News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुमपूर्वको भूमे गाउँपालिका–३ का स्थानीयले धानबाली संरक्षण र सुख–समृद्धिको कामना गर्दै परम्परागत हरेली पूजा सम्पन्न गरेका छन् ।
- स्थानीय सीप सुनारले भने, 'पूजाको तयारी अघिल्लो दिन शनिबारदेखि नै सुरु हुन्छ र आइतबार बिहान खेतमै पूजा गर्ने परम्परा छ ।'
- कृषि संस्कृतिसँग जोडिएको यो पर्वमा स्थानीयले सामूहिक रूपमा भेला भई मनोकामना व्यक्त गर्दै सामाजिक सद्भाव र सांस्कृतिक एकता कायम राखेका छन् ।
१७ साउन, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–३ का स्थानीयले धानबालीको संरक्षण, प्राकृतिक विपत्तिबाट बचाउन तथा गाउँमा सुख–समृद्धिको कामना गर्दै परम्परागत ‘हरेली पूजा’ गरेका छन् । पुस्तौंदेखि चलिआएको यो मौलिक परम्पराअनुसार स्थानीयले १५ साउनदेखि २० साउनभित्र पर्ने आइतबार धानखेतमै पुगेर पूजा गर्ने गरेका हुन् ।
स्थानीय परम्पराअनुसार असारको अन्तिम सातासम्म धान रोपाइँ सकिएपछि १५ साउनदेखि २० साउनभित्र पर्ने आइतबार हरेली पूजा गर्ने चलन रहेको स्थानीय सीप सुनारले बताए।
‘पूजाको तयारी अघिल्लो दिन शनिबारदेखि नै सुरु हुन्छ। शनिबार दिउँसो प्रत्येक किसानले आफ्नो धानखेतको बीचभागमा मिहेल (भोकर) रुखको हाँगा गाड्छन्। त्यसैलाई आधार मानेर आइतबार बिहान खेतमै पूजा गर्ने परम्परा छ,’ उनले भने।
हरेली पूजा धानबालीलाई मुसा, किरा–फट्याङ्ग्रा तथा अन्य प्राकृतिक प्रकोपबाट जोगाउने विश्वाससँग जोडिएको स्थानीयको भनाइ छ। पूजाको अघिल्लो साँझ गहुँको पिठोबाट मुसा, बिरालो, सर्प, किरा–फट्याङ्ग्रा तथा खेतीपाती र घरायसी जीवनमा प्रयोग हुने सामग्रीका आकृति बनाइन्छ।

स्थानीय लिलाप्रसाद सुनारका अनुसार ती आकृतिहरू केवल परम्पराका लागि होइन, कृषि जीवनसँग जोडिएको विश्वासका प्रतीक हुन् ।
‘बिरालोले मुसा खाओस्, किरा–फट्याङ्ग्राले धानबाली नष्ट नगरून्, वर्षभरि खेती राम्रो होस् भन्ने कामनासहित यी सामग्री तयार गरेर पूजा गरिन्छ,’ उनले भने।
स्थानीय युवा चन्द्रबहादुर रसाइलीका अनुसार हरेली पूजा कृषि संस्कृतिसँग मात्र सीमित छैन, यसले मानव जीवनको सुरक्षाको कामना पनि बोकेको छ।

‘भूमि देवताले धानबालीको रक्षा गरुन्, विषालु जीवजन्तुले कसैलाई नटोकोस् र गाउँमा सुख–शान्ति कायम रहोस् भन्ने विश्वासका साथ यो पूजा गर्ने परम्परा छ,’ रसाइलीले भने।
खेतमा पूजा सम्पन्न भएपछि सबै स्थानीय गाउँको चौतारीमा भेला हुने परम्परा छ। त्यहाँ सामूहिक रूपमा मिठा परिकार खाने, आ–आफ्ना मनोकामना व्यक्त गर्ने र शुभकामना आदानप्रदान गर्ने गरिन्छ। सन्तान नभएकाले सन्तान, विवाह नभएकाले योग्य जीवनसाथी तथा विद्या, धन र समृद्धिको कामना गर्दै वरदान माग्ने चलन रहेको स्थानीय बताउँछन् ।

पूजापछि सामूहिक रूपमा नाचगान पनि गरिन्छ । वर्षभरि धान, मकै तथा अन्य बालीमा कुनै क्षति नहोस् भन्ने कामनासहित कृषि संस्कृतिसँग सम्बन्धित गीत गाइने र नाचिने परम्परा अहिले पनि जीवित छ । गाउँका ज्येष्ठ नागरिक, जैसी तथा अग्रजबाट आशीर्वाद लिने चलनले हरेली पूजालाई धार्मिकसँगै सामाजिक सद्भाव र सांस्कृतिक एकताको पर्वका रूपमा स्थापित गरेको छ।
आधुनिक जीवनशैलीका कारण ग्रामीण भेगका धेरै मौलिक संस्कार हराउँदै गएका बेला भूमे–३ का स्थानीयले भने पुस्तौंदेखिको हरेली पूजालाई निरन्तरता दिँदै कृषि संस्कृतिको मौलिक पहिचान जोगाइरहेका छन्।

प्रतिक्रिया 4