News Summary
Generated by OK AI. Editorially reviewed.- पत्रकारिता सूचनाहरूको संश्लेषण गर्दै तिनको अर्थ र प्रभाव स्पष्ट पार्दै समाजसामु पस्कने एक महत्वपूर्ण र जिम्मेवार प्रक्रिया हो।
- लोकतान्त्रिक शासकहरूले सरकारलाई जवाफदेही बनाउन र नागरिकसँगको सन्तुलन कायम राख्न स्वतन्त्र प्रेसको भूमिकालाई अनिवार्य मान्छन्।
- वर्तमान सरकारले मिडियामाथि नियन्त्रण जमाउन एल्गोरिदमको प्रयोग र एकोहोरो सूचना प्रवाह गर्ने जस्ता अनुदार कार्यशैली अपनाउनु लोकतन्त्रका लागि चिन्ताको विषय हो।
पत्रकारिता भनेको के हो ? यसका मूल्य–मान्यता के हुन् ? पत्रकारिता किन आवश्यक छ ? अनि मूल्य–मान्यतामा आधारित पत्रकारिताको अपेक्षा किन हुन्छ ? यी र यस्ता सवालको जवाफ सोझो भाषामा खोज्ने हो भने भन्न सकिन्छ कि– कुनै पनि खबरमा सबै जनाको पहुँच पुगोस् वा सबैले सबै खबर पाउने कुराको सुनिश्चितता होस्!
तर त्यो खबर सबैसँग पुग्दा खबरको अन्तर्य कत्ति पनि नबिग्रेर पुगोस्, त्यो खबरको विश्लेषण गर्ने अन्तिम अधिकार त्यो खबर प्राप्तकर्तामा सीमित होस्। साथै गलत खबरबाट कोही पनि पीडित हुने र सत्य खबरबाट कोही पनि वञ्चित हुने अवस्था नहोस्।
विद्वान्हरूले पत्रकारितालाई विभिन्न रूपमा परिभाषित गरेका छन्। सूचनाको विश्लेषण सहित त्यसलाई सन्तुलित ढंगबाट सञ्चार उपभोक्तासम्म पुर्याउने पूर्ण प्रक्रिया नै पत्रकारिता हो भन्ने मतमा आधारित भएर नै सबै विद्वान्का परिभाषा बनेका हुन्।
पत्रकारिता केवल सूचना संकलन गरेर जस्ताको तस्तै प्रस्तुत गर्ने काम मात्र होइन। यदि कच्चा सूचना वा तथ्याङ्कलाई मात्रै बाहिर ल्याउने हो भने त्यो सूचनाको संग्रह मात्र हुन्छ, जसले सर्वसाधारणलाई अलमलमा पार्न सक्छ, विशेष लाभ दिन सक्दैन। सूचनालाई संश्लेषण गरेपछि मात्र त्यो उपयोगी, अर्थपूर्ण र विश्वासिलो समाचार बन्दछ।
जसरी विभिन्न कच्चा पदार्थलाई सही मात्रामा मिसाएर, प्रशोधन गरेर मात्र उपयोगी वस्तु बन्छ, त्यसैगरी छरिएर रहेका तथ्य, तथ्याङ्क र विचारहरूलाई एकत्रित गरी, तिनको अर्थ र प्रभाव स्पष्ट पार्दै समाजसामु पस्कनु नै सूचनाको संश्लेषण हो। त्यसैले ‘सूचनाको संश्लेषणको पूर्ण प्रक्रिया नै पत्रकारिता हो’ भन्ने मतमाथि विद्वान्हरूको साझा धारणा बनेको पाइन्छ।
यो कुराले के देखाउँछ भने सूचना प्रवाहको माध्यम जेसुकै भए तापनि पत्रकारिताको अभ्यास र महत्व सधैं उस्तै हुन्छ र हुनुपर्ने हो। सूचनाको संश्लेषण सहितको सामग्री नै समाचार हो भन्ने कुरामा सहमत हुने हो भने त्यो समाचार कसैका लागि उपयोगी हुनै पर्छ। त्यसको प्रभाव समाज र यसका अङ्गहरूमा पर्नैपर्छ।
