+
+
Shares

१८ वर्षपछि ‘पलेँटी’ मा गुञ्जिँदै मदनकृष्ण, साथमा छोरा यमन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १२:४७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने ‘पलेँटी’ कार्यक्रममा छोरा यमनसँगै सांगीतिक प्रस्तुति दिनुहुने भएको छ ।
  • १८ वर्षपछि पुन: ‘पलेँटी’मा फर्किनुभएका मदनकृष्णले आफ्ना पुराना लोकप्रिय गीतका साथै नयाँ गीतसमेत दर्शकमाझ प्रस्तुत गर्ने तयारी गर्नुभएको छ ।
  • जुलाई ३१ र अगस्ट १ मा हुने उक्त कार्यक्रम दर्शकले अनलाइनमार्फत लाइभ हेर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

काठमाडौं । अंग्रेजी महिनाको सप्ताहान्तमा नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’मा यसपालि कलाकार मदनकृष्ण श्रेष्ठको गायन सुन्न पाइने भएको छ । छोरा यमनका साथ गाउने तयारीमा रहेका श्रेष्ठले आजभन्दा १८ वर्ष पहिले पनि प्रस्तुति दिएका थिए ।

उनले यसपालिको कार्यक्रममा आफ्ना पुराना लोकप्रिय गीतका साथै नयाँ गीत पनि प्रस्तुत गर्नेछन् । उनले गाएका ‘अरबौं मान्छेहरूमा’, ‘खोलावारी खोलापारी’, ‘फुलबुट्टे सारी’, ‘सयथरी बाजा’ लगायतका गीतले लोकप्रियताको शिखर चुमेका छन् ।

हाँस्यब्यंग्य कलाकारिताबाट आफ्ना सहयात्री हरिवंश आचार्यसँगै स्थापित बनेका मदनकृष्णको प्रारम्भिक कलाकारिता गायनबाटै सुरु भएको हो । प्रारम्भिक चरणमा उनले रेडियो नेपालका साथै भारतको अल इन्डिया रेडियो र दूरदर्शनमा समेत आफ्ना गीति सिर्जना प्रस्तुत गरेका थिए ।

पछिल्लो चरणमा स्वास्थ्य प्रतिकूल रहँदारहँदै पनि उनी फिल्मी जगतका साथै सांगीतिक जगतमा समेत उत्तिकै सक्रिय छन् । केही समय अघि रेकर्ड गरेको गीत ‘बिर्सिदे भन्छौ मायालु’, ‘पहाड भो मलाई’ शीर्षकका गीत पनि श्रोता, दर्शकले उत्तिकै रुचाएका गीतमा पर्दछन् ।

यसपालिको थप आकर्षण गायक यमनको हुनेछ । उनी आफ्ना अभिभावक मदनकृष्णकै पथप्रदर्शनमा अघि बढिरहेका कलाकार हुन् । यमन हाँस्यब्यंग्यात्मक अभिनयका साथै गायन र संगीतमा पनि लागिपरेका कलाकार हुन् । उनले व्यंग्यात्मक शैलीका गीतका साथै गम्भीर प्रकृतिका गीत पनि गाउन रुचाउँछन् ।

यमनले गाएका गीतमा ‘यो मन बदल्न चाहन्न’, ‘जिन्दगीमा सायद मैले’, ‘नौलो बस्ती देखे जहाँ’, ‘मान्छेले किन मान्छेलाई मार्छ’ लगायत अनेकौँ गीत छन् । यमन आफूले गाउने गीतका अधिकांश शब्दमा आफै धुन भर्ने गर्दछन् ।

‘पलेँटी’ टिमसँग अभ्यासरत मदनकृष्ण विगतको सम्झना गर्दै भन्छन्, ‘१८ वर्ष पहिले पनि पलेँटीमा गीत गाएको थिएँ । खुब रमाइलो लागेको थियो । यसपालि त छोरालाई पनि साथमा लिएर आएको छु । झन् रमाइलो हुनेछ भन्ने आशा छ । श्रोता, दर्शकले त सधैँ नै मन पराइरहनु भएकै छ । यसपाली झन् मन पराउनु हुनेछ भन्नेमा ढुक्क छु ।’

आफ्ना बाको प्रतिक्रिया सुनेर मुस्काइरहेका छोरा यमनको प्रतिक्रिया थियो, ‘पलेँटीको रिहर्सल त यति रमाइलो छ; कार्यक्रम त झन रमाइलो हुन्छ नै हुन्छ ।’ सधैँ हाँस्न रुचाउने उनी हाँस्दै प्रतिक्रिया व्यक्त गर्छन् ।

‘पलेँटी’ कार्यक्रम जुलाई महिनाको ३१ तारिख शुक्रबार र अगस्ट महिनाको १ तारिख शनिबारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने कार्यक्रमलाई घरमै बसेर हेर्न सकिन्छ । अनलाइनमार्फत लाइभ हेर्न सकिने यो कार्यक्रमलाई पलेँटीको वेबसाइटमा गएर लिङ्क बुक गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?