+
+
Shares

हिन्दू मुस्लिम साथीहरुलाई नम्र निवेदन

बोलबममा कत्रो डिजे साउन्ड बज्यो वा मोहर्रममा अस्ति कसले के गरेको थियो भन्नेबारेमा दुईवटा घटनामात्रै राखेर यो विषय बुझ्न सकिँदैन । भिडियो रील्समा विषाक्त भावना फैलाउने कांग्रेस, कम्युनिस्ट, रास्वपा, राप्रपाभित्रका कतिपय पात्रलाई चिनौं ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८३ साउन १२ गते ८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी लगायतका स्थानमा धर्म र सम्प्रदायका नाममा भइरहेको हिंसात्मक गतिविधिले सामाजिक सद्भाव बिथोल्ने षड्यन्त्र भइरहेको छ ।
  • राजनीतिक स्वार्थ बोकेका समूहले गरिब नागरिकलाई प्रयोग गरी साम्प्रदायिक दङ्गा फैलाएर समाजमा असुरक्षाको वातावरण सिर्जना गरेका छन् ।
  • धर्मको नाममा मानवता सिध्याउने यस्ता गतिविधि रोक्न आम नागरिक आफैं सचेत भई शान्ति र अमनचैन कायम राख्न अग्रसर हुनुपर्छ ।

हिन्दू-मुस्लिम साथीहरु,

तपाईंका अनेक काम र पहिचान छन् । तर, हिन्दू-मुस्लिम साथीहरू भनी लेख्नुपरेकामा मलाई खेद् छ ।

म लामो केही लेख्दिनँ । रिस उठेका बेला यसै पनि मान्छेलाई लामा कुरा सुन्न मन नलाग्न सक्छ । मोहर्रमको एक महिनापछि सुनसरीमा घटेको घटनामाथि उत्पन्न प्रतिक्रियाले यति बेला सामाजिक सन्जाल तप्त छ । सञ्जालका प्रत्येक शब्दले कथं भौतिक हैसियत पाएका हुन्थे भने यहाँ ठूलै लडाइँ भइसक्थ्यो होला । तर, यति बेला हामी बदला र प्रेमको दोबाटोमा मानवता खोजिरहेका छौं ।

त्यसैले बोलबममा कत्रो डिजे साउन्ड बज्यो वा मोहर्रममा अस्ति कसले के गरेको भन्नेबारेमा दुईवटा घटनामात्रै राखेर यो विषय बुझ्न सकिँदैन ।

रिस उठेका बेला झुक्न कठिन हुन्छ । आफ्नो सबैभन्दा नजिकको परिवार, आफन्तलाई कसैले अनाहकमा पिट्यो, उसको मोटरसाइकल जलाइदियो, घर फुटाइदियो भने कसको पो मन सजिलै मान्छ र ?

प्रथमतः म माफी माग्छु, उही पुराना शब्दहरुलाई नयाँ समयमा दोहोर्‍याउनु परेकामा ।

किनभने आजको समयमा पनि धर्म, सम्प्रदायका नाममा हामी नबाँडिउँ, हामी मिलौं भनिराख्नु पर्ने कुरा हुँदै होइन । साहित्यमा हामी यसलाई क्लिशे भन्छौं र क्लिशे लेख्नु अपराधजत्तिकै मान्छौं । मार्टिन आमिशले त किताबै लेखेका छन् वार् अगेन्स्ट क्लिशे । त्यसमा उनी क्लिशे लेख्नुमात्रै होइन, क्लिशे जसरी सोच्नु पनि खराब कुरा हो भन्छन् ।

क्लिशे, मतलब सबैले यसअघि नै भनिआएको कुरो, जसलाई उही आवाजमा रट लगाइराख्नु कुनै मौलिकता होइन । हिन्दू, हिन्दू । मुस्लिम, मुस्लिम । यसो भन्दै हिँडिराख्नु कुनै मौलिकता होइन, क्लिशे मात्रै हो ।