मानिसलाई एक पटक सोच्नका लागि प्रेरित गर्ने ताकतका साथ त्यो समाचार अडिन सक्नुपर्छ। नयाँ केही गर्न चाहनेका लागि, यथास्थितिबाट अगाडि बढ्न चाहनेका लागि त समाचार सबैभन्दा ठूलो ऊर्जा हुन सक्नुपर्छ। रचनात्मक र ऊर्जाशील बाटोलाई अझ फराकिलो बनाएर सुरक्षित यात्रामा हिंडाउन सक्ने सारथी हुनुपर्छ समाचार। यस्तो अपेक्षा पनि गरिएको हुन्छ पत्रकारितासँग।
‘यदि मलाई सरकार विनाको समाचारपत्र वा समाचारपत्र विनाको सरकारमध्ये एक रोज्न दिइयो भने, म अलिकति पनि नहिचकिचाई दोस्रो (सरकार विनाको समाचारपत्र) नै रोज्नेछु’—अमेरिकाका तेस्रो राष्ट्रपति थोमस जेफर्सन, जो अमेरिकी स्वतन्त्रताको घोषणापत्रका मुख्य लेखक थिए, उनको यो भनाइले के स्पष्ट पार्छ भने एउटा स्वतन्त्रताको पक्षधर शासकको पत्रकारितासँग निकै नै अपेक्षा रहन्छ।
त्यसैगरी बीपी कोइरालाले दुईतिहाइको सरकार सञ्चालन गर्ने अवसर पाउँदा पनि पत्रकारहरूलाई बोलाएर ‘मेरो सरकारको कामकारबाहीको आलोचना नियमित लेखिदेऊ, ताकि म सच्चिँदै राम्रो काम गर्ने अवसरबाट लाभान्वित हुन सकूँ’ भनेका थिए। उनको यो अपेक्षाले के देखाउँछ भने सरकार र नागरिक बीचको सन्तुलन भत्कन नदिन र सरकारलाई जवाफदेही बनाउनका लागि एउटा लोकतान्त्रिक शासकले पत्रकारितासँग बलियो र महत्वपूर्ण अपेक्षा राखेको हुन्छ।
तर एउटा तानाशाहले आफ्नो महत्वाकांक्षाको यात्रा तय गर्न थाल्दा सबैभन्दा ठूलो शत्रु स्वतन्त्र प्रेसलाई नै देख्ने गर्दछ। तानाशाह वा अधिनायकवादी शासकहरूले आफ्नो सत्ता जोगाउन, सत्यलाई दबाउन र नागरिकको चेतना नियन्त्रण गर्न खोज्छन्। तर स्वतन्त्र प्रेसले शासकका गलत क्रियाकलाप, भ्रष्टाचार र दमनलाई सार्वजनिक गरिदिन्छ। त्यसैले, आफ्नो महत्वाकांक्षा र निरङ्कुश शासनको बाटोमा सबैभन्दा ठूलो तगारो तानाशाहहरूले स्वतन्त्र प्रेसलाई नै देख्छन्।
चाहे २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएपछि सबैभन्दा पहिला मिडियामाथि पूर्ण प्रतिबन्ध र सेन्सरसिप लगाएको घटना होस् वा सन् १९३० को दशकमा जर्मनीमा एडोल्फ हिटलरले सत्ता सम्हालेपछि सबैभन्दा पहिले स्वतन्त्र पत्रपत्रिकाहरू बन्द गराएर राज्यको नियन्त्रणमा लगेको सन्दर्भ नै किन नहोस्; यी घटनाहरूले तानाशाह शासकहरूको मनोविज्ञान बुझ्न मद्दत गर्छन्।
