News Summary
Generated by OK AI. Editorially reviewed.- म्युचुअल फन्डको कुल आकार गत दुई वर्षमा करिब २५ अर्ब रुपैयाँले बढेर असार मसान्तसम्म ८४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।
- म्युचुअल फन्डले कुल संकलित रकमको ८१ प्रतिशत हिस्सा विभिन्न कम्पनीका धितोपत्रमा लगानी गरेका छन् जसमा वाणिज्य बैंक समूहको हिस्सा सबैभन्दा धेरै ३१.४५ प्रतिशत छ ।
१७ साउन, काठमाडौं । म्युचुअल फन्डको आकार बढ्दै गएको छ । दुई वर्षमै यस्तो फन्डको आकार करिब २५ अर्ब बढेको छ । गत असार मसान्तसम्म म्युचुअल फन्डको कुल आकार ८४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तसम्म यस्तो आकार ६१ अर्ब रुपैयाँ थियो ।
योजना व्यवस्थापकहरूले सार्वजनिक गरेको विवरणअनुसार असार मसान्तसम्म फन्डको कुल संकलित रकममध्ये ८१ प्रतिशत विभिन्न कम्पनीका धितोपत्रमा लगानी भएको छ ।
असार मसान्तसम्म यी कम्पनीले ६८ अर्ब ६८ करोड रुपैयाँ विभिन्न कम्पनीका धितोपत्रमा लगानी गरेका छन् भने १० अर्ब ३२ करोड नगदमा छन् । त्यस्तै ५ अर्ब ७८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेका छन् ।
असार मसान्तसम्मको विवरणअनुसार म्युचुअल फन्डले अधिकांश सेयर लगानी वाणिज्य बैंकहरुमा गरेका छन् । म्युचुअल फन्डको कुल सेयर लगानीमा वाणिज्य बैंक समूहमा सबैभन्दा धेरै ३१.४५ प्रतिशत छ ।
त्यसपछि हाइड्रोपावर समूहमा १७.९८, विकास बैंकमा १०.९८, जीवन बीमामा १०.८०, माइक्रोफाइनान्समा ७.३७, निर्जीवन बीमामा ९.७४, उत्पादन तथा प्रशोधनमा ४.८३ प्रतिशत लगानी छ । बाँकी ६.८५ प्रतिशत लगानी होटल तथा पर्यटन, फाइनान्स, अन्य फन्ड तथा रिइन्स्योरेन्समा लगानी रहेको छ ।
बन्दमुखी (ओपन इन्डेड) र खुलामुखी (क्लोज इन्डेड) गरी २ किसिमका म्युचुअल फन्ड सञ्चालनमा छन् ।
सेयरको मूल्य बढ्दै जाँदा म्युचुअल फन्डको खुद सम्पत्ति मूल्य (न्याभ) पनि बढ्दै जान्छ । यहीं न्याभ बढ्दै जाँदा म्युचुअल फन्डको मूल्य पनि बढ्दै जान्छ । खुलामुखी फन्ड योजना न्याभमै कारोबार हुन्छ भने बन्दमुखी योजनाको बजार मूल्यमा कारोबार हुन्छ ।
खुलामुखी योजना बजारमा कारोबार नभए पनि तोकिएका एजेन्ट (बैंक तथा वित्तीय संस्था शाखा) मार्फत किनबेच गर्न सकिन्छ । यस्ता योजना एसआईपी (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान) अन्तर्गत मासिक वा त्रैमासिक रुपमा निश्चित रकम भुक्तानी गरी खरिद गर्न सकिन्छ ।
त्यस्तै बन्दमुखी योजनाको निश्चित समयावधि तोकिएको हुन्छ । सो समयावधि सकिएपछि स्वतः रकम फिर्ता हुन्छ । बजारमै कारोबार गर्न पनि सकिन्छ । परिपक्व समयपछि फन्डले लगानी भएको सबै सेयर बिक्री गर्ने, मुद्दती निक्षेप तथा नगद हिसाव गरी इकाइधनीलाई रकम फिर्ता गर्दछन् ।
प्रतिक्रिया 4