तर, एकपल्ट यो क्लिशे दोहोर्‍याउनै पर्ने भयो । हिन्दू मुस्लिमका धर्म बचाउने नाममा यति बेला मानवता मार्ने षड्यन्त्र भइरहेको छ । यस्ता कुत्सित मनसायका पछाडि जहिले पनि खास राजनीतिक स्वार्थ बोकेका मानिसहरू हुने गर्छन् । उनीहरुले राजधानी काठमाडौं वा विभिन्न सहरमा अफिस नै खोलेका छन् । आगो सल्काएर खरानीमा शक्ति आर्जन गर्न चाहन्छन् उनीहरु । हेर्दा भद्र सफेद सुकिला हँसिला हुन्छन् । हामी तिनलाई सामान्य आँखाले देख्नै सक्दैनौं । हामीलाई अन्धताको पट्टी लगाए यसरी मुर्ख बनाइन्छ कि छिमेकको रिक्सावाला, पान पसले, अस्पतालकी सफाइकर्मी दिदी वा तिनका साना बच्चाहरुमा हामी आफ्नो धर्मका दुस्मन देख्न थाल्छौं ।

जब साम्प्रदायिक भावना सामुन्नेमा आउँछ, तब राज्यले मात्रै केही गर्न सक्दैन । हामी आफैंले गर्नुपर्छ । र, तपाईंहरुलाई थाहै छ, यतिबेला हाम्रो राज्यको असली ल्याकत र सामर्थ्य कति छ, अनि सरकारी पारा कस्तो छ भने ? राम्रो काम कुनै भएको छ भने त्यो मन्त्रीले गरेका हुन् । नराम्रो काम कथं भएको छ भने त्यो कर्मचारी वा सुरक्षाकर्मीले । अहिले सेना सडकमा खटिएको छ । खासमा नागरिक स्वयं खटिनुपर्छ । यति बेला हामीले आफ्नो, अनि छेउको अर्को मान्छेको सुरक्षा गर्नुपर्छ । त्यो कुनै पनि धर्म वा पहिचानको होस् । हाम्रो ड्युटी हो, त्यसको रक्षा गर्ने । कुनै पनि हालतमा रक्षा गर्ने ।

त्यसैले एकछिन् हामी हाम्रो सामर्थ्य, सीमा र पहिचानको कुरा गरौं । सुरुमा पहिचानकै कुरा गरौं । किनकि हाम्रो सामर्थ्य त बहुत कम छ । असलमा हामी सबै गरिब छौं । पैसाका, अलिअलि सोचका । त्यसमा म आफैं पनि पर्छु । हामीलाई मात्रै बुद्धि बाँड्यो नभन्ठान्नुहोला ।

तपाईंका अरु कम्तिमा पाँचवटा पहिचान छन् । तपाईं कसैको बाबु, आमा, छोरा, छोरी, साथी, प्रेमी हुनुहोला । तपाईं किसान हुनुहोला, तपाईं व्यवसायी । तपाईं शिक्षक हुनुहोला, तपाई विद्यार्थी । तपाईंले ब्युटीपार्लर खोल्नुभएको हुन सक्छ, सहरको कुनै चोक वा कुनामा । वा तपाईंको सानो पुस्तक पसल वा किराना हुन सक्छ । तपाईं आफ्ना दैनिक आवश्यकता पूरा गर्न नेपालभित्र वा नजिकैको भारतीय बस्तीमा गएर मजदुरी गरिरहनुभएको हुन सक्छ । तपाईं छठ वा ईद, उधौंली होस् या बुद्धपूर्णिमा उत्तिकै जोसले मनाइराख्नुभएको हुन सक्छ ।

हाम्रो साझामध्येको एक पहिचान छ- नेपाली । यो पहिचानलाई केही उपपहिचान अघि सारेर सिध्याउने हो ? याद गरौं, हामी नेपालीमध्ये धेरैलाई शान्तिक्षेत्रको अहं त छ । तर यसबेला धर्म जोगाउने नाममा मानवता सिध्याउँने षड्यन्त्रका गोटी बन्न खोज्दै छौं । फेसबुक र ह्वाट्सअपबाट हाम्रो चेतनालाई ह्याक गर्ने कोसिस भइरहेको छ ।