हिटलरले त जोसेफ गोयबल्सको नेतृत्वमा प्रचार मन्त्रालय बनाएर आफ्नो विचारसँग नमिल्ने पुस्तक र पत्रपत्रिकाहरू जलाउन समेत लगाएका थिए भने स्वतन्त्र पत्रकारहरूलाई जेल हालिएको र देश निकाला गरिएको थियो। यी सबै सन्दर्भको निचोड के हुन्छ भने पत्रकारिता विनाको अवस्थाको अपेक्षा तानाशाह र निरङ्कुश शासकले मात्र गरेका हुन्छन्।
लोकतान्त्रिक सत्ता र आम नागरिकको अपेक्षा स्वतन्त्र पत्रकारितासँग महत्वपूर्ण र समान रूपमा हुने गर्दछ। वर्तमान अवस्थामा प्रविधिको उच्च र अनपेक्षित विकासपछि समाचार प्रवाहका माध्यमहरू धेरै भएका छन्। तर ती माध्यमबाट प्रवाहित भइरहेका सबै सामग्री समाचार होइनन्। पत्रकारिता हुनका लागि निश्चित प्रक्रिया, मान्यता, जवाफदेही र जिम्मेवारीबोध पनि सँगसँगै हुने गर्दछ। पत्रकारिताले आफ्नो सीमाभित्र रहेर समाजमा बहसको सिर्जना गर्छ, कसैको वाह्वाहीमा आफूलाई सीमित गर्दैन।
कुनै विषय उठ्यो भने त्यसप्रतिको सबैथरीको धारणालाई समान स्पेस दिन्छ। बहसमा विज्ञहरूलाई पनि सहभागी गराउँछ। सामान्य उपभोक्ता–अनुभवीको कुराका लागि पनि समान स्पेस दिन्छ। बहस नबरालियोस् भनेर आफ्नो सम्पादकीय नीति निर्माण गर्छ।
यसरी सबै पक्षको आवाजलाई सबैका सामु राखिदिन्छ, जसले गर्दा अरूहरूलाई पनि आफ्नो धारणा बनाउन सहज हुने गर्दछ। तर तानाशाहहरूले यो बुझ्दैनन्, उनीहरूलाई एकोहोरो वाह्वाही चाहिन्छ। त्यसो भएन भने मिडियाप्रति निर्मम हुन्छन् र आफ्नो नियन्त्रणको सूचना प्रवाहको संयन्त्र निर्माण गर्छन्। त्यो संयन्त्रले पत्रकारिता गर्छ कि गर्दैन थाहा हुँदैन, तर तानाशाहको मन भने पक्कै जित्न सक्छ।
नेपाली पत्रकारिताले यी सबै उतारचढावहरू व्यहोरिसकेको छ। अब त त्यस्तो भोग्नुपर्दैन भनेर ढुक्क भएको नयाँ पुस्ता फेरि भयभीत हुन पुगेको छ वर्तमान सरकारका गतिविधि देखेर। राजाले सञ्चार संस्थामा आर्मी पठाएको र टेलिफोन अवरुद्ध पारेको घटनालाई कथाका रूपमा श्रवण गर्ने पुस्ताले आफ्नै आँखाले देख्यो– व्यवधानका कति धेरै तरिका हुँदा रहेछन् कि सञ्चार संस्थाका कार्यालय अगाडि नै बाटो छेकेर गाडी पार्किङ गर्न समेत राज्य संलग्न भयो।
त्यति मात्रै होइन, सरकारी सूचनामा नागरिकको पहुँच सुनिश्चित हुनुपर्छ भन्ने लोकतान्त्रिक मान्यतालाई नै भत्काएर सरकारी सूचना सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णय गर्यो। यो निर्णय गर्दा अपरिपक्वता त देखियो नै, हामीले अभ्यास गरिएका कानून र संविधानका ५ वटा प्रावधान समेत बेवास्ता गरियो। ‘कानूनको प्रावधानभन्दा शासकको हुकुम ठूलो’ यो कुन अवस्थामा हुन्छ भन्ने कुराको अनुमान लगाउन कोही कसैलाई पनि समस्या हुँदैन।
