+
+
Shares

देउवा समूहले राष्ट्रिय भेलाका लागि केन्द्रीय प्रतिनिधि खटाउँदै

संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारीका लागि १६५ वटै निर्वाचन क्षेत्रहरूमा केन्द्रीय प्रतिनिधिहरू खटाउने तयारी गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १५:०४

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि केन्द्रीय प्रतिनिधिहरू खटाउने भएको छ ।

पूर्वसभापति शेरबहादुर देउवासँग निकट रहेको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारीका लागि १६५ वटै निर्वाचन क्षेत्रहरूमा केन्द्रीय प्रतिनिधिहरू खटाउने तयारी गरेको हो ।

इतर समूहको प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले १६ साउनसम्म केन्द्रीय प्रतिनिधिहरू खटाउने आन्तरिक तयारी भइरहेको जानकारी दिए ।

‘प्रदेशअनुसार बैठक बसिरहनुभएको छ । प्रदेशले नाम दिएपछि १६ गते १६५ क्षेत्रमै प्रतिनिधिहरू खटाउँछौं,’ उनले भने ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूको समूहले २९ साउनका लागि काठमाडौंमा राष्ट्रिय भेला घोषणा गरिसकेका छन् ।

४४ औं बीपी स्मृति दिवसको अवसर पारेर कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा इतर समूहले राष्ट्रिय भेलाको मिति घोषणा गरेका थिए ।

इतर समूहले राष्ट्रिय भेलाका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वयका गर्न नेताहरूलाई जिम्मेवारी बाँडफाँट पनि गरेको छ ।

प्रचार प्रसार समिति संयोजक विश्वकर्माका अनुसार १० जना नेतालाई विभिन्न क्षेत्र परिचालनको जिम्मेवारी दिइएको छ ।

उनले नेपाल विद्यार्थी संघ (नेविसंघ) परिचालनका लागि कुन्दनराज काफ्ले, नेपाल तरुण दल परिचालनका लागि जीतजंग बस्नेत र नेपाल महिला संघ परिचालनका लागि उषा राउत मिश्रलाई जिम्मेवारी दिइएको छ ।

यस्तै नेपाल दलित संघ परिचालनको जिम्मा यमुना विश्वकर्माले, नेपाल किसान संघ परिचालनको जिम्म अध्यक्ष गणेश तिमिल्सिनाले, लोकतान्त्रिक आदिवासी जनजाति परिचालनको जिम्मा जगत बरामले पाएका छन् ।

नेता किरण पौडेललाई विदेश जनसम्पर्क समिति, मोहनबहादुर बस्नेतलाई काठमाडौं जिल्ला सम्पर्क समिति र खेलकुद समन्वयन र हरिशरण नेपालीलाई ट्रेड युनियन परिचालनका लागि जिम्मेवारी दिइएको छ ।

प्रचार प्रसार संयोजक विश्वकर्माले बुद्धिजीवी परिचालनको जिम्मा लिएका छन् । उनले आवश्यकताअनुसार समिति बनाएर अन्य भ्रातृ र शुभेच्छुक संस्थाहरूलाई पनि परिचालन गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?