तर, हिंसाको घाउ कस्तो हुन्छ, मैले नजिकबाट देखेको छु । आफ्नो पहिलो किताब ७२ को विस्मयमा पश्चिम तराई कैलालीको एउटा गाउँको घाउ लेखेको छु मैले जहाँ २०७२ भदौमा पहाडी र थारुको घृणारेखा कोरिएको केही वर्ष बित्दाको एउटा घटना उल्लेख छ । छोरीलाई चाडमा नयाँ लुगा लगाउन मन लाग्छ । सिलाउने मान्छेको समुदाय अलग परेकै कारण छोरी लिएर लुगा छेक्न जान सक्दैनन् । छोरीको सानो उमंग खोसिन्छ । हाम्रो साम्प्रदायिक भावना त्यति पाखण्डी छ, जहाँ एउटा बच्चाको निर्दोष चाहना पनि खोसिन्छ ।

सुनसरी कप्तानगञ्ज आसपास आउँदा के देखियो त ? आफ्नो धार्मिक अनुष्ठान गर्न पाउने, गर्न दिने (शब्द याद गरुँ, एउटा पाउने, अर्को दिने छन् त्यहाँ) शक्तिको लडाइँ छ । स्थानीय राजनीतिक व्यक्ति, सुरक्षा निकाय, अगुवा नागरिक सबै यसका हिस्सा छन् । यस्तो बेला पुलिसले दिने सुरक्षा र न्यायाधिकारीले दिने न्याय पनि थाहै नपाइ विभाजित भइदिन्छ । अहो, कस्तो पीडादायी कुरा । म विस्तृत व्याख्यामा जान्नँ किनभने अनलाइनखबरमा हाम्रा सहकर्मीले त्यहाँको विस्तृत रिपोर्टिङ गरिरहेका छन् । यस्तो बेलामा तथ्य र सन्तुलनको हेक्का कुनै पनि पेशाभन्दा बढ्ता हामीलाई हुनुपर्छ, त्यो हामीले गर्ने कोसिस गरेका छौं ।

तर, एउटा प्याटर्न र क्रोनोलोजीमा सुनसरी घटना हेरौं । यसअघि रौतहट र वीरगन्जमा के गर्न खोजिएको थियो हेरौं । त्यसअघि वीरगञ्जमा नै, त्यसअघि जनकपुरमा, त्यसअघि नेपालगञ्जमा । र, छिमेकको भारतमा सन् २००० पछि अझ ठूलो स्केलमा उचाल्न खोजिएको आगो । धर्मको नाममा । कसैलाई नेता बनाइदिन मर्नेचाहिँ गरिब नागरिक । बाँच्दा नै कति अपमानित थिए, मरेपछि तिनलाई शहीद मान्न पनि धक हुन्छ खुनका पिपासुहरुलाई । कीरा माकुरा बराबर पनि हैसियत दिइँदैन यस्ता दंगाहरुमा मर्ने, घाइते हुनेहरुलाई । जसलाई जे लागे पनि सत्य यही हो ।

जीवनभरिको कमाइ खर्चेर हामी घर बनाउँछौं । र, त्यो घरमा कुनै व्यक्ति आएर एउटा झन्डा गाडिदिन्छ । कि त भगवा झन्डा । कि त हरियो ।

र, त्यही एउटा झन्डाका सामुन्ने हाम्रा अरु सबै पहिचान विलुप्त हुन्छन् । तपाईं डाक्टर भए पनि, तपाईं बिरामी भए पनि अब त्यही आफ्नो घरको छतमा एउटा फ्यारफ्यार गर्ने रंगीन कपडाका कारण तपाईं कि त हिन्दु हुनुभयो, कि त मुस्लिम । धत्, यस्तो पनि हुन्छ ?