अहिलेको अर्को ठूलो सन्दर्भ त एकोहोरो सञ्चारको अभ्यासमा स्वयं शासकहरू नै लाग्ने खतरनाक पक्ष हो। मिडियाप्रति नकारात्मक धारणा पैदा गर्ने र आफ्ना निजी नियन्त्रणका संरचना मार्फत आफू अनुकूलको सूचना प्रवाह गर्ने नयाँ तर निकै नै खतरनाक प्रवृत्ति फस्टाउँदैछ। प्राविधिक भाषामा भन्नुपर्दा एल्गोरिदमको आधारमा आफ्नो पक्षमा धारणा बनाउने चाहना नयाँ भनिनेहरूमा नै धेरै देखियो।
हालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कुनै बेला एउटा अन्तर्वार्तामा भनेका थिए– उनले हिटलरलाई भेट्न पाए भने सोध्नेछन् कि, ‘तिमीले यति धेरै मानिसलाई एकै प्रकारले तिमीले जसरी नै सोच्ने कसरी बनायौ?’ उनको यो इच्छा र अहिले एल्गोरिदममाथिको विश्वासलाई एकै ठाउँमा राखेर हेर्ने हो भने वर्तमान सत्ताको सम्पूर्ण यत्न–प्रयत्न जिम्मेवार मिडियालाई कमजोर बनाउँदै आफू अनुकूलका सूचना संयन्त्रहरूमाथि नै भर पर्ने अवस्थाको निर्माणका लागि भइरहेको छ भन्न सकिन्छ। मिडियाको व्यवस्थापन र नियमनका लागि अझै पनि काम गर्नुपर्ने अवस्था छ। कानून निर्माणको चरण नै पार भएको छैन।
कानून निर्माणका लागि पैरवी गरिरहेको र मिडियासँग जोडिएका मुद्दाहरू उठाइरहेको नेपाल पत्रकार महासंघका अनुसार अहिलेका सञ्चारमन्त्री कुरा सुन्दैनन्, कुरा राख्नेलाई हप्काउँछन्। शासकहरूमा परिपक्वताको पूर्ण अभाव छ। ‘कानून मैले ल्याउँछु, बजेट उहाँले ल्याउनुहुन्छ’ कानून मन्त्रीले ठेकेदारी शैलीमा यस्तो अभिव्यक्ति दिन्छिन्।
पत्रकारले बजेट नपढेरै बोल्छन् भन्ने अभिव्यक्ति अर्थमन्त्रीको आउँछ। पढेका उनले शिक्षा, स्वास्थ्यमा समेत कर लगाउँछन्। प्राकृतिक विपत्तिले हायलकायल भएको बस्तीमा गएर ‘गाउँ नै सार्दिऊँ त ?’ भन्दै सांसदहरूले प्रस्ताव गर्छन्। मेयरको सरुवा गर्ने कुरा गर्छन्। नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने प्रधानमन्त्री छन्।
नयाँका नाममा राजनीति र सत्तालाई यस्तो अपरिपक्व ढङ्गले अभ्यास गर्दैगर्दा त्यसलाई परिपक्वतातर्फ लैजानका लागि प्रेरित गर्ने, बहस चलाउन र आवश्यकता अनुसारको दबाब दिने दायित्व जिम्मेवार मिडियाको हो।
