरविषयक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले गणितीय विज्ञान अनुसन्धान केन्द्र स्थापना गरिएको छ।
केन्द्रको मुख्य उद्देश्य शुद्ध तथा अनुप्रयुक्त गणित, तथ्यांक विज्ञान, डाटा विज्ञान, बीमाङ्कीय विज्ञान, कम्प्युटेसनल विज्ञान, कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, वैज्ञानिक गणना, उच्च कार्यसम्पादन कम्प्युटिङ तथा गणितीय मोडलिङका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अनुसन्धान, शैक्षिक उत्कृष्टता, वैज्ञानिक नवप्रवर्तन र प्रविधि विकासलाई प्रवर्द्धन गर्नु रहेको छ।
केन्द्रले भूभौतिकीय मोडलिङ, वायु तथा जल प्रदूषण मोडलिङ, जैव–तरल मोडलिङ, जैव–गणित, फ्र्याक्सनल क्याल्कुलस, कम्प्युटेसनल सिमुलेसन, सङ्ख्यात्मक विधि तथा अन्य अन्तरविषयक अनुसन्धानका क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान सञ्चालन गर्ने जनाएको छ।
साथै अनुसन्धानबाट प्राप्त ज्ञान, प्रविधि, गणितीय मोडल तथा सफ्टवेयरलाई उद्योग, शैक्षिक संस्था तथा सरकारी एवं गैरसरकारी निकायसँग सहकार्य गरी व्यावहारिक प्रयोगमा ल्याउने, प्रविधि हस्तान्तरण गर्ने तथा समाजोपयोगी सेवामा रूपान्तरण गर्ने लक्ष्य केन्द्रले लिएको छ।
केन्द्रले विश्वविद्यालय, अनुसन्धान संस्था, पेशागत समाज, उद्योग तथा सरकारी निकायबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै अनुसन्धान क्षमता अभिवृद्धि, उच्चस्तरीय वैज्ञानिक प्रकाशन, प्रविधि विकास, युवा अनुसन्धानकर्ताको क्षमता अभिवृद्धि तथा वैज्ञानिक जनशक्ति उत्पादनमा विशेष जोड दिनेछ।
साथै गणित शिक्षा, अनुसन्धान संस्कृति, प्रमाणमा आधारित नीतिनिर्माण तथा विज्ञान–प्रविधिमा नेपालको योगदान अभिवृद्धि गर्न केन्द्रले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
केन्द्रका अध्यक्ष डा. जीवन काफ्लेले कृत्रिम बुद्धिमत्ता, डाटा विज्ञान, कम्प्युटेशनल विज्ञान र गणितीय मोडलिङको वर्तमान युगमा गणितीय विज्ञान आधुनिक विज्ञान तथा प्रविधिको आधारशिला भएको उल्लेख गर्दै शुद्ध गणित र अनुप्रयुक्त गणितबीचको सम्बन्धलाई थप सुदृढ गर्दै अन्तरविषयक अनुसन्धानमार्फत राष्ट्रिय विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
उनले गणितीय विज्ञानमा लगानी वृद्धि, अनुसन्धान पूर्वाधारको विकास तथा युवा अनुसन्धानकर्तालाई प्रोत्साहन गर्न सके नेपाल ज्ञानमा आधारित अर्थतन्त्र निर्माणतर्फ उल्लेखनीय रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
केन्द्रको कार्यसमितिमा अध्यक्षमा डा. जीवन काफ्ले, उपाध्यक्षमा पुष्प निधि गौतम, महासचिवमा डा. चुडामणि पोखरेल, सचिवमा शंकर परियार, कोषाध्यक्षमा विष्णुप्रसाद भण्डारी तथा सदस्यहरूमा डा. बेखा रत्न डंगोल, ईश्वर प्रसाद पौडेल, केदारनाथ छत्कुली र टुक बहादुर राना रहेका छन् ।
गणितीय विज्ञान अनुसन्धान केन्द्रमा हाल विभिन्न विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग आबद्ध करिब ४० जना अनुसन्धानकर्ता तथा अनुसन्धान विद्यार्थीहरू सक्रिय रूपमा संलग्न रहेका छन् ।
प्रतिक्रिया 4