+
+
Shares
ब्रिफिङ :

मधेश दिनभर अशान्त, ठाउँ-ठाउँमा कर्फ्यू

मधेशको राजधानी जनकपुरधाममा बिहीबार दिउँसो साढे ३ बजेदेखि लगाइएको कर्फ्यू अझै जारी छ । चारवटै सुरक्षा निकाय सडकमा परिचालित हुँदा जनकपुरधामका नागरिक घरमै बन्धकजस्तै बनेका छन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ साउन १५ गते २१:२८

१५ साउन, जनकपुरधाम । सुनसरी घटनापश्चात् मधेश अशान्त छ । शुक्रबार आठ वटै जिल्लाका विभिन्न स्थानमा हिन्दुवादी संघ-संगठनले प्रदर्शन गरेका छन् ।

बिहानैदेखि सप्तरीको राजविराज लगायत विभिन्न स्थान, सिरहाको गोलबजार र लहान, धनुषाको सबैला र रमदैया, महोत्तरीको जलेश्वर र गौशाला, सर्लाहीको मलंगवा र बरहथवा, रौतहट, बारा तथा पर्साको वीरगञ्जमा प्रदर्शन भएको छ ।

प्रदर्शनका क्रममा विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । त्यस क्रममा छिटफुट सामान्य घटनाबाहेक कुनै अप्रिय घटना नभएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मधेशको राजधानी जनकपुरधाममा बिहीबार दिउँसो साढे ३ बजेदेखि लगाइएको कर्फ्यू अझै जारी छ । चारवटै सुरक्षा निकाय सडकमा परिचालित हुँदा जनकपुरधामका नागरिक घरमै बन्धकजस्तै बनेका छन् ।

विभिन्न कामले सडकमा निस्केका केही नागरिकलाई नेपाली सेना र प्रहरीले कारबाहीस्वरूप कान समातेर उठबस गराउने, कसरत गराउने लगायतका कार्य गरेका छन् । उद्योग, बजार तथा व्यवसाय पूर्णरूपमा बन्द छन् । यसको प्रभाव धनुषा जिल्लाभर परेको छ ।

यस्तै, सिरहाको गोलबजार र लहानमा पनि कर्फ्यू जारी छ । सप्तरीको राजविराज र बोदेबरसाइन क्षेत्रमा समेत कर्फ्यू लागु गरिएको छ । बिहीबार राति १० बजेदेखि बोदेबरसाइन क्षेत्रमा कर्फ्यू जारी गरिएको थियो भने आज बिहान ८ बजेदेखि राजविराज क्षेत्रमा पनि कर्फ्यू लागू गरिएको छ ।

अर्को आदेश नभएसम्मका लागि राजविराज क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । वीरगञ्जमा भने पुन: निषेधाज्ञा जारी गरिएको छ ।

जनकपुरधाममा जारी कर्फ्यू हटाउने विषयमा जिल्ला प्रशासन कार्यालय धनुषाले सर्वपक्षीय छलफलसमेत गरेको छ । छलफलबाट चारबुँदे निर्णय गरिएको छ ।

प्रशासनले भोलि बिहान सद्भाव र्‍याली निकाल्ने र त्यसपछि कर्फ्यू हटाउने तयारी गरेको छ । प्रतिनिधिसभा सदस्य, सुरक्षा निकाय, दुवै समुदायका धर्मगुरु तथा हिन्दु संघ–संगठनलगायतको सर्वपक्षीय बैठकले जिल्लाको शान्ति, सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए ।

साथै, नागरिकबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता कायम गर्न आवश्यक पहल र सहयोग गर्न सबै सरोकारवालासँग आग्रह गरिएको छ । सामाजिक सञ्जालमार्फत भ्रामक अफवाह फैलाउने गतिविधिलाई निरुत्साहित गर्दै आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता प्रवर्द्धन गर्ने निर्णय पनि गरिएको छ ।

सिरहामा बिहीबार प्रहरीको गोली लागेर १६ वर्षीय किशोर गणेश यादवको मृत्यु भएपछि अवस्था झन् उग्र बनेको छ । औरही गाउँपालिका–२ तुलसियाहीका मृतक यादवको घरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादव र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेर परिवारसँग भेट गरेको छ ।

उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आफूले संसद् र सम्बन्धित निकायमा आवाज उठाउने प्रतिबद्धता उनले जनाएका छन् ।

गृहमन्त्री सुधन गुरुङ मृतक परिवारसँग भेट्न आउने भन्ने खबर फैलिएपछि प्रदर्शन झन् उग्र बनेको थियो । स्थानीयले प्रदर्शन चर्काएका थिए । यद्यपि, गृहमन्त्री भने अहिलेसम्म मृतक परिवारको घर पुग्न सकेका छैनन् ।

सिरहाको मिर्चैयामा आज सामाजिक सद्भाव र्‍याली निकालिएको छ । मिर्चैयामा सर्वदलीय बैठक बसेपछि निकालिएको उक्त र्‍यालीमा ‘हिन्दु–मुस्लिम एक हौं, बौद्ध, सिख–इसाई आपसमा भाइ–भाइ’ भन्ने नारा लगाउँदै नगरका विभिन्न चोकहरूको परिक्रमा गरिएको थियो ।

महोत्तरीमा जिल्ला प्रशासन कार्यालयले सर्वदलीय तथा सर्वपक्षीय बैठक बोलाएर स्थिति सहज बनाउने विषयमा छलफल गरेको छ ।

सामाजिक सञ्जालको दुरुपयोग तथा फैलाइएका घृणा र उत्तेजनात्मक सामग्रीका कारण सामाजिक सद्भावमा असर परेको निष्कर्षसहित प्रहरी प्रशासनले त्यसमाथि नियमन गर्ने नीति लिएको छ । द्वेष फैलाउने तथा अराजक गतिविधि गरी सामाजिक सद्भावमा खलल पुर्‍याउने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।

शुक्रबार मात्रै प्रहरीले मधेश प्रदेशबाट ३८ जनालाई नियन्त्रणमा लिएको छ । तीमध्ये धनुषाबाट मात्रै २१ जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय, मधेश प्रदेशका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अमरेन्द्रबहादुर सिंहका अनुसार सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरीबाट २ जना र पर्साबाट १ जना पक्राउ परेका छन् । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संघसंस्थाहरुले धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्ने कार्यमा जोड दिन थालेका छन् । पार्टीको निर्देशनपश्चात रास्वपाका सांसदहरू समेत अवस्था सहज बनाउन आ–आफ्नो क्षेत्रमा खट्न लागेका छन् ।

सुरक्षा निकायहरू निरन्तर छलफलमा छन् ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?