थोमस जेफर्सन, बीपी कोइराला, कार्ल मार्क्स, महात्मा गान्धी लगायत विश्वकै ध्यान खिच्न सक्ने गरी राजनीति र सत्ता सञ्चालन गरेका तथा दर्शन दिएकाहरूले मिडियाप्रतिको आफ्नो बेजोड अपेक्षालाई सैद्धान्तीकरण गरी प्रस्तुत गरे। यो हाम्रो देशका राजनीति गर्ने र सत्ता चलाउनेहरूका लागि पनि एउटा सिकाइ हुनुपर्ने थियो। तर विडम्बना मिडियामा काम गरेर, मिडिया नै पढेर र मिडियाकै साथ लिएर सङ्गठित भएको नयाँ पार्टी सरकारमा गएपछि मिडिया बुझ्दै नबुझेको झैं गरी प्रस्तुत हुनु र सार्वजनिक मिडियामाथि आतङ्क सिर्जना गर्ने विभिन्न उपाय खोज्नेतर्फ लाग्नु आफैंमा आश्चर्यको कुरा हो।
सुनिंदैछ कि– सरकारको सचिवालयबाट र पार्टीको संलग्नतामा ७ हजारभन्दा बढी त फेसबुक पेज मात्रै सञ्चालनमा छन् रे ! प्रधानमन्त्री र मन्त्रीको ‘सवारी’मा नियमित खटिने सूचना प्रवाहका निश्चित संयन्त्रहरू छन्। संसद्मा पत्रकारको उपस्थितिलाई खुम्च्याइँदै लगिएको छ। यी सबै कुराहरू आफ्नो अनुकूलको मात्र सूचना प्रवाह होस् भन्नेमा पार्टी र सरकार दुवै एक ठाउँमा छन् भनेर अनुमान लगाउन सहजै सकिन्छ।
पत्रकारिताले संसारभर अहिले नवीन चुनौतीको सामना गर्दैछ। प्रिन्ट मिडियाको भविष्यको चिन्ता गरिंदैछ। टेलिभिजनहरू हेर्नै छाडे भनेर चिन्ता गरिन्छ। प्रविधिको उपलब्धताले आमसञ्चारका उपभोक्ताको ध्यान जिम्मेवार मिडियाबाट तानेर निर्देशित, नियन्त्रित मिडियामा सारिंदैछ। एल्गोरिदमको संस्कृति चरमचुलीमा पुग्दैछ।
एकोहोरो सूचनाका आधारमा विकास हुने नयाँ पुस्ताको मनोविज्ञानले भोलिको समाज र राष्ट्र कस्तो बाटोमा जाला ? यी गम्भीर र दीर्घकालीन मुद्दाहरूमाथि प्रशस्त छलफलको जरुरत छ। तात्कालिक समस्याका रूपमा श्रमको समस्या, विज्ञापनको कमिसनको समस्या, पारदर्शी लगानीको सन्दर्भमाथि पनि प्रशस्त छलफल गरेर व्यवस्थापकीय क्षेत्रमा सुधार ल्याउनुपर्नेछ भने कतिपय कानून निर्माण र परिमार्जनको आवश्यकता पनि छ।
मिडियाको जगमा बनेको पार्टी र मिडियाकै बलमा बहुमत ल्याएको सरकार निर्माण भइसकेपछि यी सवालहरूमा तुलनात्मक रूपमा अघिल्ला सरकारभन्दा व्यवस्थित बहस होलान् भन्ने अपेक्षा तुहिएको छ।
सिंढी चढेर माथि पुगेपछि त्यो सिंढीलाई भत्काइदिंदा कसरी ओर्लने भन्ने हेक्का राख्नुपर्छ। मिडियाकै बलमा प्राप्त विरासतको अभ्यास गर्दैगर्दा मिडियाप्रति यो ढङ्गको अनुदार बन्न न त नैतिकताका दृष्टिले उचित होला, न विरासत उल्टिएको दिन स्वतन्त्र विचार राख्ने माध्यम नै उपलब्ध होला। यो हेक्का वर्तमान नेपाली शासकहरूले समय छँदै राखे राम्रो हुनेछ।
(लेखक नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् ।)
प्रतिक्रिया 4