+
+
Shares

सुनसरीमा तनाव : घर-पसलमा आगजनी, हतियार प्रहार र कुटपिट

प्रदर्शनकारीको समूहले देवानगञ्जमा तीन-चार वटा घरमा आगजनी गरेका छन् । केही पसलको सामग्री बाहिर निकालेर आगो लगाइदिएका छन् । बजारमा रहेका सवारी साधनमा समेत आगजनी भएको छ ।

हरि अधिकारी हरि अधिकारी
२०८३ साउन ११ गते २१:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगञ्जमा आइतबार प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शन सोमबार उग्र बनेको छ ।
  • प्रदर्शनकारीहरूले विभिन्न स्थानमा आगजनी, तोडफोड र भौतिक आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन कप्तानगञ्जमा नेपाली सेना परिचालन गरिएको छ ।
  • इनरुवा र पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा समेत प्रदर्शन फैलिएको छ भने प्रशासनले विभिन्न स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

११ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनले सोमबार उग्र रूप लिएको छ ।

आइतबार रातिको घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीले सोमबार सुनसरी जिल्लाका विभिन्न स्थानमा तोडफोड, आगजनी र भौतिक आक्रमण गरेका छन् ।

कप्तानगञ्जमा आइतबार दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

घटनामा गोली लागेर ९ जना सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जना बढी घाइते भएका छन् । उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाको विरोधमा सोमबार बिहानैदेखि प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए ।

प्रहरी स्रोतका अनुसार आक्रोशित प्रदर्शनकारीको समूहले देवानगञ्जमा तीन-चार वटा घरमा आगजनी गरेका छन् । केही पसलको सामग्री बाहिर निकालेर आगो लगाइदिएका छन् । बजारमा रहेका सवारी साधनमा समेत आगजनी भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार दिउँसो देवानगञ्ज–२ स्थित गाउँपालिका कार्यालय अगाडि करिब १५० जनाको समूहले स्थानीय अनबर अन्सारीको घर, हार्डवेयर पसल र घर अगाडि पार्किङ गरिएको को२त ५८५२ नम्बरको ट्याक्टरमा आगजनी गरेको थियो ।

अबाफ अन्सारीको टिनले छाएको कच्ची घर र दुई वटा मोटरसाइकलमा समेत आगजनी भएको थियो । देवानगञ्ज–३ कप्तानगञ्जमा परालको दुई वटा टालीमा पनि आगजनी भएको थियो ।

प्रदर्शनका क्रममा देवानगञ्ज–४ का २० वर्षीय मोहन मेहतामाथि धारिलो हतियार प्रहार भएको छ । बजारबाट घर फर्कने क्रममा एउटा समूहले उनलाई नियन्त्रणमा लिएर दिउँसो टाउकोमा धारिलो हतियार प्रहार गरेको हो । आक्रमणबाट घाइते उनलाई विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकले उनको अवस्था गम्भीर रहेको बताएका छन् ।

अवस्था नियन्त्रणबाहिर गएपछि प्रशासनले कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरेको छ । सेनाको उपस्थितिपछि कप्तानगञ्ज क्षेत्रमा केही समय प्रदर्शनकारीहरू तितरबितर भए पनि त्रासको वातावरण भने कायमै छ ।

इनरुवामा उस्तै अवस्था

सोमबार दिउँसो जिल्ला सदरमुकाम इनरुवा बजारमा समेत प्रदर्शन भएको छ । करिब १५० जनाको समूहमा रहेका प्रदर्शनकारीले बजार परिक्रमा गर्ने क्रममा एक सर्वसाधारण व्यक्तिमाथि निर्घात कुटपिट गरेका छन् । डीजे बजाएर नाराबाजी गर्दै प्रदर्शन भएपछि इनरुवा बजारका व्यापारी र सर्वसाधारण त्रसित बनेका छन् ।

इनरुवा नगरपालिका–४ मा बजार बन्द गराउँदै हिँडेको समूहले बजाज शो रुमका चार वटा झ्यालका सिसा र होर्डिङ बोर्ड फुटाएको थियो । इनरुवा–३ अदालत रोडमा म्याजिक गाडी र इनरुवास्थित प्रहरी बिटमा समेत तोडफोड भएको छ ।

प्रदर्शनकारीले पूर्व-पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् ।

सुनसरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काका अनुसार प्रदर्शनकारीले ठाउँ-ठाउँमा सडक अवरुद्ध गरेका छन् ।

‘सुनसरीका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ,’ डीएसपी खड्काले भने, ‘कप्तानगञ्जमा नेपाली सेना परिचालन भएपछि अवस्था सामान्य बन्दैछ ।’

इनरुवा र राजमार्ग क्षेत्रमा प्रदर्शन कायम रहेको बताउँदै उनले स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको बताए ।

आइतबारको घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज तथा देवानगञ्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो । तर कर्फ्यु उल्लंघन गर्दै बिहानैदेखि ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए । त्यो प्रदर्शन अन्यत्र पनि फैलिएको छ ।

स्थिति थप भयावह हुन नदिन सुनसरी प्रशासनले सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएको छ । जिल्लाका संवेदनशील मानिएका क्षेत्रहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

सोमबार नै बसेको सर्वदलीय सर्वपक्षीय बैठकले जिल्लाको अवस्था सामान्य बनाउँदै सामाजिक सदभाव कायम राख्ने निर्णय गरेको थियो ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?