लाज हुनुपर्छ हामीलाई । हाम्रा बच्चाहरुको पुस्ताले माफ गर्नेछैन हामीलाई ।

नेपालगञ्जको इदगाह टोलमा अस्ति फागुनमा गएर घरका छतहरु हेर्दा मेरो मुटु काँपेको थियो । झन्डाले हामीलाई गौरव देओस्, त्रास होइन ।

गृहमन्त्री सुधन गुरुङ कतै होलान, केही गम्भीर तयारी गर्दैहोलान् भन्ने मानौं । किनभने यस्तो बेला चुप बस्ने मानिस होइनन् उनी । केही क्षेत्रीय सुरक्षा प्रमुख हटाइएको खबर आएको छ । राम्रै परिणाम दिन खोजेको होला । खै किन हो, आजकल मानिसहरू राज्यको उपल्लो निकायमा बस्ने केही पात्रहरुको निष्ठा र निर्णयमा ढुक्क हुनै सकेका छैनन् ।

माथि नै भनिसकियो, यस्तो बेला चाहिन्छ शान्ति र अमनचैन । पूर्वी तराईमा उठ्न खोजेको हिंसाको डढेलो अन्यत्र पनि सल्काउन खोजिएको छ । छिमेकी भारतमा कक्रोच पार्टीको आन्दोलन हुँदा पनि धार्मिक रंग दिएर खत्तम गर्ने कोसिस भएको थियो । त्यहाँका युवाले सानदार ढंगले असफल पारिदिए । हाम्रो शान्ति, हाम्रो रोटी, हाम्रो स्कुल, हाम्रो अस्पताल, हाम्रो सानै भए पनि रोजगारी, हाम्रा मातृशिशु स्वास्थ्य, बुढेसकाल बाँचिरहेका हाम्रा अभिभावकहरुको मानसिक अवस्था, अपाङ्गता झेलिरहेका पात्रहरुको चैन अब केही युद्धका व्यापारीहरुले खोसिदिन खोज्दा हामी पनि पछिपछि लागेरै सकिने हो ?

हाम्रो साझामध्येको एक पहिचान छ- नेपाली । यो पहिचानलाई केही उपपहिचान अघि सारेर सिध्याउने हो ? याद गरौं, हामी नेपालीमध्ये धेरैलाई शान्तिक्षेत्रको अहं त छ । तर यसबेला धर्म जोगाउने नाममा मानवता सिध्याउँने षड्यन्त्रका गोटी बन्न खोज्दै छौं । फेसबुक र ह्वाट्सअपबाट हाम्रो चेतनालाई ह्याक गर्ने कोसिस भइरहेको छ । हामीसँग विज्ञानले दिएको अत्याधुनिक प्रविधि छ, र हामीमध्ये धेरैजना त्यसबाट पुरानो, सडेको रुढीवादी चिन्तन बाँडिरहेका छौं ।

भिडियो रिल्समा विषाक्त भावना फैलाइएको छ । कांग्रेस, कम्युनिस्ट, रास्वपा, राप्रपा भएर हिँडेका कतिपय पात्रलाई चिनौं । तिनले अर्को भनिएको धर्मलाई ताकेर कस्तोसम्म लेख्न सकेका । साँचो धर्मले कसैलाई अर्को मान्दैन । ईश्वर-अल्लाह तेरो नाम । सबको सन्मति दे भगवान ।

परिवारहरुको सुरक्षा गरियोस् । कसैमाथि आक्रमण नहोस् । शान्त संयम रहौं । धार्मिक कार्यक्रम गर्न खोज्दा ठूलो माइक बजाएर डिस्टर्ब गर्ने, अर्को पक्षलाई उचाल्न खोज्ने, आफ्नो अधिकारबारे सचेत हुने, तर अर्को भनिएको पक्षको मर्यादाबारे कत्ति चिन्ता नलिने पारा धर्म हुन सक्दैन । अब समुदायहरु आफैं बसेर यस्ता समारोहहरुको कोड अफ इथिक्स बनाउनुपर्छ । तत्काललाई शान्ति बहाल गरौं । हामी गरिब देशका साधारण नागरिक हौं, कसैको सनक र षड्यन्त्रमा बहकिएर धेरै नउफ्रिउँ । जनधनको खति धेरै भएपछि आखिर मिल्नु परिहाल्छ । पहुँचवालाहरू त टाढासम्मै पुगेर भ्रमण गर्न सक्छन् । आम मानिसले त यही समाजमा बस्नुपर्छ ।

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?