+
+
Shares

तराई-मधेश तनाव : गृहमन्त्री सहित उच्चपदस्थ सुरक्षा अधिकारी फिल्डमा

स्रोत साधनको परिचालन, प्रभावकारी मूल्यांकन, नीति निर्देशक, सुरक्षा कार्ययोजना, सूचना संकलन तथा विश्लेषण र आवश्यकता अनुसार फिल्डमा खटिएर काम गर्ने उच्च अधिकृतहरूलाई परिचालन गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते २१:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी घटनापछि बढेको तनाव साम्य पार्न गृहमन्त्री सुधन गुरुङसहित सुरक्षा निकायका उच्च अधिकारीहरू तराई–मधेशका विभिन्न जिल्लामा परिचालन भएका छन्।
  • नेपाल प्रहरी र सशस्त्र प्रहरीले थप जनशक्ति खटाउँदै सुरक्षा व्यवस्था कडा पारेका छन् भने विभिन्न जिल्लाबाट सामाजिक सद्भाव खलबल्याउने ३६ जनालाई पक्राउ गरिएको छ।
  • बिहीबार तनावपूर्ण रहेको तराई–मधेशको अवस्था शुक्रबार तुलनात्मक रूपमा शान्त देखिएको छ र प्रधानमन्त्री बालेन्द्र शाहले वार्ता र संवादमा जोड दिएका छन्।

१५ साउन, काठमाडौं । सुनसरी घटनाका कारण समग्र तनाव बढेपछि गृहमन्त्री सुधन गुरुङ सहित सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरू तराई र मधेशमा खटिएका छन् ।

तनावपूर्ण अवस्था शान्त पार्न र सम्भावित घटनाहरू रोक्नका लागि उनीहरू फिल्डमा खटिएका हुन् । प्रहरीका विभिन्न विभाग र क्षेत्रमा काम गरिरहेकाहरूलाई पनि तत्कालको संकट समाधान गर्न तराई मधेश केन्द्रित गरिएको छ ।

गृहमन्त्री गुरुङ बिहीबार नै सुनसरी गएका थिए । अहिले उनी त्यहाँका मृतकको परिवारसँग सम्झौता गरी घाइतेहरूलाई पनि भेटेर सिरहा गएका छन् ।

नेपाल प्रहरीले तराई मधेशका जिल्लाहरूमा उच्च प्रहरी अधिकृतहरूलाई खटाएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार १५ उच्च अधिकृतलाई तराई–मधेश परिचालन गरिएको छ ।

तराईका मोरङ, सुनसरी, सिरहा, धनुषा लगायत जिल्लाहरुमा थप तनाव उत्पन्न हुनसक्ने भन्दै सतर्कता अपनाइएको छ । यही घटनाका लागि थप प्रहरी जनशक्ति तराई केन्द्रित बनाइएको हो ।

स्रोत साधनको परिचालन, प्रभावकारी मूल्यांकन, नीति निर्देशक, सुरक्षा कार्ययोजना, सूचना संकलन तथा विश्लेषण र आवश्यकता अनुसार फिल्डमा खटिएर काम गर्ने उच्च अधिकृतहरूलाई परिचालन गरिएको हो ।

उनीहरूले प्रदेश र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी सहजीकरण गर्ने बताइएको छ । एआईजी सिद्धी विक्रम शाह– बाँके, एआईजी हिमालय कुमार श्रेष्ठ– मधेश प्रदेश, एआईजी उमा प्रसाद चतुर्वेदी– कपिलवस्तु, एआईजी ईशवर कार्की–कोशी प्रदेश र सुनसरी, डीआईजी दिनेश कुमार आचार्य – सिरहा, डीआईजी अबि नारायण काफ्ले–सप्तरी, एसएसपी गोपाल चन्द्र भट्टराई –सर्लाही, एसएसपी सोमेन्द्र सिंह राठौर – पर्सा, एसएसपी दीप शम्शेर जबरा–रौतहट, एसएसपी नवराज अधिकारी– चितवन, एसएसपी कृष्ण प्रसाद पंगेनी– महोत्तरी, एसएसपी होबिन्द्र बोगटी– बारा, एसएसपी ज्ञानेन्द्र प्रसाद फुयाँल– मोरङ, एसएसपी भुवनेश्वर तिवारी– धनुषा, एसएसपी अमरेन्द्र बहादुर सिंह – मधेशमा खटिएका छन् ।

सशस्त्रबाट पनि खटिए थप टोली

नेपाल प्रहरीको जस्तै सशस्त्र प्रहरीले पनि थप टोली खटाएको छ । एआईजी गणेश ठाडा मगरसहितका अधिकारीहरूलाई तराई–मधेश केन्द्रित गरिएको छ ।

तराईका छिमेकी पहाडी जिल्लाबाट पनि थप टोली परिचालन गरिएको सशस्त्र प्रहरीले बताएको छ । यता सीमामा पनि निगरानी बढाएर एसएसबीसँग समन्वय गरेर काम गरिएको बताइएको छ ।

सामाजिक सद्भाव खलल पुर्‍याउने काम नगर्न पनि सशस्त्र प्रहरीले अपिल गरेको छ । सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले एक सूचना जारी गर्दै सामाजिक द्धेष फैलाउने, धार्मिक सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक, गैह्रकानूनी र उत्तेजक गतिविधिमा संलग्न नहुन अनुरोध गरेका छन् ।

शान्ति सुव्यवस्था र सद्भाव कायम राख्न समन्वयात्मक ढंगबाट सशस्त्र प्रहरीले काम गरिरहेको पनि बताइएको छ ।

त्यसैगरी कर्फ्यु लागेको तराईका जिल्लाहरूमा नेपाली सेना पनि खटिएको छ । शान्ति सुरक्षा र एकता कायम राख्ने प्रयासमा सेना निरन्तर सक्रिय रहेको बताइएको छ ।

प्रधानमन्त्री पनि सक्रिय

चार दिनसम्म चुपचाप बसेका प्रधानमन्त्री बालेन्द्रले पनि सक्रियता देखाएका छन् ।

केन्द्रीय सुरक्षा समिति सुरक्षामा मात्रै ध्यान नलिई राजनीतिक, सामाकिज र धामिर्क संवादमार्फत समस्याको हल गर्न सुझाव दिएका थिए । त्यसपछि उनले केही सक्रियता देखाएका हुन् ।

प्रधानमन्त्री शाहले पनि बिहीबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकेर विषयलाई गम्भीर रुपमा लिएको सन्देश दिएका थिए । त्यसपछि उनले राष्ट्रको नाममा सम्बोधन गर्नुका साथै राष्ट्रपति रामचन्द्र पोखरेलसँग भेट गरेका थिए । उपराष्ट्रपतिसँग टेलिफोन वार्ता गरेका थिए । त्यसपछि आज शुक्रबार उनले तराई मधेशका रास्वपा सांसदसँग छलफल गरेका थिए ।

यता रास्वपा सभापति रवि लामिछानेले पनि छलफल र वार्तालाई सक्रिय राखे । सर्वदलीय बैठक राख्नेदेखि मधेका रास्वपा सांसदसँग संवाद गर्ने र आज धार्मिक संस्थाका अगुवासँग छलफल गरे । नागरिक अगुवादेखि विद्यार्थीले पनि माइतीघरमा सद्भाव र्‍याली निकाले ।

तुलनात्मक शान्त

बिहीबार तनावपूर्ण रहेको तराई–मधेश आज शुक्रबार भने तुलनात्मक रुपमा शान्त रहेको छ ।

शुक्रबार बिहानैबाट सुरक्षा अवस्था चुस्त पार्नेदेखि वार्ता, संवाद र छलफलको काममा तीव्रता दिइएको थियो । काठमाडौंमा विभिन्न धार्मिक व्यक्तिसँग भेटघाटदेखि मधेशका नेताहरुसँग छलफल गर्नेसम्मका कामहरू भए ।

परिणामतः बिहीबारको तुलनामा शुक्रबार केही स्थिति साम्य देखिन्छ ।

नेपाल प्रहरीका अनुसार शुक्रबार कुनै ठाउँमा पनि गोली चलेको छैन । आगजनी र तोडफोडका घटनाहरू पनि भएका छैनन् ।

कोशी प्रदेशका डीआईजी शेखर खनालले सुनसरी तथा कोशीका अन्य जिल्लाहरू पनि बिस्तारै शान्त बन्दै गएको बताए ।

‘हिजोको तुलनामा आज किनै शान्तपूर्ण छ । सद्भाव कायम राख्न गर्नुपर्ने सबै प्रयास गरेका छौं । प्रहरीले निकै संयमतता अपनाएको छ’ डीआईजी खनाल भन्छन् ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जबाट सुरु भएको विवाद अन्यत्र जिल्लाहरूमा पुग्दा बिहीबार निकै तनावपूर्ण बनेको थियो ।

सिरहामा त व्यक्तिका घरदेखि मलसम्ममा आगजनी मात्रै भएन, १५ वर्षीय किशोर गणेश यादवको गोली लागेर ज्यान गएको थियो ।

यसको असर शुक्रबार देखापर्न सक्ने र अन्यत्र जिल्लाहरूमा पनि फैलनसक्ने भन्दै सुरक्षा निकायहरूले निकै सतर्कता अपनाएका थिए । आफ्नो सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्नेदेखि सूचना जारी गर्दै सद्भाव कायम राख्न अपिल गरे ।

३६ जना पक्राउ

नेपाल प्रहरीले मधेशका पाँच जिल्लाबाट सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सामा ३६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सबैभन्दा बढी धनुषामा १९ जना छन् । यस्तै, सर्लाहीमा ९, सिरहामा ५, महोत्तरीमा २ र पर्सामा एक जना पक्राउ परेको प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

सामाजिक सद्भाव खलल पुर्‍याउने तथा साम्प्रदायिकता भड्काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?